लक्ष्मी पूजाको दिन विद्युतको माग घट्यो

अघिल्लो वर्षको माग ११६५ मेगावाट, यो वर्ष ११०५ मेगावाट मात्रै 
विजय तिमल्सिना

काठमाडौँ — लक्ष्मी पूजाको दिन अघिल्लो वर्षको तुलनामा विद्युत माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको भार प्रक्षेपण केन्द्रका अनुसार बुधबार लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ५ मेगावाट मात्रै थियो ।

इटहरीको चौरास्तामा देखिएको तिहारको झिलिमिली । तस्बिर : वेदराज पौडेल । कान्तिपुर

अघिल्लो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको माग ११ सय ६५ मेगावाट पुगेको थियो।

Yamaha

अघिल्लो वर्षको तथ्यांकको आधारमा प्राधिकरणले यो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ७० मेगावाट पुग्ने अनुमान गरेको थियो। तर, सोचेभन्दा कम विद्युत माग भएपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापनमा सहज भयो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष तिहार गर्मी र जाडोको बीचमा परेकाले विद्युत माग कम भएको अनुमान गरे। लक्ष्मी पूजाको दिन विद्युत माग उच्च हुने भएकाले प्राधिकरणलाई विद्युत प्रणाली व्यवस्थापनमा चुनौति हुने गर्छ। तर, यो वर्ष उच्चतम विद्युत माग घटेकाले व्यवस्थापनमा सहज भएको घिसिङले बताए।

‘गर्मीमा तराईतिर बढी विद्युत माग हुन्थ्यो तर यो वर्ष कात्तिकको अन्त्यतिर तिहार भएकाले तराईतर्फको विद्युत माग घट्यो,’ उनले भने,‘उपभोक्ताहरुले लिड बल्ब प्रयोग गर्न थालेकाले पनि माग घटेको हुनसक्छ।’

बुधबार साँझ ७ बजे विद्युतको उच्च माग हुँदा भारतबाट ३ सय २५ मेगावाट आयात गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको आफ्नै आयोजनाबाट ४ सय ३९ मेगावाट र निजी ऊर्जा प्रवद्र्धकबाट ३ सय ४१ मेगावाट लिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पिक लोड (विद्युतको उच्चतम माग) घटेकाले प्रणाली व्यवस्थापनमा प्राधिकरणलाई सहज भएको टिप्पणी गरे। ‘यसले ऊर्जाको लागत घटाउँछ,’ उनले भने।
२ वर्षअघि लक्ष्मी पूजाकै दिन विद्युतको माग व्यवस्थापन गरी लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो।

‘उपभोक्ताले अब जति पनि ऊर्जा उपयोग गर्दा हुन्छ,’ घिसिङले भने,‘अब प्राधिकरण उपभोक्तालाई बढी ऊर्जा खपतका लागि प्रोत्साहित गर्ने योजनामा छ।’

प्राधिकरणका अनुसार बुधबार दुई स्थानमा मात्र प्राविधिक खराबी आएको थियो। काठमाडौंको गौरीघाटमा बुधबार साँझ बादरले तारमा क्षति पुऱ्याउँदा केहीबेर विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। यस्तै, पर्वतको मोदी गाउँपालिकामा स्थानीयले रुख काट्दा वितरण लाइनमा क्षति हुँदा विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित : कार्तिक २२, २०७५ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

रासस

भादगाउँ — मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रतिकात्मक तस्बिर

स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुंगेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको सामान क्षति भएको हो ।
लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए । साेही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आएका ढुंगेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो,' उनले भने ।

आगलागीबाट करीब १० तोला सुन, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए । करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : कार्तिक २२, २०७५ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT