तिहार बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले तिहार बिदामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त इन्धन उपलब्ध गराएको जनाएको छ ।

फाइल तस्बिर

निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार साढे ८ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख भरत रेग्मीले बताए ।

Yamaha

निगमले मंगलबार पनि साढे ८ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । डिपोले काठमाडौं उपत्यका, बनेपा, सिन्धुपालोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरेबमोजिम इन्धन उपलब्ध गराइएको उनले बताए । बुधबार लक्ष्मीपूजा र सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुला छ ।

सार्वजनिक बिदा भए पनि आकस्मिक रूपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको रेग्मीले बताए । थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण छ ।

प्रकाशित : कार्तिक २१, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

हरेक तिहारमा रुन्छन् योगमाया र सुशीला

घनश्याम खडका

काठमाडौँ — आँगनछेउ फुलेका सयपत्री र मखमलीले तिहारको माहोल बेग्लै बनाएको छ । रंग र प्रकाशको मिश्रणले रात पनि धपक्कै बलेको छ । तर योगमाया गाहालाई तिहारको कुनै रौनकले छुँदैन । बरु उनको हृदय नमीठो गरी दुख्छ, आँसु रसाउँछ । 

२०५८ देखि उनले दाजु केवल गाहासँग तिहार मनाउन पाएकी छैनन् । संकटकालको बेला थियो, उनका दाजु माओवादीमा लागेर पाल्पाको जनसरकार प्रमुख भएका थिए । पार्टीमै ‘जनवादी बिहा’ गरेको दुई महिनापछि त्यसै वर्ष पुस ४ गते सुटुक्क आफ्नो घर पाल्पा, दर्लाम आएका बेला उनी पक्राउ परे र गैरन्यायिक हत्या भयो ।

‘त्यसबेला म १० कक्षामा पढ्थें, १६ वर्ष लागेकी थिएँ,’ उनी भन्छिन्, ‘सानैमा बुबा बितेकाले दाजुले हामीलाई हुर्काउनुभएको थियो, उहाँ नभएपछि जीवन त्यसै पनि शून्य भएको थियो । हरेक तिहारमा यो शून्यपनले ज्यादा पिरोल्छ ।’

भाइटीकाका दिन अरूले दाजुभाइसँग साटेको माया र बाँडेको मिठाईले योगमायाको आँसु छचल्क्याउँछ । ‘मजस्ता हजारौं छन् यो देशमा जसले आफन्त गुमाएका छन्,’ अचेल शान्ति मन्त्रालयमा द्वन्द्वका समयमा परेका बालिका र महिलाका लागि काम गर्दै गरेकी ३३ वर्षीया योगमाया भन्छिन्, ‘उनीहरूकै बलिदानबाट देशमा परिवर्तन आएको छ भन्ने ठानेर मन बुझाउन खोज्छु तैपनि दु:खले छोइरहन्छ ।’

यस्तै पीडा दाङ घोराहीकी सुशीला चौधरीको पनि छ । हरेक तिहारले उनको आँखा यसैगरी ओसिलो पारेर जान्छ । ‘मेरा पनि दाजु मारिए, दिदी अहिलेसम्म बेपत्ता छिन्,’ सुशीला भन्छिन्, ‘तिहारका बेला दुवैको अभावले मुटु फुट्लाजस्तो भएर आउँछ ।’
थारू संस्कृतिमा हरितालिका तीजका बेला आइतबारी पर्व मनाइन्छ, जसमा दाजुभाइले दिदीबहिनीको सुख, दीर्घायु र स्वास्थ्यको कामना गर्दै व्रत बस्छन् । सानी हुँदा दाजु अर्जुन चौधरीले व्रत बसेर आफैंले बनाएको भोजन खुवाएको मधुरो सम्झना उनीसँग छ । ‘हामी थारूहरूको खास तिहार भनेको आइतबारी हो तर वरपर अरू सबले मनाउने हुनाले तिहारको रामरमाइलोले छोपिसकेको छ,’ उनी भन्छिन्, ‘यस्तो बेला दिदी र दाजु दुवैलाई साह्रै सम्झन्छु, भावुक हुन्छु ।’

उनकी २३ वर्षीया दिदी रामकली चौधरीलाई सेनाले २०५८ वैशाख ३ मा पक्रेर लगेको थियो । त्यसयता अहिलेसम्म उनी मरे–बाँचेको पत्तो परिवारले पाएको छैन । दाजु अर्जुन क्याम्पसमा पढदा माओवादीमा लागेका रहेछन्, त्यो थाहा पाएर घरमै सेना आई २०६१ चैत २५ मा उनको ज्यान लिए ।

‘घरको जान्ने सुन्ने भनेकै उहाँहरू हुनुहुन्थ्यो, उहाँहरू नहुँदा हाम्रो जीवन चौपट भयो,’ सुशीला भन्छिन्, ‘चाडबाड र विशेषगरी आइतबारी अनि तिहारमा दुवैको सम्झनाले घरमा सबलाई रुवाउँछ । यस्तो चाड त नआए नि हुने भनेजस्तो हुन्छ हामीलाई ।’
दिदीलाई बेपत्ता पारेपछि र दाजुलाई मारेपछि सेनाले सुशीलालाई पनि खोज्दै आयो । यो थाहा पाएर उनी घरै छाडी ३ वर्षसम्म राप्तीपारि लुकेर बसिन् । शान्ति प्रक्रिया सुरु भएपछि घर फिरेकी उनको पढाइ पनि बीचमा रोकियो । अचेल एलएलबी तेस्रो वर्षकी छात्रा ३० वर्षीया सुशीला द्वन्द्वपीडित साझा चौतारीकी कोषाध्यक्ष पनि हुन् ।

‘मजस्ता द्वन्द्वपीडित देशमा धेरै छन् जसलाई दसैंतिहार र अन्य चाडबाडले कुनै खुसी दिने होइन बरु रुवाउँछन्,’ उनी भन्छिन्, ‘कम्तीमा राज्यले न्याय दिन सकेको भए हाम्रो मन यति भारी हुने थिएन ।’

प्रकाशित : कार्तिक २१, २०७५ १७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT