‘क्षमता भन्दा बढी काम लिदा समस्या’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघले समयमा निर्माण सम्पन्न नहुनुको मुख्य कारण व्यवसायीले क्षमता भन्दा बढी काम लिनु रहेको जनाएको छ।

२० औँ साधारण सभा एवं ११ औँ अधिवेशनले गरेका ३५ बुँदे निर्णय सोमबार सार्वजनिक गर्दै महासंघले निर्माण व्यवसायीको क्षमता अनुसार मात्र काम उपलब्ध गराउन आवश्यक पहल कदमी गर्न अनुरोध गरेको छ। त्यस्तै महासंघले व्यवसायीका कारणले भन्दा अन्य कारणले निर्माण क्षेत्रमा सोचे अनुसारको काम हुन नसकेको निष्कर्श निकालेको छ ।


सार्वजनिक खरिद ऐनमा समस्या रहेका कारण सबै व्यवसायीले काम नपाएको भन्दै महासंघ व्यवसायीमैत्री ऐनको पक्षमा रहेको जनाएको छ। महासंघका अध्यक्ष रवि सिंहले पर्याप्त बजेट, भुक्तानी तथा सरकारी निकायबीचको समन्वय अभावमा निर्माण क्षेत्र समृद्ध हुन नसकेको बताए।


‘स्थानीय निकायबीच काम,कर्तव्य र अधिकार प्रष्ट नहुँदा व्यवसायीको ठूलो रकम भुक्तानी रोकिएको छ,’उनले भने,‘मन्त्रीहरुलाई समस्या राख्दा पर्याप्त बजेट छुट्याएर मात्र ठेक्का प्रक्रिया सुरु गर्ने बताउने गर्नु भएको छ ।’


महासंघका महासचिव रोशन दाहालले देशभरका व्यवसायीको वृद्धि विकासका लागि महासंघको नयाँ नेतृत्व क्रियाशील रहेको बताए। उपमहासचिव तथा प्रवक्ता टंक चौलागाईले निर्माण क्षेत्र समृद्ध भएमा मात्र मुलुक समृद्ध हुने दाबी गरे।


महासंघले व्यवसायीलाई पेशैबाट पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध (संहिता) ऐनप्रति कडा आपत्ति जनाएको छ। गल्ती गरेको खण्डमा व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन विगतकै ऐन कानुन पर्याप्त रहेको महासंघले जनाएको छ ।


साना निर्माण व्यवसायीलाई समेत सहज रुपमा बोलपत्रमा सहभागी हुन पाउने वातावरण बनाइदिन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।


भूकम्प तथा नाकाबन्दीकाकारण इन्धन लगायत निर्माण सामाग्रीको अभावमा राष्ट्रभर संचालित सम्पूर्ण निर्माण आयोजनाहरु प्रभावित भई निर्माण कार्य रोकिएको कारण समयमै कार्य सम्पन्न नभएको अवस्थामा प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार ०७६ चैत्र मसान्त सम्मको लागि विना हर्जना म्याद थपको व्यवस्था मिलाई दिन महासंघले अनुरोध गरेको छ

प्रकाशित : कार्तिक २०, २०७५ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?