कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तिहारका लागि छैन चामल

जयबहादुर रोकाया

हुम्ला — ‘चामल अभावमा दसैं मनायौं, तिहार पनि त्यसरी नै मनाउनुपर्ने अवस्था छ, यसपालि त चुलोमा सेलरोटी नपाक्ने भयो,’ यो भनाइ जुम्ला सिमकोटका बासिन्दाको हो । नियमित खाद्यान्न ढुवानी नहुँदा दसैैंमा झैं तिहारमा पनि चामल नपाउने भएपछि स्थानीय निराश छन्  ।

तिहारका लागि छैन चामल

निजी हवाई कम्पनीले नियमित ढुवानी नगरेकाले नेपाल खाद्य संस्थानमा पर्याप्त चामल मौज्दात छैन । मौज्दात नहुँदा स्थानीयले तिहारमा पनि चामल उपभोग गर्न नपाउने भएका हुन् । सदरमुकामकै बासिन्दाका घरमा चामल छैन ।

संस्थानको शाखा कार्यालयका अनुसार सिमकोट गोदाममा ३ सय ३५ क्विन्टल मात्र चामल मौज्दात छ । ढुवानी गर्न सहमति गरेका निजी हवाई कम्पनीले ढुवानीमा आलटाल गर्दै आएका छन् ।

सबै कम्पनीको मिलाएर शाखा कार्यालयका लागि दैनिक १५/२० क्विन्टल मात्र चामल ढुवानी हुने गरेको छ । गाउँमा रहेका डिपो तथा बिक्री केन्द्रमा यो वर्ष ढुवानी नभएकाले मौज्दात छैन ।

सडक यातायात नभएको हुम्लाका लागि ढुवानीको माध्यम जहाज, हेलिकप्टर र खच्चड मात्र हुन् । हेलिकप्टरबाट ढुवानी गर्न महँगो पर्ने भएकाले सम्भव छैन । संस्थानले सदरमुकाम बाहिरका डिपो र बिक्री केन्द्रका लागि खच्चडबाट र जिल्ला सदरमुकामका लागि हवाई र पैदल दुवै माध्यमबाट ढुवानी गराउने गरेको छ । पैदल ढुवानी गराउन ढिलो हुने भएकाले अधिकांश खाद्यान्न हवाई माध्यमबाट ढुवानी गर्ने गरिएको छ ।

सात वटा स्थानीय तह रहेको हुम्लामा सदरमुकाममा संस्थानको शाखा कार्यालय र सर्केघाट तथा अदानचुलीमा डिपो छन् । नाम्खा, चंखेली र ताजाकोटमा बिक्री केन्द्र राखिएको छ । डिपोका लागि पैदल ढुवानी गर्न टेन्डर भइसकेको भए पनि अझै ढुवानी सुरु भएको छैन ।

तिहार चामल अत्यधिक उपभोग हुने चाड भए पनि स्थानीयले चामल पाउने सम्भावना कम छ । खाद्यान्न बाली पाकिसकेको भए पनि उच्च भेगमा धान फल्दैन । उच्च भेगमा चामलको सधै अभाव भइरहन्छ । नदी किनारा नजिकका बस्तीमा सीमित मात्रामा धान फल्ने गरेको छ ।

जिल्लामा न्यून उत्पादन हुने भएकाले खाद्य संस्थानको चामलको भर पर्नुपर्ने बाध्यता छ । उच्च भेगका बासिन्दाले चामलका रूपमा चिनो वा कागुनो उत्पादन गर्ने गरेका छन् । तर, यो वर्ष अधिक पानी परेकाले उत्पादन न्यून भएको स्थानीयको गुनासो छ ।

चामल नपाए तिहार खल्लो हुने सिमकोटका रामचन्द्र बुढाले बताए । ‘यसपालिको तिहारमा चुलोमा सेलरोटी पाक्ने स्थिति छैन,’ उनले भने, ‘चामलकै अभावमा दसैं मनाइयो, तिहार पनि त्यस्तै हुने भयो ।’

हुम्लामा केही वर्षयता निकै तामझामका साथ तिहार मनाइन्छ । गोदाममा मौज्दात कम भएपछि संस्थानको सिमकोट शाखाले अति आवश्यक अवस्थामा मात्रै चामल बिक्री गर्ने गरेको छ । शाखा कार्यालयका अनुसार अति आवश्यक भएको अवस्था, जन्म र मृत्युको अवस्थामा मात्र चामल बिक्री गर्ने गरिएको छ । प्रहरी र छात्रावासमा बस्ने विद्यार्थीका लागि पनि चामल बिक्री गर्ने गरिएको छ । अन्यका लागि भने बिक्री बन्द गरिएको छ ।

दक्षिणी भेगमा रहेका सर्केघाट र चंखेली गाउँपालिकाका बासिन्दा मुगुको गमगढी र ताजाकोट गएर चामल ल्याउन बाध्य छन् । आदानचुलीका बासिन्दा बाजुराको कोल्टी पुगी खच्चडमा महँगो मूल्यमा चामल ढुवानी गर्न बाध्य छन् ।

संस्थानबाट सहुलियत मूल्यको चामल नपाउँदा स्थानीय बजारबाट प्रतिकिलो १ सय ८० रुपैयाँ तिरेर चामल उपभोग गर्न बाध्य छन् ।आपूर्ति मन्त्रालयले हुम्लाका सबै डिपोमा खाद्यान्न मौज्दात भएको झूटो विवरण सार्वजनिक गरेको छ । संस्थानका अनुसार डिपोमा ढुवानीका लागि टेन्डर भए पनि ठेकेदारले अझै ढुवानी गरेका छैनन् ।

प्रकाशित : कार्तिक ११, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?