कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चार करोडको फूल बिक्री, भारतीय फूलको आयात ६० प्रतिशत घट्यो 

प्रदीप मेन्याङ्बो

(सुनसरी) — यसपालिको तिहारका लागि स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गरेको छ । बुधबार एकैदिनमा करिब ४ करोड रुपैयाँको कारोबार भएको छ ।

चार करोडको फूल बिक्री, भारतीय फूलको आयात ६० प्रतिशत घट्यो 

फ्लोरिकल्चर एसोसिएसन सुनसरी सदस्य प्रेम पराजुलीका अनुसार धरानको कृषि उपज बजारमा धनकुटा र सुनसरीका विभिन्न क्षेत्रमा उत्पादित फूलको कारोबार भएको हो ।


गत वर्षहरूमा तिहारको बेला भारतीय फूलले घर सजाउने र चेलीले माइतीलाई लगाइदिने गरेका थिए । स्थानीय कृषकले बढी मात्रामा फूलको उत्पादन गरेकाले यो वर्षको तिहार स्थानीय फूलले सजिन थालेका छन् ।


सुनसरीको धरान आसपासका क्षेत्र विजयपुर, पानबारी, विष्णुपादुकाबाट मात्र कम्तीमा ३० लाख रुपैयाँभन्दा बढीका फूलको उत्पादन भएको पराजुलीले बताए । विजयपुर क्षेत्रमा करिब अढाइ बिघाभन्दा बढी क्षेत्रमा सयपत्री, मखमली फूल फुलाइएको थियो । उनले भने, ‘आयातित भारतीय फूलको दबदबा यो वर्ष कम भएको छ । यसरी नै स्थानीय किसानले फूलको खेती गर्न थाले केही वर्षमा भारतीय फूल पूर्ण रूपमा विस्थापित हुनेछ ।’


विगतका तिहारमा पूर्वमा आकर्षक बनाइएको भारतीय फूलमै निर्भर हुने गरेको थियो । यसपालि स्थानीय फूल व्यवसायी कृषकहरूले व्यापक रूपमा फूल खेती गरेकाले तिहारमा ताजा फूल प्रयोग गर्न पाएका छन् ।


गत वर्षको तुलनामा पूर्वमा फूल धेरै उत्पादन भएको छ । पूर्वका पहाडी क्षेत्र र तराईमा पनि अरू वर्षको तुलनामा मनग्ये फूल फुलेकाले गत वर्षको तुलनामा भारतको कोलकत्ताबाट ल्याइने फूलको खपत घटेको छ । व्यावसायिक रूपमा तयार गरेर चिस्यानमा राखिने भारतीय फूल आकर्षक देखिने गरेकाले उपभोक्ता लोभिन्छन् ।


कतिपयले भारतीय फूलमा फर्मालिन प्रयोग गरिने भएकाले लामो समय नओइलिने गरेको बताउने गरेका छन् । फर्मालिनलाई कुनै पनि पदार्थ कुहिनबाट जोगाउनका लागि प्रयोग गरिने रासायनिक पदार्थ हो ।


पराजुलीले भारतीय फूल आयात गर्न सरकारले रोक नलगाए पनि यसपटकको तिहारमा स्थानीय फूलको बजार सन्तोषजनक देखिएको बताए । उनले भने, ‘किसानहरूले फूलबाट बढी नै आम्दानी गरे । फूलको उपभोग बर्सेनि बढेकाले स्थानीय किसानहरूले फूलको खेती पनि बढी नै गर्न थालेकाले भारतीय फूलको दबदबा घटदै गएको छ ।’


विजयपुरका फूल उत्पादक दुर्गा लिम्बुले भारतीय फूलभन्दा स्थानीय फूल बढी बिक्री भएको बताए । उनले भने, ‘तिहार अलि ढिलो भएकाले पनि कृषकले रोपेका प्राय: फूल सबै फुलेका छन् । मौसमले राम्रो साथ दिएकाले पनि कृषकले राम्रो दाम फूलबाट पाएका छन् ।’

प्रकाशित : कार्तिक २१, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?