लुम्बिनी घुम्नेको ओइरो

मनोज पौडेल

लुम्बिनी — चराविद् हेमसागर बरालले यस वर्षको दसैं बुद्ध जन्मस्थल लुम्बिनीमा मनाए  । ‘तीन वर्गमाइलको क्षेत्र राम्ररी घुम्यौं,’ उनले भने, ‘शान्ति र प्राकृतिक आनन्द मिल्दा दसैं अविस्मरणीय बन्यो  ।

लुम्बिनी घुम्नेको ओइरो

उनीजस्ता धेरै यसपालि लुम्बिनी आए । यो क्रम थामिएको छैन । यहाँ घुम्न आउनेको ओइरो नै लागेको छ । यसरी आउने अधिकांश स्वदेशी हुन् । गत असोज ३० देखि कात्तिक ७ गतेसम्म लुम्बिनीमा ५३ हजारभन्दा बढी पर्यटक आए ।

टीकाको तेस्रो दिन कात्तिक ५ गते मात्र ८ हजार ७ सय ६४ जनाले लुम्बिनीको भ्रमण गरे । दसैंका ९ दिनमा ३९ हजार ६ सय २५ नेपाली, ७ हजार ५ सय १५ विदेशी र ६ हजार ९ सय ८५ भारतीयले लुम्बिनीको भ्रमण गरेका थिए ।

‘थोरै समयमा धेरै पर्यटक आए,’ लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले भने, ‘हामी खुसी छौं, यति धेरै आउलान् भन्ने सोचेकै थिएनौं ।’ नेपालीहरूमा पनि घुम्ने रुचि बढ्नु सकारात्मक भएको उनले बताए । यसलाई रोजगारी र आयआर्जनसँग जोडेर लैजानुपर्नेमा उनले जोड दिए ।

दसैंका दिन टीका लगाएर बाँकेबाट जीवन आचार्य परिवारसहित लुम्बिनी घुम्न आए । ‘काठमाडौं जाने क्रममा यहाँ घुम्न आएको हुँ,’ उनले भने, ‘६ वर्षपछि आउँदा धेरै परिवर्तन भएको पाएँ ।’ हरियाली र मनमोहक मन्दिरले आकर्षित गरेको उनले बताए ।

‘राति बुद्ध जीवनमा आधारित लीला देखाउँदा अझ राम्रो हुन्थ्यो,’ उनले भने । यस वर्ष मंसिरमा ३ लाखभन्दा बढी नेपाली आउने अनुमान सूचना शाखाका चन्द्र पाठकले सुनाए । ‘कात्तिकमा चार्डपर्व सकिन्छ,’ उनले भने, ‘तिहारमा देउसी भैलो खेल्छन् । त्यही रकमले नेपालीहरू घुम्न निस्कन्छन् । मौसम पनि ठीक हुन्छ, यस कारण पनि मंसिर, पुसमा यहाँ पर्यटक बढ्ने गर्छन् ।’

यहाँ निरन्तर पर्यटक बढिरहेका छन् । सन् २०१८ को ९ महिनामा विदेशी १ लाख ४ हजार ४ सय ९५ र भारतीय १ लाख १५ हजार ४ सय ४९ पर्यटक लुम्बिनी आएका छन् । त्यस्तै स्वदेशी ८ लाख ३ हजार ४ सय ६९ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।

सन् २०१७ मा विदेशी १ लाख ४५ हजार ७ सय ९७ र भारतीय १ लाख ५५ हजार ४ सय ४४ आएका थिए । नेपाली १२ लाख ५२ हजार ३ सय ४६ थिए । सन् २०१७ को तुलनामा यहाँ सन् २०१८ मा स्वदेशी विदेशी पर्यटक बढ्ने अनुमान गरिएको थियो ।

पूर्वाधार र कार्यक्रम अभाव
रोजाइमा लुम्बिनी परे पनि बसाइ अवधि कम छ । ‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइ अवधि लम्ब्याउन सकिएको छैन,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘पर्यटक भुलाउने कार्यक्रम आवश्यक छन् ।’

पर्यटकलाई बसाइको आकर्षक प्याकेज छैन । विभिन्न बुद्धिस्ट मुलुकबाट आफ्नो मुलुक हुँदै लुम्बिनी आउने पर्यटकको समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने प्रवृत्ति हुँदा समस्या भइरहेको छ । सरकारी र निजी स्तरबाट पर्यटनमुखी नयाँ आकर्षक कार्यक्रम ल्याउन नसकिएको उनले बताए ।

‘विकास कोषमा दलीय नियुक्ति हुन्छ,’ पर्यटन व्यवसायी लीलामणि शर्माले भने, ‘त्यस कारण पर्यटन प्रवद्र्धन गर्नेभन्दा निजी स्वार्थका कार्यक्रममा ध्यान हुन्छ ।’ यहाँ पर्यटन प्रवद्र्धनका योजना र कार्यक्रम काठमाडौंमा बसेर बनाउने गरेको उनले बताए । ‘स्थानीयसँग हातेमालो गरेर अघि नबढेसम्म लुम्बिनी जहाँको त्यहीँ रहन्छ,’ उनले भने ।

सरकारीस्तरबाट सञ्चालन गरिएका प्रवद्र्धनात्मक कार्यक्रम उपलब्धिमूलक बन्न सकेका छैनन् । ‘लुम्बिनी आएका पर्यटकलाई भुलाउने स्थल प्रशस्त छन्,’ सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘ती ठाउँमा आउन जान यातायात, बाटो र प्रचारप्रसारको कमीले समस्या भइरहेको छ ।’ नेपाली ट्राभल एजेन्सीले प्याकेज टुरका योजना नराख्नुले समस्या भइरहेको उनले बताए ।

लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकलाई भिसा नि:शुल्क हुनुले पनि लुम्बिनी आएका अधिकांश पर्यटक उही दिन फर्किने गरेको जानकारहरू बताउँछन् । ‘त्यही भएर भिसा शुल्क थोरै भए पनि लिनुपर्ने नियम बनाउन जरुरी छ,’ श्रेष्ठले भने, ‘लुम्बिनीमा पर्यटक आकर्षण थप्न प्रत्येका दिन साँझ विशेष बुद्धपूजा, डेढ किमि लामो केन्द्रीय नहरमा विशेष ध्वनि र प्रकाशसहितको आकर्षक स्थल बनाउनुपर्छ ।’

बुद्धको जीवनीमा आधारित नाटक वा सांस्कृतिक कार्यक्रम समावेश गरेर पर्यटकलाई आकर्षित गर्न जरुरी रहेको पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले बताए । लुम्बिनी आएका पर्यटकलाई कपिलवस्तु र रामग्रामलगायतका स्थलमा पुर्‍याउने वातावरण मिलाउन पनि जरुरी रहेको उनले बताए ।

प्रकाशित : कार्तिक १२, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?