भारतीय पर्यटक बढे

भारतीय सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजनामा नेपाललाई पनि समावेश गर्ने पहल
अजित तिवारी

जनकपुर — नेपालको चारवटा धार्मिक रूटमा महिनाको २० हजार भारतीय पर्यटक घुम्न आउने गरेको तथ्यांक भारतीय दूतावासले सार्वजनिक गरेको छ । दूतावासका अधिकारीहरूले एक वर्षभित्रमा नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या महिनाको एक लाख नाघ्ने दाबी गरेको छ ।

भारतीय पर्यटक बढे

जनकपुर, मुक्तिनाथ, काठमाडौं (पशुपति) र कैलाश मानसरोवरमा तीर्थाटन गर्न महिनाको २० हजार भारतीय पर्यटक नेपाल आइरहेको भारतीय दूतावासका काउन्सलर जनरल बीसी प्रधानले बताए ।

उनले भारतीय पर्यटकको आकर्षण नेपालको धार्मिकस्थलमा बढेको दाबी गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ र २९ गते जनकपुर र मुक्तिनाथको भ्रमण गरेपछि नेपालमा भारतीय पर्यटकको संख्या बढेको उनको भनाइ छ ।

‘भारतीय प्रधानमन्त्रीको भ्रमणपछि जनकपुर र मुक्तिनाथमा पनि भारतीय पर्यटक बढेको छ,’ दूतावासका प्रधानले भने, ‘दुवै ठाउँको होटल र धर्मशाला भारतीय पर्यटकले भरिभराउ छ ।’

भारतको विहार, उत्तरप्रदेश, नयाँदिल्ली र दक्षिणी भारतीय प्रान्तबाट ठूलो संख्यामा नेपाल तीर्थाटन गर्नेहरू आउने गरेको छ । नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको शुभारम्भ गरेपछि जनकपुर–अयोध्या रुटमा पनि दुवै देशका पर्यटकको चहलपहल बढेको छ ।

भारतीय दूतावासका डा.अजयकुमारले नेपाल–भारतको सम्बन्ध रोटीबेटी, नदीनाला र भगवान्ले जोडेकाले नेपालको मठ–मन्दिरसँग भारतीय नागरिकको आस्था जोडिएको बताए । उनले भारतको हिन्दु धर्मावलम्बीमा नेपालको मठ–मन्दिर नघुमे धार्मिक यात्रा अपुरो हुने विश्वास रहेकाले उनीहरू नेपाल भ्रमण बढेको बताए । ‘नेपालमा भारतीय पर्यटकको आगमन अझै बढ्नेछ,’ उनले भने, ‘नेपालमा आउने भारतीय पर्यटकको बसाइका लागि भारतीय सरकारले सहयोग गर्नेछ ।’

नेपाल सरकारको मागअनुसार भारतीय सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजना लिभ टै्रवल कन्सेसन (एलटीसी) मा नेपाललाई पनि समावेश गर्ने पहल थालिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

भारतीय दूतावासका प्रधानका अनुसार एलटीसीअन्तर्गत भारतका ५० लाख सरकारी कर्मचारीले सुविधा पाउँछ । ५० लाख कर्मचारीको परिवारको संख्या करिब २ करोड ५० लाख छ । ‘यिनीहरूका लागि नेपाल भ्रमणको स्वीकृति दिइयो भने यहाँ थामिनसक्नु पर्यटक बढ्छ,’ प्रधानले भने, ‘नेपाल सरकारको प्रस्तावमा भारत सरकार एलटीसीमा नेपाललाई समावेश गर्ने विषयमा छलफल थालेको छ ।’

भारतीय अधिकारीले नेपाल घुम्न आउने भारतीय पर्यटकका लागि होटल र आवास क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउँछन् । यो वर्ष भारत, विहार सरकारले स्कुले विद्यार्थीको अध्ययन भ्रमणका लागि लागू गरेको मुख्यमन्त्री शैक्षिक भ्रमणअन्तर्गत जनकपुर घुम्न आउने विद्यार्थीको संख्यामा पनि बढेको छ । रामायण सर्किटको शुभारम्भपछि विहारको राजधानी पटना र उत्तरप्रदेशको अयोध्यासँग जनकपुरको सीधा बससेवा प्रारम्भ भएको छ । यात्रुको अभावमा जनकपुर–अयोध्या बस सेवा रोकिएको छ भने जनकपुर–पटना बससेवा अझै चलिरहेको छ ।

‘जनकपुर र पटनाको पारिवारिक सम्बन्ध पनि छ । त्यसैले त्यो रुटको बसमा यात्रु खचाखच हुन्छ,’ राष्ट्रिय जनता पार्टी (राजपा) का प्रवक्ता कृष्णा सिंहले कान्तिपुरसँग भने, ‘तर, अयोध्या जान धार्मिक यात्रामै निस्कनुपर्छ । जनकपुर–अयोध्या बस सेवा नचल्नुको यही कारण हो ।’ उनले प्रदेश २ को सरकार र उत्तरप्रदेश सरकारले जनकपुर–अयोध्या रुटमा धार्मिक पर्यटक आकर्षित गर्ने योजना ल्याउनुपर्ने सुझाव दिए ।

प्रकाशित : कार्तिक १३, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?