कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

५२ करोड कर तिर्न अटेर

जितेन्द्र साह

काठमाडौँ — मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तीर्न अटेरी गर्दै आएका छन्  । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ  ।

५२ करोड कर तिर्न अटेर

उक्त कार्यालयले २०७४/७५ मा ५९ करोड ३३ लाख रुपैयाँ कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो । तर, उनीहरूबाट अहिलेसम्म ७ करोड २१ लाख रुपैयाँ मात्र उठाउन सफल भएको कार्यालयका प्रमुख दिलीपकुमार गौतमले बताए ।

लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता, मालपोतमा जग्गा रोक्का राखेको थियो ।


यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फुकुवा गरिएको छ । अन्यको आयात निर्यातमा समेत यो वर्ष रोक लगाएको छ । ‘पहिलो चरणमा बैंक खाता, घरघडेरीको किनबेच एवं आयात निर्यात रोक्का गर्‍यौं,’ कार्यालय प्रमुख गौतमले भने, ‘दोस्रो चरणमा पत्रपत्रिकामा नाम सार्वजनिक गर्ने र अन्तमा सम्पति लिलामी गर्छौं ।’ राजस्व कार्यालयका अनुसार विराटनगरका एक प्रतिष्ठित व्यवसायीले २०६५/६६ देखि २ करोड २० लाख आयकर र ५ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर बाँकी राखेको देखिन्छ । उनको नाउँमा बैंक खाता र जग्गासमेत नदेखिएकाले कानुनी कारबाही गर्न कठिन भएको कार्यालय प्रमुख गौतमले बताए ।

‘व्यापारै चौपट देखिएका ती व्यवसायीको नाउँमा कतै केही देखिन्न,’ उनले भने, ‘नातागोताको नाउँमा सम्पत्ति राखेका हुन् कि ? खोजबिन गर्दै छौं ।’ उनको अनुसार कर नतिरेर खाता रोक्का राखिएका अधिकांश उद्योगी/व्यवसायी यस्तै प्रकृतिका छन् । ‘यो कर छल्ने पूर्वनियोजित योजना, ठगी हो, अनुसन्धान गर्दै छौं,’ उनले भने ।


बक्यौता रहे पनि तुलनात्मक रूपमा यस वर्ष कर संकलन बढी भएको छ । मोरङमा गत आर्थिक वर्षको तुलनामा यस पटक ३५ प्रतिशतले बढी कर संकलन भएको छ । आन्तरिक राजस्व कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ को भदौसम्म १ अर्ब ५ करोड रुपैयाँ उठेको छ । यो रकम ३५ प्रतिशतले बढी रहेको कार्यालय प्रमुख गौतमले बताए । गत वर्षको भदौसम्म ७७ करोड ६६ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । सरकारले ल्याएको कर छुटको योजना, कर शिक्षा कार्यक्रम, कार्यालय विस्तार, अनुगमनको प्रभाव, कर तिर्ने सहज वातावरण निर्माण र अन्त:शुल्कमा वृद्धि यसको कारण भएको गौतमले बताए ।

उक्त कार्यालयले वर्षभरि निजी सभा हल, उद्योग संघ संगठनको सहयोगले ठाउँठाउँमा छलफल बैठक, पर्चा पम्पलेट वितरण, चेतनामूलक भित्ते लेखन एवं पत्रपत्रिकामार्फत कर शिक्षा एवं चेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । उसले असारमा विराटनगरस्थित कार्यालयमा करदाताका लागि विश्राम स्थलसमेत निर्माण गरेको छ, जहाँ बसेर सेवाग्राहीहरूले सुस्ताउँदै फाराम भर्छन्, भलाकुसारी र सल्लाह गर्छन् ।

‘हेर्दा सामान्य लाग्ने यिनै प्राबन्धले पनि सेवाग्राहीको मनस्थितिमा सकारात्मक प्रभाव पर्छ,’ कार्यालयका लेखा अधिकृत विजयहरि शर्माले भने, ‘यो पनि हाम्रै कार्यालय हो भन्ने भावना बढिरहेको पाएका छौं ।’ उक्त कार्यालयमा दैनिक औसत २ सय ४५ जनाले कर तिर्छन् ।


उनीहरूबाट दिनहुँ १ करोड ४२ लाख ८१ हजार ७ सय ४५ रुपैयाँको हाराहारीमा राजस्व संकलन हुने गरेको उक्त कार्यालयले जनाएको छ । मोरङका ४१ हजार करदाता छन् । तीमध्ये १५ हजार करदाता रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा १८ भदौदेखि करदाता सेवा कार्यालय राखिएको छ । विराटनगरदेखि २९ किमि उत्तरपूर्वमा पर्ने यो थलोका सेवाग्राहीको मागअनुरूप थप कार्यालय स्थापना गरिएको हो । विराटनगरस्थित उक्त कार्यालयले करदाताको सहयोगका लागि हेल्प डेस्क पनि राखेको छ । जहाँ दुई कर्मचारीले फाराम भर्न, सिकाउन र बक्यौता हेर्नमा सहयोग पुर्‍याउँछन् ।

योबाहेक करदाताले मोरङको उर्लाबारीस्थित कृषि विकास बैंक, बेलबारीको राष्ट्रिय वाणिज्य बैंक र विराटनगरकाले पनि ती दुई बैंकमार्फत कर बुझाउन सक्छन् ।

प्रकाशित : आश्विन २८, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?