कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

१० वर्षपछि जुट मिलले उत्पादन बजारमा ल्याउँदै

देवनारायण साह

मोरङ — पटक–पटक बन्द हुँदै खुल्दै आएको विराटनगर जुट मिल्सले १० वर्षपछि आफ्नो उत्पादन बजारमा ल्याउने तयारी गरेको छ  । भदौ २६ बाट सञ्चालनमा आएको मिल्सले ३० टन सुतली उत्पादन गरी बिक्री गर्ने तयारी गरेको हो  ।

१० वर्षपछि जुट मिलले उत्पादन बजारमा ल्याउँदै

मिल्सका वेस्टेज क्वालिटी कन्ट्रोल इञ्चार्ज सुचेन्द्र झाले सुतली खरिदकर्ताहरूसँग छलफल भइरहेको र यही १/२ दिनमा बिक्री गर्ने योजना रहेको बताए । ‘धेरै दिनदेखि बन्द मिल्स मर्मत गर्दै सञ्चालन गरेपछि राम्ररी सञ्चालन हुन केही दिन समय लाग्यो,’ उनले भने, ‘भदौ २६ बाट परीक्षणका लागि सञ्चालन गरिएको मिल असोज ६ देखि क्रमश: दैनिक एकदेखि डेढ टन उत्पादनको लक्ष्यका साथ सञ्चालन भएको छ ।’ अहिलेसम्ममा ९० इञ्चको १५ टन र ७५ इञ्चको १५ टन सुतली तयारी गरी बिक्रीका लागि प्याकिङको काम भइरहेको छ ।


मिल्सका अध्यक्ष बसन्त बनले दैनिक ६ टन जुटको सुतली उत्पादनका लागि आवश्यक जनशक्तिलगायतको स्टिमेट तयार गर्न निर्देशन बताए । अध्यक्ष बनले क्रमश: मिल्सलाई सञ्चालनको प्रयास गरिरहेको बताए । ‘धेरै दिनदेखिको बन्द मिल्सलाई क्रमिक रूपमा मर्मत गर्दै मेसिनहरूलाई एकपछि अर्को सञ्चालनमा ल्याइरहेका छौ,’ उनले भने, ‘अहिले सुतली उत्पादन सुरु भएको र अब चाँडै जुटको बोरा उत्पादनको काम थाल्छौं ।’ मिल्स पूर्ण क्षमतामा सञ्चालन हुन केही समय लाग्ने बनको भनाइ थियो । मिल्सभित्र नयाँ र पुराना गरी दुई वटा मिल रहेको छ ।


मिल्स सञ्चालनमा आएसँगै सय जनाले रोजगारी पाएका छन् । मिल्सभित्र मात्रै ६५ जना मजदुरले काम गरिरहेका छन् । ०६५ असोज २४ मा पूर्ण रूपमा बन्द थियो । यसअघि, पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको मिल्समा भने यसपटक सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरी बजारमा लग्ने मिल्स सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्रो चरणमा जुटको कपडा उत्पादन गर्ने उद्देश्यका साथ पुन: एक पटक जुट मिल्स सञ्चालन गरिएको हो ।


यसअघि मिल्स सञ्चालनका लागि खरिद गरिएको ६० टन जुटबाट मिल्स सञ्चालन गरिएको छ । मिल्समा अब २० टन जति जुट मात्रै बाँकी रहेको छ । मिल्सका सुपरभाइजर मुरारीप्रसाद लुइँटेलले मिल्समा पुरानो र नयाँ गरी दुई वटा मिल रहेकोमध्ये पुरानो मिल सञ्चालनमा ल्याइएको बताए । ‘पुरानो मिलस्थित २ सप्नर, ८ वटा ब्रेकरमध्ये ४, १० वटा ड्राइङमध्ये २, १८ स्प्रिङमा ३, ४ टीस्टिङमध्ये १, २ चर्खामध्ये १ वटा सञ्चालन गरेर सुतली उत्पादन थालेका हौं ।’ उनले भने, ‘यो सबै मेसिन दैनिक २४ घण्टा सञ्चालन भए १८ टन उत्पादन हुन्छ । तर अहिले ३ वटा स्प्रिङ मेसिन दैनिक ८ घण्टा मात्रै चलिरहेको छ । एउटा स्प्रिङले २४ घण्टामा १ टन उत्पादन हुन्छ तर अहिले ३ वटा ८ घण्टा चलाएर १/डेढ टन उत्पादन थालेका हौं ।’


अध्यक्ष बनले धेरै दिनदेखि बन्द रहेको मिल्स सञ्चालनमा देखिएको चौतर्फी समस्याहरूलाई एक एक गरेर समाधान गर्दै सुतली भए पनि उत्पादन थालिएको बताए ।

प्रकाशित : कार्तिक ७, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?