मध्यभोटेकोसी दुई वर्षभित्र

अनिश तिवारी

सिन्धुपाल्चोक — दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको मध्यभोटेकोसी जलविद्युत् आयोजना काम अगाडि बढेको छ । बाह्रबिसे नगरपालिकाको गाती जम्बुस्थित १०२ मेगावट क्षमताको आयोजनाले मुख्य टनेल, अडिटसँगै अन्य कार्यलाई तीव्र बनाएको हो ।

मध्यभोटेकोसी दुई वर्षभित्र

आयोजना प्रमुख सुनीलकुमार लामाका अनुसार झन्डै ५६ प्रतिशत सुरुङ खनेर सकिएको छ । ‘१ र २ नम्बरको टनेल खन्ने कामलाई विशेष ‘ट्रयाक’ मा लगिरहेका छौं,’ लामाले भने । आयोजनाको मुख्य सुरुङ ७ हजार १ सय २४ मिटरमध्ये ४ हजार ४२ मिटरको टनेल मार्ग खनिसकेको उनले बताए ।

जिल्लाकै ठूलो आयोजनाको ३ नम्बरको सुरुङ केही समयअघि छिचोलिएको थियो । अहिले आयोजनाको एकदमै गाह्रो संरचना मानिने ‘भर्टिकल साफ्ट’ वा ठाडो सुरुङ खन्ने कामलाई अगाडि बढाइएको छ । ‘चिनियाँ प्राविधिकको नेतृत्वमा १ सय ८८ मिटरको ‘भर्टिकल साफ्ट’ को काम भइरहेको छ,’ उनले भने ।

२ अर्ब ९४ करोडको प्रारम्भिक सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको आयोजनाले टनेल १ लाई १० महिना र २ लाई ८ महिनाको समयमा छिचोलिसक्नेछ । भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित चाकु बजारमा भोटेकोसी थुनेर १० मिटर अग्लो बाँध बनाइ करिब ७ दशमलव १ किमि सुरुङ बनाइनेछ ।

गातीको जम्बुमा विद्युत्गृह बनाई आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सिभिल इन्जिनियर सञ्जय सापकोटाले बताए । ‘१ जनवरी २०१४ बाट सुरु भएको काम वर्षैपिच्छै विपत्तिले रोक्यो, हाल लयमा फर्केर तीव्र गतिमा गइरहेको छ,’ सापकोटाले भने । चिलिमे जलविद्युत् कम्पनी लिमिटेड मुख्य प्रवद्र्धक रहेको आयोजनाको बाँधस्थलको जग्गा मुआब्जा ३ वर्ष रोकिएको हालै समाधान भएर काम अगाडि बढेको उनले जनाए ।

१५ जुन २०१७ मा सकिनुपर्ने आयोजना विभिन्न अवरोधका कारण नसकिएपछि २०१९ को जुलाइसम्म समय थपिएको छ । १२ अर्ब २८ करोड लागत लाग्ने अनुमान गरिएको मध्यभोटेकोसीको लागत बढेर १४ अर्ब ८४ करोड पुगेको छ ।

झन्डै ३ अर्बको आईपीओ अनुमानित लगानीको एक चौथाइ मात्रै हो । बाँकी रहेका एक/एक चौथाइ सेयर संस्थापक सेयरधनी संस्थाहरू चिलिमे जलविद्युत् कम्पनी, विद्युत् प्राधिकरण र चार वटा स्थानीय सेयरधनी संस्था रहेका छन् । नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी र सिन्धु भोटेकोसी हाइड्रो पावर लिमिटेडबाट लगानी भएको छ ।

०७१ साउनको जुरे, ०७२ वैशाख भूकम्प, नाकाबन्दीदेखि भोटेकोसी बाढीको मार झेलेको आयोजना विभिन्न राजनीतिक खिचतानीमा पर्दै आएको छ । अनेकन माग पूरा नगरिएको भन्दै जनप्रतिनिधिबाट तालाबन्दी गरिएको आयोजनाले बल्ल गति लिन थालेको छ ।

पब्लिक सेयर झन्डै ३ अर्ब
मध्य भोटेकोसी जलविद्युत् आयोजनाले आईपीओ अनुमति पाएपछि २ अर्ब ९४ करोडको सेयर खुलाउने गृहकार्यमा छ । २ अर्ब ९४ करोडमा कर्मचारी सञ्चय कोषलाई १९ दशमलव ५, सञ्चयकोषका कर्मचारीलाई १ प्रतिशत, चार वटा स्थानीय संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ दशमलव ५, जिल्लाबासीलाई १० प्रतिशत र देशबासीका लागि १५ प्रतिशत सेयर खुलाइनेछ ।

प्रकाशित : कार्तिक १४, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?