१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्व हाम्रो, व्यापार अरूको

तिहार अब समाज उकास्ने होइन, खर्च बढाउने पर्व 
रंगोली पनि अब कागजका
मधु शाही

बाँके — घरपछाडिको चिउरीको पात टिपेर, घरमै पेलेको तोरीको तेलमा हजुरआमाले कातेको बत्ती झिलिमिली बालेपछि मात्रै राधादेवी भट्टराईलाई तिहार आएजस्तै लाग्थ्यो ।

‘लक्ष्मी पूजादेखि भाइटीकाका सामान खोज्न बजार धाउनु पर्दैनथ्यो,’ नेपालगन्ज बसपार्ककी ६० वर्षीया भट्टराईले भनिन्, ‘केही किन्नै पर्दैनथ्यो ।’ बाल्यकालको त्यो तिहार भट्टराईलाई अझै सम्झना छ ।


आफ्नै पर्व आफ्नै सामग्री हुने परम्परा अहिले इतिहास बनेको उनले बताइन् । अहिले उनलाई रंगोली बनाउने माटो, लक्ष्मी पूजाका सामान र भाइको निधारमा लगाउने टीकासमेत बजारकै भर पर्नुपर्छ ।

नेपालगन्ज फुलटेक्राकी ८० वर्षीया बोधकुमारी राणाले भाइटीकामा बेसार, चामल, तेल, अबिर, हरियो पातजस्ता घरेलु प्राकृतिक रङ बनाएर भाइटीका लगाएको सम्झना छ ।


अहिले उनीसमेत बजारकै रंगीन रङको भर पर्न थालेकी छन् । ‘जमाना बदलियो, बूढी पनि भएँ,’ उनले भनिन्, ‘बजारमा सजिलै पाइन थालेपछि कसले दु:ख गर्छ र ?’ तर, राणाले लक्ष्मी पूजाका लागि भने अझै पनि आफ्नै हातले बत्ती कात्ने गर्छिन् । आफ्नो पर्व मनाउनेहरू बजारको भर पर्न थाले । माग बढ्न थालेपछि व्यापारीले बाहय मुलुकको भरमा व्यापार गर्न थालेका छन् ।


तिहार पर्वले छपक्कै छोपेको नेपालगन्जमा यतिबेला भारतबाट आयातित तिहारका सामग्री बिक्रीमा छन् । घरमा बाल्ने बत्तीदेखि पूजा गर्ने हरेक सजावटका सामग्री भारतबाटै खरिद गरेर ल्याउने गरिन्छ । पुष्पलाल चोककी इशानी रेग्मी सधैं रंगोली आफ्नै हातले बनाउने गर्थिन् ।


यसपटक उनलाई जाँगर चलेन । त्यसैले बजारमा पाइने रेडिमेड रंगोली कागज आँगनमा टाँसेर पूजा गर्ने सोच बनाइन् । ‘बनिबनाउ बजारमा पाइन थालेपछि कसले झन्झट गर्छ ?’ उनले भनिन्, ‘समयको बचत हुने हुँदा रंगोली किनेरै लगाउने सोच बनाएँ ।’ लखनउबाट नेपालको तिहार लक्षित गरेरै ५० हजार थान रेडिमेट कागजका रंगोली बेच्न ल्याएको नेपालगन्जका व्यापारी रितेशमान श्रेष्ठले सुनाए । यस वर्ष उनले तिहार लक्षित २० हजार रंगोलीका कागज मात्रै खरिद गरेको बताए । ‘८० देखि २ सय रुपैयाँसम्ममा बिक्री गर्छु,’ उनले भने, ‘तिहारसम्म सबै सकिन्छ ।’


त्यस्तै व्यापारी चेतराज प्रजापतिले रुपैडिया (भारत) बाट १५ हजार प्रति लक्ष्मीका पोस्टर ल्याए । तिहारमा सबैभन्दा बढी बिक्री हुने लक्ष्मीको पोस्टर हो । उनले तिहारको ४ दिनमा लक्ष्मीका पोस्टर बेचेरै २० हजार रुपैयाँ कमाउने बताए । ‘एक महिनामा हुने फाइदा ४ दिनमा हुन्छ,’ उनले भने ।


नेपालगन्ज उपमहानगरपालिका सहरी क्षेत्र हो । झन्डै डेढ लाख जनसंख्या रहेको उपमहानगरमा अधिक हिन्दु समुदायको बसोबास छ ।


पछिल्लो समय बढदो सहरीकरण र भारतीय मुलुकको प्रभावले गर्दा नेपालगन्जको मौलिक संस्कृतिमा बजारीकरण मिसिएको जानकारहरू बताउँछन् । ८५ वर्ष नाघेका संगीतकार एवं अधिवक्ता बब्रुबाहान बस्नेतलाई अचेल आफ्नै संस्कृति आफ्नो लाग्दैन । बाल्यकालमा तिहारमा कुमाले घरमै पाला बेच्न आएको उनी सम्झन्छन् । ‘दुई रुपैयाँमा एक दर्जन पाइन्थ्यो,’ उनले भने, ‘अहिले दुई रुपैयाँमा के पाउनू ?’ अहिले विद्युतीय पाला आउन थालेपछि ती कुमालेको रोजीरोटी संकटमा परेको उनले बताए । ‘संस्कृति मनाउँदा आफ्नै स्थानीयले रोजगार पाउने संस्कारको विकास गर्नुपर्ने हो,’ उनले भने, ‘पुर्खाले मनाउने पर्वले यस्तै सन्देश दिन्थे ।


अहिले पर्वमा आत्मीयताभन्दा भडकिलोपन धेरै छ ।’ संस्कृतिले परिवार, समाज र राष्ट्र बलियो बनाउने भए पनि आधुनिक समाज ठीक त्यसको विपरीत चलिरहेको उनले बताए । तिहारमा फूलको माला लगाउने चलन छ । तर, नेपालगन्जका बजार अहिले फूलका मालाको सट्टा कागजका मालाले भरिभराउ छन् । हेर्दा सयपत्री फूलजस्तै देखिए पनि ती कपडाका नक्कली सयपत्री हुन् ।


साहित्यकार सनत रेग्मीले तिहार पर्वको इतिहास आर्थिक पक्ष जोगाउने धारबाट सुरु भएको बताए । उनका अनुसार बलिराजाको पालामा समाज गरिब थियो । न्यून आर्थिक अवस्था थियो । समाजलाई आर्थिक उन्नतिमा कसरी लैजाने भन्ने विषयमा बलिराजाले देउसी भैलो खेलेर रकम संकलन गरी समाज समृद्ध बनाउने योजना बनाएका थिए । ‘त्यसैले हामी देउसी भैलो खेल्दा बलिराजाले पठाएका भन्छांै,’ रेग्मीले भने, ‘समाज उकास्न तिहार मनाउने हाम्रो इतिहास अहिले खर्च बढाउने पर्वमा रूपान्तरण हँुदै छ ।’

प्रकाशित : कार्तिक २२, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?