कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एक वर्षमा ३८ लाख बैंक खाता थपिए

यज्ञ बञ्जाडे

काठमाडौँ — गएको एक वर्षमा बैंक तथा वित्तीय संस्थामा झन्डै ३८ लाख नयाँ निक्षेप खाता खुले ।अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब १९ प्रतिशतले बढी हो ।

एक वर्षमा ३८ लाख बैंक खाता थपिए

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तारसँगै वित्तीय साक्षरता पनि बढेकाले नयाँ खाता संख्या बढेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म दुई करोड ३५ लाख ४४ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको सोही अवधिको तुलनामा ३७ लाख ९० हजारले बढी हो ।

०७४ भदौमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संख्या एक करोड ९७ लाख ५४ हजार थियो । निक्षेप खाता बढ्नुले वित्तीय पहुँच विस्तारको संकेत गर्छ । यसको अर्थ थप करिब ३८ लाखमा वित्तीय पहुँच पुग्यो भन्ने होइन । बैंक तथा वित्तीय संस्थामा एकै व्यक्तिका पनि धेरै निक्षेप खाता हुन्छन । संघसंस्थाले पनि बैंक खाता खोलेका हुन्छन । यसकारण खाता संख्या बढदैमा सोही अनुपातमा व्यक्तिपिच्छे वित्तीय पहुँच बढेको हुँदैन ।

पछिल्ला वर्षमा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तारसँगै खाता संख्या पनि उल्लेख्य रूपमा बढेको विज्ञहरू बताउँछन् । सबै कार्यालयले बैंक खातामार्फत कर्मचारीलाई तलब सुविधा भुक्तानी गर्नुपर्ने, सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउनेलगायत सरकारी नीतिले पनि खाता वृद्धिमा सहयोग पुगेको उनीहरूको भनाइ छ ।

पछिल्ला वर्षमा बैंकिङ क्षेत्रको राम्रो विस्तार भएको र यसले वित्तीय पहुँच पनि बढाएको पूर्वबैंकर शसिन जोशीले बताए । ‘केही संख्यामा डुप्लिकेसन पनि होला तर समग्रमा वित्तीय पहुँच बढेको छ,’ उनले भने, ‘व्यावसायिक विस्तारले वित्तीय पहुँचमा टेवा पुगेको छ ।’ सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी नीति, सहरोन्मुख अर्थव्यवस्था, वित्तीय साक्षरता वृद्धिलगायतका कारण बैंक खाता बढेको उनको भनाइ छ ।

शाखा सञ्जाल विस्तार र खाता संख्या वृद्धिको अवस्था हेर्दा हाल औपचारिक रूपमा वित्तीय पहुँच धेरै बढेको हुनुपर्ने उनले बताए । ‘बालिग जनसंख्यामा वित्तीय पहुँचको अवस्था हेर्दा करिब ६५ देखि ७० प्रतिशत पुगेको हुनुपर्छ,’ उनले भने ।

राष्ट्र बैंकको तथ्यांकअनुसार हाल कुल जनसंख्याको करिब ४० प्रतिशतले मात्र औपचारिक रूपमा वित्तीय पहुँच पुगेको छ । यो बैंक तथा वित्तीय संख्याबाट मात्र वित्तीय सेवा लिइरहेका नागरिकको संख्या हो । सहकारीलगायत अन्य बचत ऋणको कारोबार गर्ने संघ/संस्थाबाट करिब २१ प्रतिशतले वित्तीय सेवा लिइरहेका छन् ।

निक्षेप खाता वृद्धि वित्तीय पहुँच विस्तारको एक महत्त्वपूर्ण सूचक भएको पूर्वबैंकर अनिल ज्ञवालीले बताए । ‘पछिल्ला वर्षमा वित्तीय पहुँच वास्तवमै बढेको छ, यो धेरै सकारात्मक पक्ष हो,’ उनले भने । पुँजी वृद्धिपछि बैंक तथा वित्तीय संस्थालाई व्यवसाय विस्तारको दबाब र प्रतिस्पर्धा बढेपछि गाउँगाउँमा शाखा विस्तार भएको उनले बताए ।

गएको वर्ष धेरैले शाखा संख्या बढे पनि यसकै आधारमा वित्तीय पहुँच बढयो भनेर बुझ्न नहुने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘ठयाक्कै संख्या थाहा नभए पनि खाता संख्या धेरैले बढेको छ,’ उनले भने,‘ यसमा केही त डुप्लिकेसन पनि होला ।’ वित्तीय पहुँच विस्तारका लागि राष्ट्र बैंकले ल्याएको नीतिगत व्यवस्थाले शाखा विस्तार शाखा संख्या वृद्धिमा टेवा पुगेको उनले बताए ।

पछिल्ला वर्षका हरेक बजेटमा सरकारले वित्तीय पहुँच वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । सोही क्रममा सरकारले सबै नेपालीको पहुँचमा बैंक खाता पुर्‍याउने लक्ष्य पनि लिएको छ । सरकारी कारोबारका लागि भन्दै सबै (७ सय ५३ वटै) स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक पुर्‍याउने सरकारको योजना छ ।

यो योजनाअन्तर्गत हालसम्म ६ सय ७७ स्थानीय तहमा बैंक पुगिसकेका छन् । यसकारण पनि एकै वर्षमा धेरै खाता खुलेको बैंकरहरू बताउँछन् ।

गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले ४ हजार ३ सय २२ वटा शाखामार्फत मुलुक भर वित्तीय सेवा दिइरहेका छन् । सोही अवधिमा १३ लाख ऋण खाता खुलेका छन् भने, १ हजार २ सय ८२ वटा शाखारहित बैंकिङ केन्द्र छन् । भदौसम्म मोबाइल बैंकिङका सेवाग्राही ५० लाख ८६ हजार पुगेका छन् भने ८ लाख ३४ हजारले इन्टरनेट बैंकिङ सेवा लिइरहेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : कार्तिक १३, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?