१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

करिव २५ लाख रुपैयाँ बराबरको माछा मर्‍यो, कसले हालिदियो पोखरीमा विष ?

माछा ‘हब’ का रूपमा विकास हुँदै गएको यस जिल्लाको माछापोखरीमा विष हाल्दा माछा किसानको लगानी नै डुबिरहेको छ
लक्ष्मी साह

बारा — माछापालनले मनग्य कमाइ हुने देखेर नजिकैको माछा गाउँको देखासिकीबाट करैयामाई गाउँपालिका-१ का दीपक पासवानले गत वैशाखमा डेढ बिघा खेतमा पोखरी खनाए । जेठदेखि ऋण गरेर माछापालन सुरु गरे । माछा स्यारहार गर्न दाना, पिनालगायततमा हजारौं रकम खर्च गरे । मंसिर १५ देखि माछा मारेर बेच्ने सपना थियो थियो । तर, उनको सपना पूरा हुन पाएन ।  

करिव २५ लाख रुपैयाँ बराबरको माछा मर्‍यो, कसले हालिदियो पोखरीमा विष ?

गत शुक्रबार राति अज्ञात व्यक्तिले पोखरीमा विष हालेपछि विषले झन्डै २५ लाख बराबरको माछा मरेको छ । माछापालन उत्साही दीपक निराश भएका छन् ।


‘पोखरी खन्नेदेखि पोखरीमा पानी हाल्ने र हालिएको माछाको भुरा तयारी गर्न लागेको खर्च नै डुब्यो । अब ऋण कसरी तिर्ने ? चिन्ता भयो,’ उनले भने, ‘मिहिनेतले तयारी गरिएको माछा रातारात एकैछिनमा स्वाहा बनाइदियो ।’ छानबिनका लागि प्रहरीमा उजुरी दिएको उनले बताए । प्रहरीले विष जाँचका लागि नमुना संकलन गरेको छ । पोखरीबाट १ लिटरको विषादीको सिसीसमेत बरामद भएको छ । ‘विभिन्न जातका ठूला माछालाई दानापिना खुवाएर डेढ केजी साइज बनाएको थिएँ,’ उनले भने, ‘बिमा पनि गरेको थिइनँ ।’


मत्स्य व्यवसायी संघका जिल्ला कोषाध्यक्षसमेत रहेका दीपकको माछा नोक्सानी उदाहरण मात्र हुन् । ‘अन्य अन्नबालीको खेती छाडेर माछापालन सुरु गरे । तर एक वर्ष नबित्दै आम्दानी हात पार्ने धोको चकनाचुर भयो,’ उनले भने । माछाको ‘हब’ बन्दै गएको यस जिल्लामा थुप्रै माछा किसानलाई विष हालेर यस्तै क्षति पुर्‍याउने प्रवृत्ति बढेको छ ।


पछिल्लो केही वर्षदेखि फस्टाएको माछापालन व्यवसाय असुरक्षित बन्दै गएपछि माछा किसान चिन्तित छन् । माछापालन असुरक्षित भएपछि यहाँका माछापालन गर्ने किसानले बर्सेनि ठूलो क्षति बेहोर्नुपरिरहेको छ । नोक्सानीको क्रम बढ्न थालेपछि उनीहरूको लगानी जोखिममा परेको छ । रिसइबीले माछा पोखरीमा विष हालेर किसानलाई नोक्सानी पुर्‍याउन थालेपछि चिन्तित भएका हुन् ।


तरकारी बालीमा प्रयोग गरिने ‘इन्डोसल्फान’ नामक विष हालेर नोक्सानी पुर्‍याउने गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरू बताउँछन् । मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहका अनुसार जिल्लामा ३ हजार ६ सय हेक्टरमा ६ हजार ५ सय पोखरी छन् ।


त्यसमा ४ हजार ७ सय किसानले माछापालन गरेका छन् । आर्थिक वर्ष ०७४/०७५ मा जिल्लामा साढे ३ अर्बको जिउँदो तथा मारेको माछाको व्यापार भएको साहले बताए । उनका अनुसार यहाँ बर्सेनि ४५ देखि ४७ हजार टन माछा उत्पादन हुने गरेकामा त्यसको २५ प्रतिशत माछा विष हाल्दा नोक्सानी भइरहेको छ ।

सरकारले अरू मुलुकबाट माछा आयातलाई रोकी स्वदेशकै उत्पादनबाट आपूर्ति गर्ने योजना बनाएर माछापालनतर्फ उत्साही बनाउन बर्सेनि करोडौं अनुदान दिन थालेपछि किसानहरूको माछापालनमा आकर्षण बढेको छ । तर, उक्त उत्साह नोक्सानीको चपेटामा परिणत हुन थालेपछि उनीहरूको माछापालनतर्फ मनोबल घटदै गएको साहको भनाइ छ ।


‘रिसइबी साध्न विष हालेर नोक्सानी पुर्‍याउने प्रवृत्ति बढेकाले किसानको मनोबल घटदै गएको छ,’ सिम्रौनगढका माछा किसान रमेश कुसवाहाले भने । गत वर्षमा आधा दर्जन किसान यस्तै विषको सिकार भए । ‘सरकारले बिमा पनि गरिदिएको छैन, कारबाही गर्ने निकाय पनि मुद्दा चलाइदिँदैनन्, जसले हामी माछा किसान पीडित छौं,’ कोल्हवी नगरपालिका १ का माछा किसान वीरेन्द्र चौधरीले भने ।

प्रकाशित : कार्तिक ११, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?