कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खसीबोका बजार: संस्थानको उपस्थिति नाम मात्रैको

राजधानीमा दसैंभर ६० हजार खसीबोका तथा च्यांग्रा किनबेच हुने अनुमान गरिएकामा संस्थानले १ हजार २ सय वटा किनेर बेच्न थालेको छ
राजु चौधरी

काठमाडौँ — खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्यांग्राको बजारमा नाम मात्रैको उपस्थिति जनाएको छ  । दैनिक ३ हजारभन्दा बढी खसीबोका किनबेच हुने काठमाडौं उपत्यकाका लागि उसले एक/एक हजार खसीबोका र र च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो  ।

खसीबोका बजार: संस्थानको उपस्थिति नाम मात्रैको


संस्थानका अञ्चल प्रमुख सुरेन्द्र विष्टका अनुसार संस्थानले एक हजार च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो । संस्थानले खरिद गरेका ९ सय ८५ वटा च्यांग्रामध्ये ७५ वटा बाटामै मरेको उनले बताए । संस्थानले खसीबोका ३ सय ७ वटा मात्रै खरिद गरेको विष्टले बताए । गत वर्ष संस्थानले २ हजार ५ सय खसीबोका र च्यांग्रा किन्ने लक्ष्य राखेको संस्थानले ७ सय बोका र ९ सय च्यांग्रा खरिद गरेको थियो ।


निजी व्यवसायीभन्दा प्रतिकिलो ५० रुपैयाँ सस्तोमा संस्थानले खसीबोका र च्यांग्रा बिक्री गरेको छ । थोरै परिमाणमा खसीबोका कारोबार गरेर संस्थानले बजार हस्तक्षेप गर्न सकेको छैन । हाल संस्थानले प्रतिकिलो खसीबोका ५ सय रुपैयाँ र च्यांग्रा ७ सय रुपैयाँमा बिक्री गरेको छ । चौपाया व्यवसायी संघ कलंकीले प्रतिकिलो खसीबोका ५ सय ५० रुपैयाँसम्म र च्यांग्रा ७ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।


व्यवसायीको तुलनामा किलोमै ५० रुपैयाँ सस्तो भएपछि खसीबोका किन्नेको भीड छ । उपभोक्ताको मागअनुसार संस्थानले उपलब्ध गराउन सकेको छैन । ‘सरकारको छुट दिने योजनाअनुसार व्यवस्थापनले निर्धारण गरेको मूल्यअनुसार ५० रुपैयाँ सस्तो छ,’ संस्थानका प्रवक्ता शंकर सापकोटाले भने, ‘सस्तो भएकाले भीडभाड बढी छ । खसीबोका लगभग सकिएको छ ।’ संस्थानले तोकेको मूल्य निजी व्यवसायीको भन्दा केही सस्तो भए पनि गत वर्षको तुलनामा खसीबोकामा ४५ रुपैयाँ र च्यांग्रामा २५ रुपैयाँ महँगो छ । संस्थानले भने ढुवानी भाडा महँगो भएकै कारण केही मूल्य बढेको दाबी गरेको छ ।


‘संस्थानले प्रतिकिलो ४ सय ३० रुपैयाँमा खरिद गरेको थियो । व्यवसायीहरूले ४ सय ६० रुपैयाँसम्म बढी तिरेर खरिद गरे,’ उनले भने, ‘किसानले राम्रो मूल्य पाए, तर, संस्थानको खरिद गर्ने लक्ष्य पुगेन ।’


किसानले मूल्य बढाएपछि संस्थानले मूल्य बढाएर पुन: पत्रचार गरेको थियो । प्रविधिक कारणले ढिलाइ भएको उनले बताए । संस्थानले च्यांग्रा मुस्ताङबाट र खसीबोका हेटौंडाबाट खरिद गरेको हो । खसीबोका खरिद गर्न जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा खरिद कमिटी गठन गरेको छ । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ । त्यसपश्चात् काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार बिक्री मूल्य निर्धारण गरेको जनाएको छ ।


संस्थानले खरिद गरेको च्यांग्रामध्ये ५ सय ३० वटा बिकिसकेका छन् । खसीबोका ७/८ वटा मात्र बाँकी छन् । उता संघका पूर्वअध्यक्ष दीपक थापाका अनुसार खसी किन्ने ग्राहकको संख्या दैनिक बढदै गएको छ । ‘शनिबारबाट चहलपहल धेरै बढेको छ । दैनिक ३ हजारभन्दा बढी खसीबोका बिक्री भएको छ,’ उनले भने । फुलपातीदेखि नवमीसम्म दैनिक ४ हजार बिक्री हुने उनले दाबी गरे ।


खसीबोकाको माग बढ्दै गएकाले मूल्य बढ्ने सम्भावना रहेको उनले बताए । ‘अहिले सामान्य मूल्यमा बिक्री गरिरहेका छौं । सोमबारबाट केही बढ्न सक्छ,’ उनले भने । संघका अनुसार दसैंमा खसीबोका र च्यांग्रा गरेर करिब ६० हजार बिक्री हुन सक्छ । ‘८ हजार च्यांग्रा उपत्यका भित्र्याइसकेका छौं । च्यांग्रा १५ हजार वटा बिक्री हुने अनुमान गरेका छौं,’ उनले भने, ‘खसीबोका पनि ४५ हजारको हाराहारीमा बिक्री हुन्छ ।’ संघले गत वर्षको तुलनामा खसीबोका ७० रुपैयाँ र च्यांग्रा ३० रुपैयाँ महँगोमा बिक्री गरिरहेको छ ।


माग बढेपछि व्यवसायीले मनपरी रूपमा भाउ तोक्दै आएका छन् । व्यवसायीहरूले भने स्थानीय सरकारले विभिन्न शीर्षकमा कर लगाएकाले खसीबोकाको मूल्य बढेको दाबी गर्छन् । उनीहरूका अनुसार भन्सारमा ५ प्रतिशत कर लागेपछि नगरपालिकाले पनि थप लगाएका छन् । जसले गर्दा मूल्यमा बढेको उनीहरूको दाबी छ । बिक्री मूल्य पनि तलमाथि भइरहने उनीहरूको दाबी छ । व्यवसायीहरूले तराई, भारत र चीनबाट समेत आयात गर्छन् । भारतबाट मात्रै करिब ६५ प्रतिशत खसीबोका आयात हुन्छ । भारतको मुख्यत: उत्तरप्रदेशबाट खसीबोका खरिद हुन्छ ।


प्रकाशित : आश्विन २९, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?