कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीडी बेच्ने बने अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — लगानीका लागि आफूसँग रकम नभए पनि मनग्ये धनार्जन गर्न सम्भव छ भन्ने उदाहरण जापानी उद्यमी तथा कला सँग्रहकर्ता युकासु माएजावा हुन्  । सुरुमा उनीसँग व्यापार गर्न ठूलो रकम थिएन  ।

सीडी बेच्ने बने अर्बपति

त्यसैले ४२ वर्षीय उनले सीडी बेचेर व्यापार थाले । आज त्यही व्यापारबाट उनी पुगेको उचाइमा पुग्न सकिने धेरैले कल्पनासम्म गर्न सक्तैनन् ।


अर्बपति माएजावाले ‘वासेदा जित्सुग्यो हाई स्कुल’ मा पढेका हुन् । त्यहाँ उनले आफ्ना कक्षा साथीहरूसँग मिलेर एउटा ब्यान्ड सञ्चालनमा ल्याएका थिए, नाम दिएका थिए ‘स्विच स्टाइल’ । सन् १९९३ मा ब्यान्डले पहिलो ईपी सार्वजनिक भएको थियो । विद्यालय शिक्षा पूरा गरेपछि उनले कलेज नपढ्ने निर्णय गरे । पढाइलाई निरन्तरता दिनुको साटो उनी केटीसाथीसँग अमेरिका हानिए । त्यहाँ सीडी र रेकर्डहरू संकलन गर्ने काम थाले । अर्बपतिको प्रेम सम्बन्ध जापानी नायिका साइकोसँग रहेको थियो । तर दुवैबीचको प्रेम लामो समय टिकेन । पारपाचुके गरेरै सम्बन्ध टुटयो । उनीहरूका एक सन्तान छन् । दुवैले तिनलाई माया गर्छन् ।


माएजावाले रकम जुटाउन सीडीको व्यापारी भएर काम गरे । यसका लागि घरमा मेलबाट आफूले मन पराएको ब्यान्डलाई रेकर्डपछि सीडी बनाई बेच्ने गर्थे । सन् १९८८ मा ‘स्टार्ट टुडे’ कम्पनीबाट व्यापार थालेका उनले त्यही वर्ष स्कुले जीवनमा खडा गरेको उनको ब्यान्डले बीएमजी जापानसँग सम्झौता गर्‍यो । त्यसबाट पनि उनले धनार्जन गर्न सके । ‘ब्यान्ड बनाएर मुलुकभरि भ्रमण गरिरहँदा म एउटा कम्पनीको अध्यक्ष पनि थिएँ । जब मैले भौतिक रूपमा दुवैलाई राम्ररी सञ्चालन गर्न सकिन, एउटालाई छाडेर कम्पनीलाई आफ्नो छनोटमा राखें,’ बीबीसीका अनुसार जापान टाइम्ससँगको एक साक्षात्कारमा उनले भने, ‘त्यसताका मेरो उमेर २५ वा २६ थियो ।’


सन् २००० सम्ममा उनले आफ्नो पहिलो कम्पनीलाई अनलाइन प्लेटफर्ममा रूपान्तरण गरे । यो प्लेटफर्ममार्फत कपडाहरूको समेत बिक्री थालेर सार्वजनिक कम्पनी बनाउन सफल भए । सन् २००४ मा उनले खुद्रा कपडाहरू बेच्नका लागि क्लोथिङ वेबसाइट ‘जोजोटाउन’ सञ्चालनमा ल्याए । यसको छ वर्षपछि उनको पहिलो कम्पनी ‘स्टार्ट टुडे’ एउटा सार्वजनिक व्यापारिक कम्पनी बन्न पुग्यो । हाल उनको कम्पनी जोजो र जोजोसुट ७२ वटा मुलुकहरूमा व्यापार गरिरहेको छ ।


अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार अक्टोबर २९ सम्म युकासु माएजावाको कुल सम्पत्ति २ दशमलव ५ अर्ब अमेरिकी डलर छ । उनी आफैंले सञ्चालन गरेको अनलाइन फेसन मल ‘जोजोटाउन’ को आम्दानीबाट अर्बपति बनेका हुन् । यो जापानकै सबैभन्दा ठूलो अनलाइन फेसन मल हो । ‘सेलिब्रेट्री नेटवर्थ’ का अनुसार माएजावाको अनलाइन खुद्रा वेबसाइटले स्थापना कालदेखि ५ सय ८१ स्टोरहरूलाई विभिन्न २२ सय ब्रान्डका समानहरू उपलब्ध गराउँदै आएको छ । एक रिपोर्टमा उनको वेबसाइटमा ५ मिलियन सक्रिय सदस्य छन् । यो वर्ष विश्वका अर्बपतिको सूचीमा ८२२ औं, जापानको ५० सर्वाधिक धनाढयहरूमा १८ औं स्थानमा उनी परेका छन् । गत वर्ष प्रविधि क्षेत्रमा सर्वाधिक धनीहरूको सूचीमा ५९ स्थानमा थिए ।


माएजावा पछिल्लो समय चन्द्रमा पुग्ने समाचारका कारण चर्चामा छ । ‘स्पेसएक्स’ का प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले उनलाई चन्द्रमामा पठाउने घोषणा हालै गरेका छन् । कम्पनीको महत्त्वाकांक्षी ठूलो रकेट ‘दि बिग फल्कोन रकेट (बीएफआर) मा निजी क्षेत्रबाट पर्यटक बन्ने उनी पहिलो हुनेछन् । सन् २०२३ को सुरुमा चन्द्रमाका लागि उनको उडान भर्ने योजना छ । यो उडानका लागि कति रकम तिर्ने भन्नेबारे तत्कालै केही खुलाइएको छैन ।


तर, उनी आफूसँगै विश्वभरका ६ देखि ८ जना कलाकारलाई नि:शुल्क चन्द्रमामा लग्ने चाहना व्यक्त गरेका छन् । उनले पेन्टर, संगीतकार, चलचित्र निर्देशक, फेसन डिजाइजनरसहितका प्रतिभाहरूलाई स्पेसक्राप्टमा यात्रा गराई चन्द्रमामा पुर्‍याउने बताएका छन् । स्पेसएक्सको नयाँ पिढीको रकेटबाट उडान भराउनेबारे कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । यो सम्झौताले उनलाई स्पेसएक्सको पहिलो यात्रु बनाउनेछ । उनी पहिलो अन्तरिक्ष पर्यटकचाहिँ होइनन् । सन् २००१ मा डेनिस टिटोले २० मिलियन अमेरिकी डलर खर्चेर आठ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बिताएका थिए । छ जना अन्यले पनि रसियन सोयुज क्याप्सुलमा चढेर अन्तरिक्ष केन्द्रमा पुग्ने रकम जम्मा गरिसकेका छन् ।


अमेरिकाबाट जापान फर्किंदा उनले संकलन गरेका सीडी लगायतका सामग्री पहिलो कम्पनीका आधारभूत कुराहरू बन्न पुग्यो । उक्त कम्पनीले एल्बम र सीडीहरू मेलमार्फत आयात गर्न सुरु गर्‍यो । सन् २०१२ मा माएजावाले टोकियोमा प्रधानकार्यालय रहने गरी ‘कन्टेम्पोररी आर्ट फाउन्डेसन’ खडा गरे । यसमार्फत युवा कलाकारलाई समकालीन नयाँ पिढीहरूका लागि एउटा स्तम्भ भएको भन्दै प्रचारमा ल्याए । फाउन्डेसनले वर्षमा दुई पटक कला सामग्रीहरूको संकलन गर्नका लागि प्रदर्शनीहरू गर्ने गर्छ ।


त्यसैक्रममा माएजावाले महँगो पेन्टिङ खरिद गरी मिडियाको ध्यान आफूतिर आकर्षित गर्न सफल भएका थिए । टोकियोको पूर्व क्षेत्रस्थित चिवामा एउटा संग्रहालय बनाउने योजनाका साथ उनी आधुनिक कला सामग्रीहरूको समेत संग्रह गरिरहेका छन् । सन् २०१६ मा उनले ८० मिलियन अमेरिकी डलर खर्चेर जिन–मिचेल ब्यान्स्क्युएट र पाब्लो पिकासोको पेन्टिङ खरिद गरेको थिए । अन्य महँगा पेन्टिङहरूको संग्रहसमेत उनले गरेका छन् ।

(एजेन्सीहरू)

प्रकाशित : कार्तिक १७, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?