१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लक्ष्मी पूजाको दिन विद्युतको माग घट्यो

अघिल्लो वर्षको माग ११६५ मेगावाट, यो वर्ष ११०५ मेगावाट मात्रै 
विजय तिमल्सिना

काठमाडौँ — लक्ष्मी पूजाको दिन अघिल्लो वर्षको तुलनामा विद्युत माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको भार प्रक्षेपण केन्द्रका अनुसार बुधबार लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ५ मेगावाट मात्रै थियो ।

लक्ष्मी पूजाको दिन विद्युतको माग घट्यो

अघिल्लो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको माग ११ सय ६५ मेगावाट पुगेको थियो ।

अघिल्लो वर्षको तथ्यांकको आधारमा प्राधिकरणले यो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ७० मेगावाट पुग्ने अनुमान गरेको थियो । तर, सोचेभन्दा कम विद्युत माग भएपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापनमा सहज भयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष तिहार गर्मी र जाडोको बीचमा परेकाले विद्युत माग कम भएको अनुमान गरे । लक्ष्मी पूजाको दिन विद्युत माग उच्च हुने भएकाले प्राधिकरणलाई विद्युत प्रणाली व्यवस्थापनमा चुनौति हुने गर्छ । तर, यो वर्ष उच्चतम विद्युत माग घटेकाले व्यवस्थापनमा सहज भएको घिसिङले बताए ।

‘गर्मीमा तराईतिर बढी विद्युत माग हुन्थ्यो तर यो वर्ष कात्तिकको अन्त्यतिर तिहार भएकाले तराईतर्फको विद्युत माग घट्यो,’ उनले भने,‘उपभोक्ताहरुले लिड बल्ब प्रयोग गर्न थालेकाले पनि माग घटेको हुनसक्छ ।’

बुधबार साँझ ७ बजे विद्युतको उच्च माग हुँदा भारतबाट ३ सय २५ मेगावाट आयात गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको आफ्नै आयोजनाबाट ४ सय ३९ मेगावाट र निजी ऊर्जा प्रवद्र्धकबाट ३ सय ४१ मेगावाट लिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पिक लोड (विद्युतको उच्चतम माग) घटेकाले प्रणाली व्यवस्थापनमा प्राधिकरणलाई सहज भएको टिप्पणी गरे । ‘यसले ऊर्जाको लागत घटाउँछ,’ उनले भने ।

२ वर्षअघि लक्ष्मी पूजाकै दिन विद्युतको माग व्यवस्थापन गरी लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो ।

‘उपभोक्ताले अब जति पनि ऊर्जा उपयोग गर्दा हुन्छ,’ घिसिङले भने,‘अब प्राधिकरण उपभोक्तालाई बढी ऊर्जा खपतका लागि प्रोत्साहित गर्ने योजनामा छ ।’

प्राधिकरणका अनुसार बुधबार दुई स्थानमा मात्र प्राविधिक खराबी आएको थियो । काठमाडौंको गौरीघाटमा बुधबार साँझ बादरले तारमा क्षति पुऱ्याउँदा केहीबेर विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यस्तै, पर्वतको मोदी गाउँपालिकामा स्थानीयले रुख काट्दा वितरण लाइनमा क्षति हुँदा विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : कार्तिक २२, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?