कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बढ्दै फिक्स्ड ब्रोडब्यान्डका उपभोक्ता

विजय तिमल्सिना

काठमाडौँ — दुई वर्षमा फिक्स्ड ब्रोडब्यान्डका उपभोक्ता तीन गुणाले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ  । नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये फिक्स्ड ब्रोडब्यान्डका करिब २० प्रतिशत छन्  ।

बढ्दै फिक्स्ड ब्रोडब्यान्डका उपभोक्ता

गुणस्तरीय इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको चाहनाले वायर्ड ब्रोडब्यान्डतर्फ आकर्षण बढेको विज्ञहरू बताउँछन् ।

प्राधिकरणले सहरी क्षेत्रमा १० एमबीपीएस गतिको इन्टरनेट र ग्रामीण क्षेत्रमा ५१२ केबीपीएसको इन्टरनेटलाई ब्रोडब्यान्ड परिभाषित गरेको छ । उच्च गतिको इन्टरनेट सुविधा लिने गरी घर वा कार्यालयमा केबल, अप्टिकल फाइबरजस्ता प्रविधिबाट लिइएको इन्टरनेट सुविधा नै फिक्स ब्रोडब्यान्ड हो ।

इन्टरनेट सेवा प्रदान गर्ने नेपालका दुई दर्जन बढी सेवा प्रदायकका कुल ग्राहक करिब ५ लाख पुगेको प्राधिकरणको तथ्यांक छ । भदौसम्म ३० वटा इन्टरनेट सेवा प्रदायकहरूका कुल ग्राहक संख्या ४ लाख ८६ हजार बढी छन् । नेपाल टेलिकमले पनि यस्तै खालको एडीएसएल सेवा दिइरहेको छ । एडीएसएल सेवातर्फ उसका कुल ग्राहक करिब २ लाख छन् ।

फिक्स वायर्ड इन्टरनेटबाट नेपालका करिब करिब ३४ लाख जनसंख्या लाभान्वित भएको प्राधिकरणको तथ्यांक छ । फिक्स वायर्ड ब्रोडब्यान्डको लाइनबाट करिब ५ जना लाभान्वित हुने अनुमानका आधारमा यो तथ्यांक निकालिएको हो ।

फिक्स ब्रोडब्यान्डका ग्राहक बढदै गएको भए पनि नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ता मोबाइल डाटामा निर्भर छन् । प्राधिकरणको तथ्यांकअनुसार नेपालका कुल इन्टरनेट प्रयोगकर्ता करिब १ करोड ५६ लाखमध्ये ७८ प्रतिशतले मोबाइलबाट इन्टरनेट चलाउँछन् । यसमा थ्री जी प्रयोगकर्ताको संख्या करिब एक करोड र फोरजी प्रयोगकर्ताको संख्या १९ लाख बढी छ ।

फिक्स ब्रोडब्यान्डमा सबैभन्दा धेरै ग्राहक बनाउने इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन हो । उसका कुल ग्राहक संख्या २ लाख ३७ हजार बढी छन् । यीमध्ये अप्टिकल फाइबरतर्फ मात्रै २ लाख ३२ हजार ग्राहक छन् ।

सूचना प्रविधिका विज्ञ हेमपाल श्रेष्ठ पछिल्ला वर्ष नेपालमा इन्टरनेट आधारभूत आवश्यकता बनिसकेको बताउँछन् । ‘यो आधारभूत आवश्यकताबाट पनि अघि बढेर संवेदनशील पूर्वाधार बनिसकेको छ,’ उनी भन्छन्, ‘सडक, खानेपानी, विद्युतजस्तै इन्टरनेट पनि उस्तै पूर्वाधार हो ।’

अन्य देशमा गरिएको अध्ययनका आधारमा ब्रोडब्यान्ड इन्टरनेटको प्रयोगमा ३ प्रतिशत हुने वृद्धिले अर्थतन्त्रमा १ प्रतिशतको योगदान दिने निष्कर्ष निकालिएको उदाहरण दिँदै उनी नेपालका हरेक क्षेत्रमा इन्टरनेटका प्रभाव देखिन थालेको बताउँछन् । इन्टरनेटको प्रयोगले उत्पादकत्व क्षमता बढ्नुका साथै व्यवसायका नयाँ विकल्पहरू पनि उपलब्ध गराउने भएकाले यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पनि पर्ने उनको विश्लेषण छ ।

‘इन्टरनेटको प्रयोगबिना कुनै पनि व्यवसाय अघि बढ्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘नेपालमा कुनै अध्ययन भएको त छैन तर प्रयोगमा आएको व्यापकताका कारण नेपाली अर्थतन्त्रमा इन्टरनेटको सकारात्मक प्रभाव परेको आकलन गर्न सकिन्छ ।’ पछिल्लो समय अधिकांश व्यवसायले इन्टरनेटमार्फत सेवा दिन थालेको र नेपालमा इकमर्स व्यवसाय पनि फस्टाउँदो अवस्थामा रहनुले यसको पुष्टि गर्ने उनको तर्क छ ।

नेपालमा गुणस्तरीय इन्टरनेट प्रयोगको लागि उपभोक्ता आकर्षित भइरहे पनि प्रगति धिमा गतिमा भएको बताउँछन् । ‘इन्टरनेटको गुणस्तरमा पनि सुधार भएको छ तर सन्तोषजनक छैन,’ उनी भन्छन्, ‘हामीले इन्टरनेट गुणस्तर र मूल्यमा अझैं धेरै गर्न बाँकी छ ।’

भरपर्दो खालको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताको चाहनाले फिक्स ब्रोडब्यान्डको उपभोक्ता बढेका भए पनि नेपाल भित्रिएको ब्रोडब्यान्डको अधिकांश हिस्सा फेसबुक र युटयुब प्रयोगमा खर्च हुन्छ ।

सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको तथ्यांकअनुसार कम्पनीले वितरण गर्ने ५० प्रतिशत ब्यान्डविथ यटयुबसहित गुगलका अन्य सेवामा खर्च हुँदै आएको छ । साथै फेसबुक प्रयोगमा मात्रै १५ प्रतिशत ब्यान्डविथ खर्च हुने गरेको छ । नेपालमा ब्यान्डविथ खपतको शैली यही प्रकारको भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानका पूर्वअध्यक्ष विनय बोहोरा बताउँछन् ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?