कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अलैंचीको भाउ घट्दो

उत्पादन बढे पनि किसानलाई हर्ष छैन । बजारमा राम्रो भाउ पाइएला भन्ने आशा छैन
कान्तिपुर संवाददाता

रामेछाप — उत्तरी रामेछापको उमाकुण्ड गाउँपालिका २ बाम्तीका किसानलाई अलैंची थन्क्याउन चटारो छ । यस वर्ष बाम्ती कुभु र गुम्देलमा अलैंची केही ढिलो पाक्यो । अघिअघि दसैंको पूर्णिमासम्म अलैंची थन्क्याउने किसान यो वर्ष तिहारको संघारमा पनि अलैंचीकै चटारामा छन् ।

अलैंचीको भाउ घट्दो

गत वर्षभन्दा बढी अलैंची उत्पादन भएको छ । बढी अलैंची फले पनि किसान खुसी छैनन् । मालको मोल नपाउने किसानको गुनासो छ । बाहिरका व्यवसायीलाई अलैंची उत्पादक किसानकामा आउन नदिने खेलको मारमा आफू परेको दाबी उनीहरू गर्छन् । यस वर्ष कुनै व्यवसायी पनि अलैंची उत्पादन क्षेत्रमा आइनपुगेकाले भाउ नचलेको उनीहरू बताउँछन् ।


अलैंचीको प्रमुख बजार भारत हो । भारतीय व्यवसायीसँग स्थानीय ठेकेदारले किसानको उत्पादन हेरेर मोल मिलाउने चलन छ । बजारमा महँगोमा बिक्री हुने भए पनि बिचौलियाका कारण यसअघि पनि राम्रो भाउ किसानले पाएका छैनन् । गत वर्ष प्रतिकेजी ६ सयदेखि ६ सय ५० रुपैयाँमा किसानले चित्त बुझाउनुपरेको थियो । ‘यस वर्ष पनि धेरै भाउ आउला भन्ने आशा कमै छ । बजारमा ७ सयको हल्ला चलेको छ । बिक्री भने कसैको भएको छैन,’ स्थानीय किसान भोजबहादुर सुनुवारले बताए ।


अलैंची उत्पादक किसान दिनेश कार्की यो वर्ष भुटान, बंगालादेश र चीनतर्फ पनि अलैंची जाने हल्ला गाउँसम्म आइपुगेको सुनाउँछन् । भाउ धेरै आए त्यसतर्फ जाने भइहाल्यो भने पनि बिचौलियाको हस्तक्षेपबाट मुक्त हुन सकिँदैन भन्ने उनलाई लागेको छ । पूर्वको अलैंचीको भाउ निगरानी गरिबसेका उनले उक्त क्षेत्रमा पनि भाउ नबसेको सुनाए ।


भारत अलैंचीजन्य मसलाको मुख्य बजार भएकाले सरकारीस्तरबाटै मूल्य निर्धारणको पहल हुनुपर्ने कार्कीको भनाइ छ । ‘सरकारले बिचौलियालाई प्रश्रय दिइरहेको छ,’ उनले भने ।


कुभुकास्थली, बाम्ती र गुम्देलका किसानले धान हुने खेत मासेर व्यावसायिक अलैंची लगाएका छन् । तीन वर्षदेखि रोगको प्रकोपले अलैंची उत्पादनमा असर परेको स्थानीय सूर्य कार्कीले बताए । उनका अनुसार पुरानो बगानको उत्पादनमा यो वर्ष पनि असर परेको छ । कार्की भन्छन्, ‘पुरानो बगान हुनेको उत्पादनमा गिरावट आयो, नयाँ लगाउनेले उत्पादन केही बढी लिए । त्यस भेगमा बढीमा ८ सय केजी तयारी अलैंची बनाउने किसान छन् । सरदर ३ देखि ५ सय केजी अलैंची उत्पादन गर्ने किसान धेरै छन् ।


सोलुको चौलाखर्क र गोली क्षेत्रबाट रामेछापको अलैंची बगानमा पनि रोग पसेकोले पुनारो बगानमा असर परेको छ । किसानले पुरानो बोटको साटो नयाँ बिजु बिरुवा लगाउन थालेका छन् । बिजु बिरुवाले उत्पादन दिइसकेको छैन । बिजु बोट फल्न थालेपछि अलैंची बढ्छ । सुनुवार भन्छन्, ‘अलैंचीको बोट र बगान बढेझैं भाउ पनि बढ्नुपर्ने थियो तर लगातार ओरालो लागेकोले किसानलाई हर्ष छैन ।’ तीन वर्षअघि त्यस क्षेत्रमा केजीको २ हजार ७ सयसम्म भाउ लिने किसानहरू त्यसपछि सित्तै जस्तोमा अलैंची बेचिरहेको अनुभव उनको छ ।

प्रकाशित : कार्तिक २०, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?