कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान रोपेदेखि काट्नेसम्म मेसिन

विनोद भण्डारी

विराटनगर — मेसिनले धान रोपाइँ गरी मेसिनले नै गोडमेल गर्दा उत्पादन बढेको किसानको भनाइ छ  । परम्परागत तरिकाले रोपिएको धानको तुलनामा मेसिनले धान रोप्दा प्रतिबिघा ४० मनसम्म बढी उत्पादन भएको किसानले बताएका हुन्  ।

धान रोपेदेखि काट्नेसम्म मेसिन

उनीहरूका अनुसार रोप्न, गोडमेल गर्न र काट्न मेसिन प्रयोग गर्दा लागत खर्चमा आधा बचत भएको छ ।

बेलबारी ९ का किसान खड्गबहादुर पौडेलले यसपालि एक बिघामा १ सय २० मनसम्म धान उत्पादन गरेका छन् । उनले नेपाल कृषि कम्पनीको प्राविधिक सहयोगमा यसपालि धान रोप्नदेखि काट्नसम्म मेसिन नै प्रयोग गरेका थिए ।

एक बिघा जमिनमा हातले रोपाइँ गर्दा बढीमा ८० मनसम्म धान उत्पादन भएको थियो । पौडेल बहुमखी कृषि कम्पनीका म्यानेजर पनि हुन् । उनले यसपालि मेसिनकै माध्यमबाट २२ बिघा जमिनमा धान रोपाइँ गरेका छन् । मेसिनले धान रोपाइँ, गोडमेल र कटाइ गर्दा लागत पनि आधा भएको पौडेलेका बुझाइ छ ।

एक बिघा खेतमा हातले धान रोपाइँ गर्दा १२ हजार रुपैयाँ लागत लाग्थ्यो । मेसिन प्रयोग गर्दा करिब ६ हजारले पुग्यो । त्यही धानलाई हातले गोडमेल गर्दा कम्तीमा १० हजार रुपैयाँ लाग्थ्यो । मेसिनले गोड्दा ५ हजारमा सकियो । पौडेलले भने एक बिघा खेतको धान हातले काट्दा १६ हजार खर्च हुन्थ्यो । मेसिनले काट्दा आधा मात्र लाग्यो । उनले धान रोप्न प्लान्टर मेसिन, गोड्न विन्डर मेसिन र कटाइ गर्न हार्वेस्टर मेसिन प्रयोग गरेका थिए ।

यसपालि मोरङ र सुनसरीमा करिब ४० बिघामा धान रोप्नदेखि कट्नसम्म मेसिन प्रयोग गरिएको छ । नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक विवेकानन्द झाले भने त्यसरी रोपिएको धान प्रतिबिघा १ सय २० देखि १ सय ४० मनसम्म उत्पादन भएको छ । उनका अनुसार मेसिन प्रयोग गरेर धान रोपाइँ गरेका किसानले आधा खर्च बचत गरेर उत्पादन झन्डै डेढ गुना बढाएका छन् ।

हातले धान रोपाइँ गर्दा कम्तीमा एक महिनाको बेर्ना रोपिन्छ । त्यसरी रोप्दा बेर्नाको जरा जमिनको निकै तल पुग्दा बेर्ना फस्टाउन सक्तैन । झाले भने मेसिनले रोप्दा १५ दिनको बेर्ना प्रयोग हुन्छ र त्यो बेर्ना जमिनको माथि नै रहने गर्दा दुई वटा बेर्नाले कम्तीमा ३० वटासम्मको गाँज बनाउँछ । उत्पादन बढ्नुको मुख्य करण नै यही हो । उनले भने जति ठूलो गाँज हुन्छ त्यति नै बढी उत्पादन हुने हो ।

प्रकाशित : कार्तिक १२, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?