कर विवादले रुद्राक्ष किनबेच कम

दीपेन्द्र शाक्य

संखुवासभा — भोजपुर र संखुवासभामा पछिल्लो समय रुद्राक्षमा लगाइएको करमा विवादका कारण खरिदबिक्री कम हुन थालेको छ ।

कर विवादले रुद्राक्ष किनबेच कम

प्रदेश सरकारले जारी गरेको आर्थिक ऐन, २०७५ ले रुद्राक्षको जिल्ला निकासी करमा वृद्धि गरेसँगै परिचय पत्र लिने तथा अन्य व्यापारीहरू निराश भएका छन् ।

रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय सचिव राजकुमार दंगालका अनुसार रुद्राक्ष प्रत्येकको मुख गन्दै राजस्व लिँदा व्यापारको सुरक्षा चुनौती बढेको छ । ‘व्यवसायीमा निराशा छाएको छ,’ उनले भने, ‘प्रत्येकको मुखका आधारमा राजस्व लिने हो भने खरिदबिक्री परिचय पत्रको औचित्य हुँदैन ।’

जिल्ला समन्वय समिति संखुवासभामार्फत प्रदेश सरकारलाई ज्ञापन पत्रसमेत पठाएको उनले बताए । जिल्ला समन्वय समिति सभापति सुमन शाक्यले रुद्राक्षको निकासी करबारे पुनर्विचार गर्न ध्यानकर्षण गरेको बताए । रुद्राक्षको आर्थिक ऐनमा ४ र ५ मुखेबाहेकका सबै रुद्राक्षमा प्रतिगोटाका दरले निकासी कर लिने व्यवस्था छ । जसअनुसार रुद्राक्ष गौरीपाठ र त्रिपाठको प्रतिगोटा २ हजार ५ सय कर तोकिएको छ ।

जिल्ला निकासीबापत सबैभन्दा धेरै २६ र २७ मुखेको प्रतिगोटा ३५ हजार निकासी कर लिने प्रदेश सरकारको आर्थिक ऐनमा उल्लेख गरिएको छ । त्यसैगरी २१ मुखेको प्रतिगोटा २५ हजार र २२ देखि २५ मुखेसम्म १९ हजार कर बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्ष हालसम्म ३२ जनाले मात्र जिल्ला समन्वय समिति संखुवासभाबाट खरिदबिक्री परिचय पत्र लिएका छन् । गत आवमा ५५ जनाले परिचय पत्र लिएका थिए । यो आवमा रुद्राक्षको कारोबार भएको तीन महिना बितिसक्दा १ लाख ५९ हजार मात्र राजस्व संकलन भएको छ ।

आव ०७३/७४ मा १ सय २४ जनाले खरिदबिक्री परिचय पत्र लिएका भए पनि पछिल्ला वर्ष यो संख्या क्रमश: घटिरहेको छ । ०७३/७४ मा खरिदबिक्रीबापत ६ लाख ३१ हजार राजस्व संकलन भएको थियो ।

अन्तर्राष्ट्रियस्तरसम्म व्यापार गर्न पाउने गरी ‘क’ वर्गको परिचय पत्र समन्वय समितिले दिने गरेको छ । परिचय पत्र लिनेले समन्वय समितिमा अग्रिम १२ हजार राजस्व बुझाउनुपर्ने प्रावधान छ । यस आवमा एक जनाले मात्र ‘क’ वर्गको परिचयपत्र लिएको पाइएको छ ।

सबैभन्दा बढी ‘ख’ वर्गको परिचय पत्र लिने १८ जना छन् । यो प्रकारका परिचय पत्र लिन ७ हजार राजस्व लाग्छ । ‘ख’ वर्गको परिचयपत्र लिनेले देशैभर रुद्राक्ष खरिदबिक्री गर्ने पाउनेछन् ।

त्यसैगरी सात जनाले सात हजारका दरले राजस्व बुझाई ‘ग’ वर्गको परिचयपत्र लिएका छन् । ‘ख’ वर्गका रुद्राक्ष ६ व्यापारीले मात्र परिचय पत्र नवीकरण गरेका छन् । बजारमा अधिकांश पुरानै व्यापारी देखिए पनि पुराना ६ जनाले मात्र परिचय पत्र नवीकरण गरेका हुन् ।

परिचय पत्र लिएकाले मात्र रुद्राक्ष खरिद गर्न पाउने भए पनि निगरानी हुन नसक्दा बिनापरिचयका व्यापारीको संख्या बढेको छ । ठूलो परिमाणमा व्यापार हुने रुद्राक्षको राजस्व संकलनको माध्यम परिच यत्र वितरणबापत दिइने शुल्क हो । यो नै नलिएपछि राजस्व घटेको हो ।

ठूला मुख भएका रुद्राक्षहरूको विशेष माग हुने गर्छ । यसको भारतीय बजारमा अधिक खपत हुन्छ । साना मुख गरेका चार, पाँच, छ र सातमुखे रुद्राक्ष थेप्चो, मदाने, चिल्लो, र ठूलो कण्ठे भने चिनियाँ बजारमा बढी बिक्री हुने गर्छ । केही वर्षयता भने चिनियाँ व्यापारीले सजावटका सामान, टाँकलगायत सामग्री बनाउन रुद्राक्ष खरिद गर्ने गरेका छन् । भोजपुरको दिङ्ला र खाँदबारी रुद्राक्ष कारोबारको मुख्य स्थान हो । साउनदेखि चैत महिनासम्म यसको व्यापार हुने गर्छ ।

स्थानीय तहमा पनि कर
संखुवासभा– स्थानीय तहले स्थानीय स्रोत र साधनप्रति चासो देखाउन थालेका छन् । रुद्राक्षको राजस्व जिल्ला समन्वयले उठाउने प्रदेश सरकारको निर्णय भए पनि पाँचखपन नगरपालिकाले भने आफैं राजस्व संकलन गर्न सुरु गरेको छ ।

यो आर्थिक वर्षमा पाँचखपनले व्यवसायीबाट ९० हजार राजस्व संकलन गरिसकेको छ । नगरपालिकाबाट ६ जनाले ‘ख’ वर्गको खरिदबिक्री परिचय पत्र लिएका छन् । ‘क’ वर्गका लागि २५ हजार, ‘ख’ वर्गका लागि १५ हजार, ‘ग’ वर्गका लागि १० हजार र ‘घ’ का लागि ५ हजार राजस्व तोकेको नगरपालिकाका कर्मचारी गोविन्द गुरागाईंले बताए । जिल्ला समन्वय समितिले लिनेभन्दा स्थानीय तहले लिने करसमेत दोब्बर छ ।

स्वरूप बिगार्ने क्रम अझै रोकिएन
चिचिलादेखि नै रुद्राक्षमा ’क्लिप’ लगाएर प्राकृतिक स्वरूप बिगार्ने क्रम अझै रोकिएको छैन । कानुन अस्पष्ट रहेकाले स्वरूप बिगार्नुअघि सरकारको अनुमति लिनुपर्ने हुन्छ । चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षलाई गोला, अण्डा र थेप्चो आकारमा उत्पादन हुने दानालाई आवश्यकताअनुसार बनाउने गरेका छन् । चिनियाँ व्यापारीले गत वर्ष रुद्राक्षलाई प्लास्टिक क्लिपको सहयताले अप्राकृति रूपमा चेप्टाएका थिए । अप्राकृतिक बनाएर बजारमा पुर्‍याएको भन्दै स्थानीय प्रशासनले रोक पनि लगाएको थियो ।

तर, त्यसलाई बेवास्ता गर्दै चिनियाँ व्यापारीले क्लिप नेपालीहरूलाई बिक्री गरिरहेका छन् । यो वर्ष कृषक र स्थानीय व्यापारीहरूले नै क्लिप प्रयोग गरेको चैनपुर नगरपालिका वडा ११ का वडा अध्यक्ष धर्मराज चौहानले बताए ।

स्वरूप बिगार्ने गरी कृषकहरूले प्लास्टिक क्लिप राखेपछि व्यवसायी संघ र प्रहरीको टोलीले केही कृषकका क्लिप हटाएको थियो ।

प्रकाशित : कार्तिक १४, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?