१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च

प्रतितोला ६० हजार रुपैयाँ, सोमबारसम्म यही मुल्यमा कारोबार हुने
राजु चौधरी

काठमाडौँ — दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो ।

दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च

यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मुल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार दुई वर्षअघि मूल्य बढेर ५८ हजार पुगेर पुन: ४८ हजार रुपैयाँमा झरेको थियो । त्यसपश्चात बढ्न थालेको सुनको भाउ मंगलबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको हो ।


‘केही दिनयता भाउ निरन्तर बढी रहेको छ,’ उनले भने, ‘दसंै पश्चात भाउ थप बढ्ने अनुमान छ ।’ उनका अनुसार मंगलबार कारोबार भएको मूल्य सोमबारकै हो । मंगलबारदेखि सार्वजनिक बिदा भएकाले नयाँ दर तोकिएको छैन । अन्तर्राष्ट्रिय बजारमा सोमबारको तुलनामा मंगलबार मूल्य केही बढेको छ ।

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा थप ४ डलरले बढेको छ । ‘सोमबार प्रतिऔस १२ सय २२.२० अमेरिकी डलरले कारोबार भएको सुन मगलबार बढेर प्रतिऔस १२ सय २६ डलर पुगेको छ,’ पूर्व अध्यक्ष शाक्यले भने, ‘सार्वजनिक बिदा भएकाले अब नयाँ मुल्य सोमबारमात्रै निर्धारण हुन्छ ।’ यसबीचमा प्रतितोला ६० हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । महासंघको तथ्याङक अनुसार एक महिनाको अवधीमा प्रतितोला २ हजार रुपैयाँले बढेको छ । तथ्याङक अनुसार असोज १ गते ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । हाल ६० हजार रुपैयाँमा कारोबार भएको हो ।


यस्तै, चादीको भाउ पनि निरन्तर बढेको छ । महासंघका अनुसार १ गते ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी ३० गतेसम्म आइपुग्दा प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । जानकारका अनुसार मुख्यत: डलर, सेयर र भारतीय मुद्राका कारण स्थानीय बजारमा मूल्य बढेको हो ।


‘अमेरिका, साउदी अरब र इरानबीच देखिएको तनावका कारण लगानीकर्ताहरु सुनमा आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय बजारमा डलर केही कमजोर देखियो,’ पूर्व अध्यक्ष शाक्यले भने, ‘जसले गर्दा सुनमा लगानी गर्न बढे, माग बढेपछि मूल्यपनि निरन्तर बढेको हो ।’

यस्तै, अन्र्तराष्ट्रिय बजारमा सेयर मार्केट पनि घटेको छ । व्यवसायीहरु सेयर लगानी सुनतर्फ रुपान्तरण गरेका छन । डलरको तुलनामा भारतिय रुपैया (आइसी) कमजोर हुँदा थप असर परेको व्यवसायीहरु बताउँछन् । ‘अन्तर्राष्ट्रिय बैंकहरुमा केही तनाव भएसँगै सुनमा लगानी बढ्छ,’ संघका अध्यक्ष मोहन सुनारले भने, ‘सुनमा विश्वास भएकाले मूल्य पनि बढेको हो ।’


दसंैकै मुखमा सुनको भाउ वृद्धि हुँदा व्यवसायीसँगै सर्वसाधरणलाई पनि असर परेको छ । मूल्यबढेपछि कारोबार छिटफुट रुपमा मात्रै भएको व्यवसायीहरु बताउँछन । ‘दैनिक ४० देखी ५० किलो कारोबार हुनपर्नेमा मुस्किलै २५ किलो बिक्री भएको छ,’ शाक्यले भने, ‘मूल्य बढ्दा ग्राहकले गहनालाई प्राथमिकता दिएनन् ।’


व्यवसायीका अनुसार बिहेको सिजनसँगै चाडबाडलाई पनि सुन बिक्री हुने मुख्य सिजन मानिन्छ । अहिले कारोबार सन्तोषजनक नभएको अध्यक्ष सुनारको दाबी छ । ‘एक महिनामा दुई हजारले वृद्दि हुँदा ग्राहकहरुको खरिद गर्ने क्षमता नै भएन । मुल्य घट्दा वा स्थिर हुँदा कारोबार हुन्थ्यो,’ उनले भने, ‘अहिले सुनसान सरह नै छ ।’


सुन मुख्यत: दुबई, हङकङ, स्वीटजरल्याण्डबाट आयात हुन्छ । ती सुन वाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधी बनाएर कोटा प्रणालीमा सुन आयात र बितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधी अनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । चाडबाडको अवसरमा भने २५ किलो लिन पाउँछन् । सुन माग बढी हुने सिजन (भदौदेखि मसिंरसम्म) का लागि मात्र कोटा बढाइएको हो ।

चाडबाड र बिहेको सिजनमा माग ह्वातै बढ्ने जनाउँदै व्यवसायीहरुले कोटा ३० भन्दा बढी बढाउन माग गरेका थिए । सोही आग्रहका आधारमा राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक ३० किलोको प्रस्ताव वाणिज्य मन्त्रालयमा बठाएको थियो । तर, वाणिज्यले दैनिक २५ किलोका दरले आयात गर्न अनुमति दिएको थियो ।


प्रकाशित : आश्विन ३०, २०७५ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?