अब नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो ।

अब नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने

सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।


पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, कोअपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राट्रिय उड्डयन संगठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।


थाइल्यान्डको बैंककमा दुई पक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौता समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्यान्डका नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन् ।


प्रकाशित : कार्तिक १६, २०७५ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?