१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हचुवाको भरमा पर्यटकीय गन्तव्य

सुर्खेत / कालिकाेट — पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्त्वपूर्ण पुरातात्त्विक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा परेका छैनन्  ।

हचुवाको भरमा पर्यटकीय गन्तव्य

मन्त्रालयले सामान्य पर्यटकीय गन्तव्यलाई उत्कृष्ट एक सयको सूचीमा राखेको छ । पर्नैपर्ने गन्तव्यलाई छुटाइएको सरोकारवालाले जनाएका छन् ।

सूचीमा समावेश भएको रुकुम पश्चिमको गोतामकोट– चित्रिपाटन साहसिक मार्ग, सुर्खेतको गिद्देडाँडा पर्यटकीय क्षेत्र र मदन आश्रित पार्कबारे स्थानीय बासिन्दालाई समेत जानकारी छैन । पर्यटकको आकर्षणको केन्द्र रहेका सुर्खेतको बुलबुले र बराहताल सूचीमा अटाएका छैनन् । त्यस्तै जुम्लाको चन्दननाथ मन्दिर, रुकुम पश्चिमको स्यार्पु र डिग्रे मन्दिर, मुगुको छायाँनाथ, सल्यानको खैराबाङ, हुम्लाको एलबाङ गुम्बा, कालिकोटको चुलिमालिकालाई सूचीमा समावेश गरिएको छैन ।

सरकारले गन्तव्यको सूचीमा डोल्पाको सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाको सिँजा सभ्यता, डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, मुगुको राराताल, रारा–सेफोक्सुन्डो ट्रेकिङ, कालिकोटको पाचाल झरनालाई सूचीमा समावेश गरेको छ । त्यस्तै सल्यानको कुपिन्डेदह, रुकुम पश्चिमको गोतामकोट–चित्री पाटन साहसिक मार्ग, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखको पञ्चकोसी ज्वाला क्षेत्र, कोतगढी–पञ्चदेवल–महाबु पर्यटकीय क्षेत्र, सुर्खेतको काँक्रेविहार, गिद्देडाँडा पर्यटकीय क्षेत्र र मदन आश्रित पार्कलाई सूचीमा समावेश गरिएको छ ।

रुकुमको स्यार्पुताल साविक राप्ती अञ्चलको सबैभन्दा ठूलो ताल हो । २ दशमलव ६ वर्गकिलोमिटर क्षेत्रमा ताल फैलिएको छ । डिग्रेमन्दिर करिब एक हजार वर्ष पुरानो मानिन्छ । ‘स्यार्पु र डिग्रे मन्दिरमा जिल्लाका ठूला पर्यटकीय सम्पदा भए पनि नामै नसुनिएको एउटा पदमार्गलाई सूचीमा समावेश गरिएको छ,’ रुकुम पश्चिमका पर्यटन अभियन्ता गोपाल केसीले भने, ‘विकास गर्नुपर्ने र सूचीमा ल्याउनुपर्ने गन्तव्यलाई छुटाएपछि कसरी हुन्छ पूर्वाधार विकास र कसरी आउँछन् पर्यटक ?’ उनले सरकारले हचुवाको भरमा सूची सार्वजनिक गर्दा पर्यटकको आकर्षणको केन्द्र बनेका क्षेत्रमा समेत पर्यटकको संख्या घट्ने बताए ।

सरकारले बुलबुलेलाई गन्तव्यको सूचीमा नराखेर उपेक्षा गरेको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बताए । उनका अनुसार चार महिनाअघि गुरुयोजना बनाएर बुलबुलेको चरणबद्ध विकास गर्न थालिएको छ । गत वर्ष १ लाख ९० हजार पर्यटकले बुलबुलेको भ्रमण गरेको उनको भनाइ छ ।

बुलबुले प्रवेश गर्नेहरूबाट प्रतिव्यक्ति १० रुपैयाँ संकलन गरी त्यसैको विकासमा खर्च गरिएको कोइरालाले जनाए । ‘कर्णालीको मुख्य भागमा रहेको मुख्य गन्तव्य बुलबुलेलाई सूचीमा छुटाउनु सरकारको लापरबाही हो,’ कोइरालाले भने, ‘बुलबुलेजस्तो व्यवस्थित र आकर्षणको केन्द्रलाई वर्षौंदेखि उपेक्षा गरिएको छ ।’ बुलबुलेमा गार्डेन, शान्ति पार्क, पिकनिक स्थलसहित एउटा डुंगा सञ्चालन ल्याइएपछि पर्यटकको आकर्षण बढेको उनको भनाइ छ । उनका अनुसार बुलबुले साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको छ ।

कर्णालीको प्रमुख शक्तिपीठ मानिएको चन्दननाथ मन्दिरलाई संघीय सरकारले पर्यटकीय गन्तव्यमा समावेश नगरेर पक्षपात गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् । ‘तातोपानी, दानसाँघुलगायत पर्यटकको आकर्षण बनेका केन्द्रलाई छुटाइयो,’ उनले भनिन्, ‘प्रमुख गन्तव्य छुटाइनु र सामान्य गन्तव्यलाई सूचीकृत गर्दा अच्चम्म लागिरहेको छ ।’

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले कर्णाली–रारा पर्यटन वर्ष सञ्चालन भइरहेको अवस्थामा केही महत्त्वपूर्ण पर्यटकीय गन्तव्य सूचीकृत नहुनु दु:खद् रहेको बताए ।

‘प्रदेश सरकारले पर्यटन वर्ष सुरु गरेर पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, त्यसका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालनमा छन्,’ उनले भने, ‘सूची पुनरावलोकनका लागि प्रदेश सरकारले संघीय सरकारलाई अनुरोध गर्नेछ ।’ उनले रारालाई केन्द्रबिन्दुमा राखे पनि प्रदेशका सबै पर्यटकीय गन्तव्यमा पर्यटक पुर्‍याउन पर्यटन वर्ष घोषणा गरिएको जनाए ।

उनका अनुसार मन्त्रालयको कुल बजेटमध्ये ५२ प्रतिशत रकम यस वर्ष पर्यटन क्षेत्रमा छुटयाइएको छ । मन्त्रालयका अनुसार १ अर्ब ७५ करोड बजेटमध्ये ८९ करोड रकम पर्यटन विकासमा विनियोजित छ । उनले पर्यटन वर्षलाई सफल बनाउन पर्यटन पूर्वाधार निर्माण, सम्भाव्यता अध्ययन र प्रबद्र्धनात्मक कार्यक्रममा पर्याप्त रकम बिनियोजन गरिएको जनाए ।

चर्चित गन्तव्य छुटे
चन्दननाथ बाबाको चिनोस्वरूप नेपालको सबैभन्दा अग्लो धान फल्ने ठाउँ छुमचौर, सिँजाको कनकासुन्दरी, सिँजा दरबार, कालीकोटको खाँडाचक्र कोट दरबार, युद्ध पर्यटकीय पिली र कोटवाडा, चुलीमालिका हुँदै पुगबाट रारा जोड्ने पर्यटन मार्ग, चिल्खायाको रुरु बन्चुपाटनलाई सूचीबाट छुटाइएको छ ।

कालीकोटको पचाल झरनालाई सरकारले नयाँ गन्तव्यमा राखेकामा भने स्थानीय खुसी छन् । ३ सय ८१ मिटर अग्लो पचाल झरनामा पर्यटन वृद्धि हुने स्थानीयको अपेक्षा छ । नेपालको सबैभन्दा अग्लो झरनाका रूपमा मान्यता पाएको तेह्रथुमको हयात्रुङ झरनाको लम्बाइ ३ सय ६५ मिटर हो ।

सदरमुकाम मान्मबाट पश्चिम उत्तर पुगमालिकाको पाटनबाट खस्ने झरना राम्नाकोटको खार्दुुमा पर्छ । झरनामा पुग्न कर्णाली करिडोर हुँदै नानीकोटको भुराबगरबाट कर्णाली नदीको लाफास्थित झोलुंगे पुल तरेर तीन घण्टा पैदल उकालो हिँड्नुपर्छ । खार्दुगाउँ हुँदै झरनामा पुग्न सकिन्छ । साविक कालिकोट जिविसले प्राविधिक पठाएर उचाइ लिए पनि आवश्यक पहल नहुँदा झरना ओझेलमा परेको थियो ।

स्थानीय अगुवा हर्षबहादुर बमले बेलाबेलामा पचाल झरनाको प्रचारप्रसार, विकास र संरक्षणका लागि आवाज उठाउँदै आए पनि पर्यटन सरकारको प्राथमिकतामा नपरेको बताए । गाउँपालिकाको विशेष पहलमा ६४ औं स्थानमा पचाल झरनालाई नयाँ गन्तव्यमा राखिएको छ । ‘पचाल झरना एसियाकै सबैभन्दा अग्लो झरना हो,’ गाउँपालिका अध्यक्ष खडराज सेजुवालले भने, ‘ढिलै भए पनि सरकारले सूचीकृत गरेकामा खुसी छौं ।’

प्रकाशित : कार्तिक १८, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?