कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

६२ अर्ब नोट बाहिरिए

यज्ञ बञ्जाडे

काठमाडौँ — बडादसैं ०७५ को अवसरमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ६२ अर्ब रुपैयाँ बराबरका नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी करिब ६२ अर्ब (६१ अर्ब ८५ करोड ) रुपैयाँ बराबरको नोट बाहिरिएको हो ।

६२ अर्ब नोट बाहिरिए

यसमा सिक्काको हिसाब हुँदैन । यो गत वर्ष सोही अवधिमा वितरण गरेको भन्दा कम हो । दसैंको अवधिम बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले रकम झिक्छन् । त्यसको सम्पूर्ण विवरण आइसकेको छैन ।


‘यसपालिको दसैंमा सटहीमार्फत ११ अर्ब ७८ करोड रुपैयाँ र भुक्तानी (पेमेन्ट) का लागि ५० अर्ब ७ करोड रुपैयाँ दिइसकेका छौं,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने । यसको अर्थ दसैंको अवसरमा सटहीका लागि पौने १२ अर्ब अर्ब र भुक्तानीका लागि ५० अर्ब ७ करोड रुपैयाँ राष्ट्र बैंकबाट बाहिरियो भन्ने हो । नयाँ नोट सटही गर्दा पुरानो पैसा राष्ट्र बैंकमा आउने भएकाले बजारमा मुद्रा आपूर्ति बढैन । तर, पेमेन्टले बढाउँछ । दसैंमा पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताबाट पैसा झिक्छन् ।


यसरी झिकिने पैसा नयाँ वा सुकिला मात्र हुन्छन् । यसैलाई राष्ट्र बैंकले भुक्तानी भन्छ । नोट सटही गर्दा सर्वसाधारण वा संस्थबाट पुराना नोट लिएर नयाँ नोट दिइन्छ । यसको अर्थ नोट सटही गर्दा बजारमा मुद्राको आपूर्ति बढैन । तर, विभिन्न संघसंस्थालाई भुक्तानी दिँदा ती संस्थाहरूको खातामा रहेको रकम बाहिर जाने हो । यस्तो भुक्तानीमा बजारमा मुद्रा आपूर्ति बढ्छ ।


गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको थियो । सोही अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई ५० अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट भुक्तानी गरेको थियो ।


राष्ट्र बैंकले ५, १०, २० र ५० दरका दुई बन्डल (बिटा) र एक सयको एक बिटा गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गरिदिएको थियो । अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि सोही दरले नयाँ नोट सटही भएको राष्ट्र बैंकले जनाएको छ ।


अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं’ भन्दै राष्ट्र बैंकले उक्त आग्रह गरेको हो ।


सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सीधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ ।

प्रकाशित : आश्विन २९, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?