कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिमालको काखमा साइकल पर्यटन

विप्लव भट्टराई

इलाम — फ्रान्सेली जेम्सको पुरानो इच्छा थियो सन्दकपुरसम्म साइकलमा हुइँकिने  । कठिन उकालो चिर्दै सन्दकपुर डाँडामा लखतरान भेटिएका उनी कञ्चनजंघा र कुम्भकर्ण हिमालसँग नजर जुदाउन पाएपछि भने मख्ख देखिन्थे  ।

हिमालको काखमा साइकल पर्यटन

उनीसँगै भेटिएका भारत हिमाञ्चलका दीपक पनि हत्केलाले भेटिएला झैं लाग्ने ती हिमालको दृश्यले थकानलाई भुलाउँदै थिए ।


चिसो बतास र नाक ठोक्किने खाले उकालोले थकित बनेका साइकल यात्री छङ्गै खुलेको मौसमबीच सगरमाथादेखि कुम्भकर्ण, कञ्चनजंघा अनि नेपाल, भारत र भुटानका दर्जन बढी हिमाललाई सिधा नजर लाउँदै साइकलमा हुइँकिनुको आनन्दले लोभिने गरेका हुन् ।


दार्जिलिङको करसाङबाट मानेभन्ज्याङसम्मको कालोपत्रे सडक र त्यस माथिको भिरालो ढुंगे सोलिङको ३१ किलोमिटरको बाटो साइकलबाट पार गरेर ३ हजार ६ सय ३६ मिटरको उचाइमा आइपुगेका ६ साइकल यात्रीमध्ये बाँकी यात्रामा ५ जना मात्र सहभागी हुँदै थिए । एक सदस्य बिरामी भएपछि दार्जिलिङ फिर्नुपर्‍यो ।


सन्दकपुरबाट फयालुटतर्फको २२ किलोमिटर यात्रा गर्नुअघि सँगै रहेका इंग्ल्यान्डको मेनचेस्टरका माइकल निकै तनावमा देखिन्थे । होटलको खर्च बुझाउनुसँगै मानेभन्ज्याङबाट आएका सहयोगीलाई बिदा गर्नु र यसअघिको रुटको सारनतारन मिलाउनमा उनको धपेडी देखिन्थ्यो ।


साहसिक साइकल यात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये पर्ने यो क्षेत्रमा बर्सेनि यात्री जम्मा गरेर घुमाउने काम माइकलले गर्छन् । अब उनीहरूको रुट फयालुट हुँदै भारतको बिजनबारीबाट मानेभन्ज्याङतर्फ मोडिन्छ । ‘यो रुटमा साइकल यात्रा गर्नु जोसुकैको क्षमताले भ्याउँदैन,’ माइकलले भने, ‘तर, साहसिक साइकल यात्रीहरूले वर्षौंको योजना बनाएर यो गन्तव्यलाई रोज्ने गर्छन् ।’


सीमावर्ती भारतीय रुट भएर साइकल यात्रा गरिन्छ । बंगाल सरकारको प्रमुख पर्यटकीय सूचीमा रहेको सन्दकपुर क्षेत्र भारतीय र पश्चिमाहरूकै कारण पर्यटन व्यवसाय चलेको छ ।


अल इन्डिया माउन्टेन वाइकमार्फत दार्जिलिङको करसाङदेखि नेपालको सीमवर्ती क्षेत्र हुँदै सिक्किमसम्मको करिब दुई सय किलोमिटर लामो दूरीको माउन्टेन वाइक हुने गरेको छ । हरेक वर्ष गरिने साइक्लिङमा युरोपियन, अफ्रिकन, अमेरिकीलगायत मुलुकका साइक्लिस्टको सहभागिता रहने गरेको छ ।


१० वर्षदेखि निरन्तर आयोजना हुने गरेको माउन्टेन वाइकमा सहभागी हुन पाँचदेखि आठ जनासम्म साइक्लिस्ट जम्मा हुने गरेका छन् । ‘लामो र कठिन भौगोलिक दूरीमा आयोजना हुने भए पनि माउन्टेन वाइकमा आउनेहरू खुब रमाउने गरेका छन्,’ सन्दकपुरका डेन्डु शेर्पाले भने ।


त्यस्तो नेपाली रुटलाई प्रयोग गरेर पनि एकाधले सन्दकपुरसम्मको साइकल यात्रा गरेका छन् । उत्कृष्ट यो गन्तव्यसम्म साइक्लिङ गर्न नेपालतर्फबाट पहल नभएकाले भारततर्फको मात्र विश्वमा चर्चा हुने गरेको छ ।


‘नेपालकै बाटो भएर सन्दकपुर क्षेत्रको साइक्लिङलाई विश्वसामु पुर्‍याउन सकिन्छ,’ भर्खरै सन्दकपुरसम्मको सफल साइकल यात्रा पूरा गरेकी धनकुटाकी अनिशा गुरुङले भनिन्, ‘अहिलेसम्म हामीले टुलुटुलु रमिता मात्रै हेरेर बस्नुपरेको छ ।’


त्यसो त भारत भएर आउने पर्यटककाका कारण त्यस क्षेत्रका होटल व्यवसायीलगायत विभिन्न पक्षले फाइदा लिएकै छन् । तर, व्यवस्थित सडकसहितका पूर्वाधार विकास गर्ने व्यावसायिक पर्यटनका लागि पहल गर्ने हो भने प्रदेश १ कै गन्तव्यका रूपमा विकास गर्न सकिनेमा स्थानीय आशावादी छन् ।


म्याराथनको रौनक पनि उस्तै
मानेभन्ज्याङबाट दौड सुरु गरेर विश्वका डेढ दर्जन मुलुकका धावकको ताँतीले पनि सन्दकपुरको रौनक बिछट्टको बनेको थियो । पर्यटकको चाप हुने जिल्लाकै अग्लो सन्दकपुरमा माउन्टेन वाइक र म्याराथोन दौडले ल्याएको माहोलमा रम्ने नेपालतर्फका थुप्रै आन्तरिक पर्यटक भेटिए ।


म्याराथन दौड प्रतियोगिता र साइक्लिङमा सहभागी विश्वका विभिन्न मुलुकबाट आएका खेलाडीको उपस्थितिले सीमावर्ती पर्यटकीय क्षेत्रको पर्यटकीय उत्साह बढेको हो ।


एक सय माइल लामो म्याराथनमा भाग लिन भारत, अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, बेलायत, न्युजिल्यान्डलगायत मुलुकका खेलाडी जम्मा भएका थिए । मानेभन्ज्याङबाट सुरु म्याराथन मेघमा, तुमलिङ, गैरीबास, कैयाकट्टा, कालपोखरी हुँदै सन्दकपुर, पाँचथर सीमावर्ती फयालुट हुँदै रिम्बिक पुगेर टुंगिएको थियो ।


पर्यटन प्रवद्र्धनका लागि नै यस क्षेत्रमा २६ वर्षदेखि म्याराथन सुरु भएको हो । प्रमाणपत्रसमेत पाउने भएकाले विश्वभरका धावकहरू यस उच्च पहाडी क्षेत्रमा आउने गरेका हुन् । भारतको मुम्बईका मिस्टर पाण्डेले आयोजना गर्ने प्रतियोगिताले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सघाउने भएकाले धावकको संख्या धेरै हुने सहभागीले बताए ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?