हुम्लामा खाद्यान्न अझै अपर्याप्त

जयबहादुर रोकाया

हुम्ला — माग धेरै तर, ढुवानी कम भएपछि दसैंमा चामल नपाएका स्थानीयले तिहारमा पनि पर्याप्त चामल नपाउने भएका छन्  । हवाई कम्पनीले नियमित चामल ढुवानी नगर्दा नेपाल खाद्य सस्थानको सिमकोटस्थित गोदाममा ४ सय १७ क्विन्टल चामल मात्र मौज्दात छ  ।

हुम्लामा खाद्यान्न अझै अपर्याप्त

तिहारका लागि कम्तीमा १ हजार ५ सय क्विन्टल चामल आवश्यक पर्ने संस्थानको शाखा कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार अहिले दैनिक १५ देखि २० क्विन्टल मात्र चामल ढुवानी भइरहेको छ । सडक यातायात सुविधा नभएकाले जहाजबाट सिमकोटमा चामल ढुवानी भइरहेको छ । पर्याप्त चामल नहुँदा जन्म, मृत्युलगायत अत्यावश्यकीय काममा मात्र चामल बिक्री भइरहेको छ ।


तिहारका लागि ढुवानी गर्न एक साता मात्र बाँकी रहेकाले आवश्यक चामल ढुवानी गर्न असम्भव रहेको खाद्य संस्थानका कर्मचारीको भनाइ छ । ग्रामीण क्षेत्रका स्थानीय तहका डिपो र बिक्री केन्द्रमा यस वर्ष चामल नै ढुवानी भएको छैन । शाखा कार्यालयका लागि साउनयता एक सय एक क्विन्टल पैदल ढुवानी गरिएको छ । त्यस्तै जहाजमार्फत नेपालगन्जबाट ९ सय ८५ र सुर्खेतबाट ३ सय ८३ क्विन्टल चामल ढुवानी भएको छ । गत आर्थिक वर्षको ४ सय ९७ क्विन्टल जिम्मेवारी सरेकोसहित १ हजार ९ सय ६६ क्विन्टलमध्ये १ हजार ५ सय ४९ क्विन्टल विक्री भइसकेको छ ।


संस्थानको शाखा कार्यालयले नियमित बिक्री वितरण गर्दा सिमकोट गाउँपालिका ४ का लागि १ सय २१, ५ का लागि ९४, ६ का लागि ६० क्विन्टल चामल आवश्यक पर्ने जनाएको छ । त्यस्तै कर्मचारीका लागि २ सय ९७, बजारमा अस्थायी बसोबास गरेका बासिन्दाका लागि ३ सय ८० क्विन्टल चामल आवश्यक छ ।


त्यस्तै सिमकोट गाउँपालिकाको डाँडाफया, स्याडा, बरगाउँ, ठेहे दोजाम, नाम्खा गाउँपालिकाको हेक्पा, धिगा, तांगिन, खार्पुनाथ गाउँपालिकाको खर्पेलगाउँ, दुर्पा, याङचु, लाली, प्युस, गोक्पा, थाली, राया कारङ, छिप्रा, लेख र नल्लाका बासिन्दाका लागि चार सय २० क्विन्टल चामल आवश्यक रहेको संस्थानले जनाएको छ ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?