१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अलैंचीको मूल्य बढ्ने आस

अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका चालिसे चिउरेखर्कका यदुकुमार भण्डारीले अलैंची खेती गरेको तीन वर्ष पुगिसकेको छ  । मूल्य घटेपछि आत्तिएका भण्डारीले अहिले झन्डै ५ रोपनी जग्गामा अलैंची लगाएका छन्  ।

अलैंचीको मूल्य बढ्ने आस

‘परार साल प्रतिकिलो ३ हजारसम्ममा बेचियो, अहिले त भाउ पाइँदैन,’ अलैंचीको झयाङबाट झार निकाल्दै उनले भने, ‘फेरि मूल्य बढ्ला भन्ने आशामा अलैंची लगाइरहेको छु, पहिलेजस्तो धेरैचाहिँ छैन ।’ हाल अलैंचीको मूल्यमा भारी गिरावट आएका कारणले गाउँका बजारमा प्रतिकिलो ६ सयदेखि हजारसम्म मात्रै बिक्री गर्नुपरेको उनले सुनाए ।


‘मूल्य जति घटे पनि अलैंची लगाउने जाँगरले छाडेन,’ उनले भने । धान छोडेर सबैतिर अलैंची लगाउने पाँचपोखरी थाङपाल गाउँपालिका लार्गाचेका अनिल गुरुङले अझै आशा मारेका छैनन् । ‘बजार सुधारिँदै जाला, मिहिनेतको मूल्य पाइएला भन्ने केही आशा पलाएको छ,’ गुरुङले भने ।


गएको वर्ष अलैंचीको बेर्ना बिक्री गरेर चार लाखसम्म कमाइ गरेका उनी व्यावासायिक अलैंची खेतीको अब्बल कृषकमा गनिन्छन् । ‘मूल्य घट्दा मारमा परियो, तैपनि आधा खेतबारीमा अलैंची विस्तार गरेको छु,’ उनले भने ।


डेढ सय रोपनी खेतमा अलैंची लगाएकी थाङपालधापकी कल्पना तामाङले अलैंचीलाई व्यावसायिक बनाउन नछोडेको सुनाइन् । ‘अलैंचीको मूल्य घटबढ भइरहन्छ तर अलैंची लगाउन छोडिँदैन,’ उनले भनिन् । अलैंचीको बजारको कारणले गर्दा केही निरुत्साहित भए पनि व्यावसायिक रूपमा खेती गर्ने कृषक नघटेको उनको भनाइ छ ।


पाँचपोखरी थाङपाल गापाको लार्गाचे, थाङपालधाप, हेलम्बु गापाको हेलम्बु, दुबाचौरदेखि जुगल गापाको सेलाङ, ज्यामिरेलाई अलैंचीको पकेट क्षेत्र मानिन्छ । त्रिपुरासुन्दरी गाउँपालिकाको चोकटी, पिस्कर जस्ता गाउँभरसमेत अलैंची खेती गर्ने यथावत् रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


कार्यालयको तथ्यांकनुसार झन्डै तीन सय हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको पाइन्छ । भने डेढ सय कृषक व्यावसायिक रूपमा अलैंची खेतीमा होमिएका छन् । अलैंची महासंघ सिन्धुपाल्चोकका रमेश राउतका अनुसार अरू बालीभन्दा राम्रो आम्दानी हुने भएकै कारणले कृषक यसमा आकर्षित छन् । ‘अलैंचीको भाउ पहिलेको जस्तै हुने आशामा कृषकले खेती घटाएका छैनन्,’ उनले भने ।


‘अघिल्लो वर्षको तुलनामा यो वर्ष कम उत्पादन भएको पनि देखिँदैन,’ राउतले भने । यो वर्ष अनुमानित दुई सय टन अलैंची उत्पादन भएको उनले प्रस्टयाए । कृषकलाई प्रोत्साहित गर्नका लागि आवश्यक सहयोग, अनुदान पाएपछि अलैंची खेती कम नभएको उनको कथन छ ।


अलैंची कृषकलाई सहयोग
मूल्यको मारमा परेका अलैंची कृषकलाई उत्साहित गर्न उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले सामाग्री सहयोग गरेको छ । ‘जिल्लाभर सक्रिय १० वटा कृषकको समूहलाई अलैंचीको भट्टी ड्रम, जाली रड सहयोग गरेका छौं,’ उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठले भने । उनले भोटेचौरदेखि तातोपानी क्षेत्रका कृषकलाई अलैंची खेतीमा फर्काउन सक्दो पहल गरेको सुनाए ।


‘यी सामग्रीबाट जिल्लाका झन्डै दुई सय कृषकले लाभ लिनेछन्,’ उनले भने ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?