कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धानमा लागेन बाला

दिप्ती सिलवाल

पोखराचौर/पर्वत — कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित छन्  । स्थानीय मार्सी र कोदे गुडुरा लगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर र आँखेतका करिब दुई दर्जन किसानले यसपटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए  ।

धानमा लागेन बाला

यो जातका बोटमा बाला नलागेको हो । यहाँका किसानले करिव सय रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका थिए ।


अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिस गरेका थिए । स्थानीय पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, टीका रिजाल, रिमा रिजाल, गंगा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए । ‘अरूभन्दा दोब्बर फल्ने र छिटो पाक्ने भनेर रोप्यौं,’ पूर्णप्रसाद भुसालले भने, ‘रोप्ने समयमा बेर्ना निकै राम्रो थियो । गाँज पनि राम्रै हाल्यो । योपालि अन्नको अनिकाल टर्ला भन्ने थियो । एउटै गेडो भित्र्याउन पाइएन ।’ छिट्टै पाक्ने भनेर रोपेको धान कात्तिकसम्म पनि नपसाएपछि शंका लागेर कृषि प्राविधिकलाई खबर गरेको उनले बताए ।


स्थानीय जातका धानको तुलनामा दोब्बर फल्ने भनेपछि अगुवा किसानले आफ्ना खेतमा यही धान रोपेका छन् । ‘खेत भएको जम्मा तीन हलको मेलो हो,’ टीका रिजालले भनिन्, ‘घरभरि केटाकेटी छन् । अब कसरी हातमुख जोर्ने ? यो भुत्लो काटेर कता तर पार्ने ?’ खानेपानीको सधैं संकट रहने यो गाउँमा आँखेत मुख्य उब्जनी हुने फाँट हो । यतिबेला फाँटभरि लहलह धान झुलेर पहेंलै हुनुपर्नेमा धान हरियै छ । कसैका बोटमा बाला लागेको छैन ।


यहाँका किसानले यो धान पहिलोपटक लगाएका भने होइनन् । स्थानीय कृषि प्राविधिक कृष्ण शर्मा तिवारीको सिफारिसमा अघिल्लो वर्ष पनि केही किसानले लोकतन्त्र रोपेका थिए । राम्रै फल लागेपछि प्राविधिकले यो वर्ष थप धानको बीउ माग गरे । फलेबासस्थित नगर कृषि कार्यालयमा कार्यरत प्राविधिकहरू नमोनारायण शर्मा र ढाकाराम सुवेदीले बीउ खोजिदिए । बीउमा ५० प्रतिशत अनुदान तत्कालीन जिल्ला कृषि विकास कार्यालयले दिएको थियो । ‘अघिल्लो वर्ष परीक्षण गरेकै जातको धान हो,’ प्राविधिक तिवारीले भने, ‘बीउमा गडबडी भयो या के भयो बुझ्नै सकिएन ।’ प्रतिकिलो ६० रुपैयाँ पर्ने बीउ ३० रुपैयाँका दरले ८० किलोको २ हजार ४ सय रुपैयाँ पठाएको प्राविधिकले बताए ।


अघिल्लो वर्ष लगाएकोभन्दा केही छोटा दाना भएकाले बीउ छर्ने बेलामा नै शंका लागेको किसानले बताए । ‘अघिल्लो वर्ष लोकतन्त्र धान भनेको अलि लामो दाना थियो,’ अस्मिता भुसालले भनिन्, ‘अहिले ल्याएको बीउ अलि छोटो दाना दियो । केहीले एमाले धान हो भने लोकतन्त्र र एमाले एउटै धान हो भनेपछि सबैले रोप्यौं । अहिले रुनु न हाँस्नु छ ।’ वर्षभरि खाने अन्नको एउटै गेडो भित्र्याउन नपाएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने माग किसानको छ । ‘हामीले आफूखुसी रोपेका हैनौं,’ हेम क्षेत्रीले भने, ‘कृषि र नगरपालिकाले क्षतिपूर्ति दिनुपर्छ ।’


यहाँ धानको बिउ सिफारिस गरेका फलेवासको नगर कृषि कार्यालयका प्राविधिक ढाकाराम सुवेदीले यो वर्ष धान ढिलो रोप्नु र मौसममा छिट्टै बदली हुनु लगायतका कारणले बाला नलागेको बताए । ‘परीक्षण गरेरै पठाएको बीउ हो,’ उनले भने, ‘उनीहरूले अलि ढिला रोपेछन् ।’ असोजको पहिलो सातादेखि नै मौसम चिसिएकाले पनि समस्या भएको हुन सक्ने उनले बताए । तापक्रम २५ डिग्रीभन्दा तल झरेपछि यो धानमा फल नलाग्ने प्राविधिकको भनाइ छ ।


नगर कृषि कार्यालय फलेबासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन । उनका अनुसार तराई, भित्री मधेस, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ । ‘पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ,’ उनले भने, ‘यो धान त्यहाँका लागि उयपुक्त होइन । कसरी सिफारिस भयो बुझ्नुपर्छ ।’ पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उनले बताए ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?