उपत्यकाका लागि १५ लाख माला

पहिला जिल्लाको उत्पादन र भारतबाट आउने फूल बराबरी हुन्थ्यो, अहिले ८० प्रतिशत स्थानीय र २० प्रतिशत मात्र भारतबाट आउने गरेको छ । 
विमल खतिवडा

काठमाडौँ — चितवनका फूल व्यवसायी प्रकाश पन्त दुई दिनयता भाइटीकाका लागि माला तयार पार्न व्यस्त छन् । बजारमा एकै प्रकृतिका मालाको खरिद/बिक्री भएको देखेपछि उनले भाइटीकाका लागि नयाँ माला तयार पारेका हुन् । 

राजधानीको कालीमाटीमा लक्ष्मीपूजाका लागि फूलमाला किन्दै ग्राहक । तस्बिर : बिजु महर्जन/कान्तिपुर

१८ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएका उनले पहिलो पटक सयपत्रीमा गुलाफ मिसाएर माला तयार पारेका छन् ।

Yamaha

‘गुणस्तरीय मालाको बजारमा माग धेरै छ,’ उनले भने, ‘त्यसैले माग धान्न यो पटक नयाँ प्रयोग गरेका हौं ।’ उनले १ हजार ५ सय माला तयार पारेको बताए । माला तयार पार्न ४० जना खटिएका छन् ।

‘बिहीबार माला बिक्री गर्नेछौं,’ उनले भने, ‘सबै माला नारायणगढ बजारमै खपत हुनेछ ।’ बजारमा मालाको मूल्य मनपरी छ । उनले मेहनत र लगानी बढी भएकाले ४ सय रुपैयाँ गोटामा बिक्री गर्ने तयारी गरेको बताए । जिल्लामा पहिला भारतबाट माला धेरै आयात हुन्थ्यो । अहिले घटेको उनको दाबी छ ।

‘पहिला जिल्लाको उत्पादन र भारतबाट आउने फूल बराबरी हुन्थ्यो,’ उनले भने, ‘अहिले ८० प्रतिशत स्थानीय र २० प्रतिशत मात्र भारतबाट आउने गरेको छ ।’ पन्तले विभिन्न प्रजातिका गुलाफ, गोदावरी, ग्लाडी वलस फूललगायत लगाउने गरेका छन् । ‘फर्ममा सयपत्री लगाउने गरेको छैन,’ उनले भने, ‘तर चाडबाडमा माग धेरै हुने भएकाले अन्य किसानले उत्पादन गरेको फूल ल्याएर माला बनाई बिक्री गर्दै आएका छौं ।’ पछिल्लो समय सयपत्रीको माग बढदो छ । अहिले काठमाडौं उपत्यकाको मुख्य बजार, चोकमा फूल बिक्री गर्न व्यापारीहरूबीच तँछाडमछाड छ ।

जता हेर्‍यो, उतै सयपत्री फूल र माला राखिएको छ । फ्लोरी कल्चर एसोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलका अनुसार तिहारमा सबैभन्दा बढी सयपत्री फूलको माला खपत हुने गरेको छ । त्यसपछि मखमली र गोदावरीको माला खपत हुँदै आएको छ । मखमलीको माग विदेशमा धेरै हुने गरेको छ ।

‘तिहारमा करिब डेढ लाख मखमलीको माला विदेश जाने गरेको छ,’ उनले भने, ‘मखमली नसुक्ने भएकाले बढी माग विदेशमा भएको हो ।’ उनका अनुसार यो फूल अस्ट्रेलिया, बेलायत र अमेरिका जाने गरेको छ । नेपालबाट आफन्तले विदेशमा रहेकालाई माला पठाउने गरेका छन् ।

उपत्यकामा सबैभन्दा बढी १५ लाख सयपत्रीको माला खपत हुने गरेको छ । त्यस्तै ७ लाख सयपत्री र १० हजार गोदावरीको माला खपत हुने गरेको पोखरेलले बताए । ‘गोदावरीको माला महँगो पर्छ, त्यही भएर यसको खपत कम छ,’ उनले भने, ‘यसको बढीमा १ हजार १ सयसम्म मूल्य पर्ने गरेको छ ।’ चाडबाडमा मुलुकमै उत्पादन भएको सयपत्रीले बजार धान्ने गरेको छ । तिहारका लागि मुलुकका विभन्न ठाउँमा व्यावसायिक रूपमा सयपत्री लगाउने गरिएको छ ।

‘बर्सेनि १० देखि १५ प्रतिशत मालाको खपत बढ्ने गरेको छ,’ उनले भने, ‘लक्ष्मी पूजा र भाइटीकाको दिन सबैभन्दा बढी माग हुने गर्छ ।’ तिहारमा यो वर्ष १२ लाख माला मुलुकभित्रै र ३ लाख माला भारतबाट आएको उनले बताए ।

तिहारमा भारतबाट कम माला आयात हुने पोखरेलको दाबी छ । ‘अघिपछि भारतबाट बढी सयपत्री फूल आयात हुन्छ, त्यो बेला नेपालमा फूल लगाउने किसान कम हुन्छन्,’ उनले भने, ‘तर तिहारलाई लक्षित गरेर फूल लगाउने किसान बढी हुने भएकाले यो बेला भारतबाट कम फूल आउँछ ।’ काठमाडौं आसपास १ सय जना किसानले व्यावसायिक रूपमा फूल लगाउने गरेका छन् ।

चितवन, मकवानपुर, धादिङ, झापा, सुनसरी, नुवाकोट, सिन्धुली, काभ्रेलगायत जिल्लाबाट तिहारमा उपत्यकामा फूल आउने गरेको छ । यो बेला मनपरी मूल्यमा मालाबिक्री गर्ने गरिएको छ । ‘अघिपछि तरकारी बिक्री गर्नेहरूले पनि तिहारको बेला माला बिक्री गर्छन्, जताततै फूल र माला बिक्री गर्नेको भीड लाग्छ,’ उनले भने, ‘मूल्य मनपरी भएकोगुनासो जताततैबाट आउने गर्छ, यसमा नियमन गर्ने निकायले ध्यान दिन जरुरी छ ।’

प्रकाशित : कार्तिक २२, २०७५ ११:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पर्व हाम्रो, व्यापार अरूको

तिहार अब समाज उकास्ने होइन, खर्च बढाउने पर्व 
रंगोली पनि अब कागजका
मधु शाही

बाँके — घरपछाडिको चिउरीको पात टिपेर, घरमै पेलेको तोरीको तेलमा हजुरआमाले कातेको बत्ती झिलिमिली बालेपछि मात्रै राधादेवी भट्टराईलाई तिहार आएजस्तै लाग्थ्यो ।

‘लक्ष्मी पूजादेखि भाइटीकाका सामान खोज्न बजार धाउनु पर्दैनथ्यो,’ नेपालगन्ज बसपार्ककी ६० वर्षीया भट्टराईले भनिन्, ‘केही किन्नै पर्दैनथ्यो ।’ बाल्यकालको त्यो तिहार भट्टराईलाई अझै सम्झना छ ।

आफ्नै पर्व आफ्नै सामग्री हुने परम्परा अहिले इतिहास बनेको उनले बताइन् । अहिले उनलाई रंगोली बनाउने माटो, लक्ष्मी पूजाका सामान र भाइको निधारमा लगाउने टीकासमेत बजारकै भर पर्नुपर्छ ।
नेपालगन्ज फुलटेक्राकी ८० वर्षीया बोधकुमारी राणाले भाइटीकामा बेसार, चामल, तेल, अबिर, हरियो पातजस्ता घरेलु प्राकृतिक रङ बनाएर भाइटीका लगाएको सम्झना छ ।

अहिले उनीसमेत बजारकै रंगीन रङको भर पर्न थालेकी छन् । ‘जमाना बदलियो, बूढी पनि भएँ,’ उनले भनिन्, ‘बजारमा सजिलै पाइन थालेपछि कसले दु:ख गर्छ र ?’ तर, राणाले लक्ष्मी पूजाका लागि भने अझै पनि आफ्नै हातले बत्ती कात्ने गर्छिन् । आफ्नो पर्व मनाउनेहरू बजारको भर पर्न थाले । माग बढ्न थालेपछि व्यापारीले बाहय मुलुकको भरमा व्यापार गर्न थालेका छन् ।

तिहार पर्वले छपक्कै छोपेको नेपालगन्जमा यतिबेला भारतबाट आयातित तिहारका सामग्री बिक्रीमा छन् । घरमा बाल्ने बत्तीदेखि पूजा गर्ने हरेक सजावटका सामग्री भारतबाटै खरिद गरेर ल्याउने गरिन्छ । पुष्पलाल चोककी इशानी रेग्मी सधैं रंगोली आफ्नै हातले बनाउने गर्थिन् ।

यसपटक उनलाई जाँगर चलेन । त्यसैले बजारमा पाइने रेडिमेड रंगोली कागज आँगनमा टाँसेर पूजा गर्ने सोच बनाइन् । ‘बनिबनाउ बजारमा पाइन थालेपछि कसले झन्झट गर्छ ?’ उनले भनिन्, ‘समयको बचत हुने हुँदा रंगोली किनेरै लगाउने सोच बनाएँ ।’ लखनउबाट नेपालको तिहार लक्षित गरेरै ५० हजार थान रेडिमेट कागजका रंगोली बेच्न ल्याएको नेपालगन्जका व्यापारी रितेशमान श्रेष्ठले सुनाए । यस वर्ष उनले तिहार लक्षित २० हजार रंगोलीका कागज मात्रै खरिद गरेको बताए । ‘८० देखि २ सय रुपैयाँसम्ममा बिक्री गर्छु,’ उनले भने, ‘तिहारसम्म सबै सकिन्छ ।’

त्यस्तै व्यापारी चेतराज प्रजापतिले रुपैडिया (भारत) बाट १५ हजार प्रति लक्ष्मीका पोस्टर ल्याए । तिहारमा सबैभन्दा बढी बिक्री हुने लक्ष्मीको पोस्टर हो । उनले तिहारको ४ दिनमा लक्ष्मीका पोस्टर बेचेरै २० हजार रुपैयाँ कमाउने बताए । ‘एक महिनामा हुने फाइदा ४ दिनमा हुन्छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका सहरी क्षेत्र हो । झन्डै डेढ लाख जनसंख्या रहेको उपमहानगरमा अधिक हिन्दु समुदायको बसोबास छ ।

पछिल्लो समय बढदो सहरीकरण र भारतीय मुलुकको प्रभावले गर्दा नेपालगन्जको मौलिक संस्कृतिमा बजारीकरण मिसिएको जानकारहरू बताउँछन् । ८५ वर्ष नाघेका संगीतकार एवं अधिवक्ता बब्रुबाहान बस्नेतलाई अचेल आफ्नै संस्कृति आफ्नोलाग्दैन । बाल्यकालमा तिहारमा कुमाले घरमै पाला बेच्न आएको उनी सम्झन्छन् । ‘दुई रुपैयाँमा एक दर्जन पाइन्थ्यो,’ उनले भने, ‘अहिले दुई रुपैयाँमा के पाउनू ?’ अहिले विद्युतीय पाला आउन थालेपछि ती कुमालेको रोजीरोटी संकटमा परेको उनले बताए । ‘संस्कृति मनाउँदा आफ्नै स्थानीयले रोजगार पाउने संस्कारको विकास गर्नुपर्ने हो,’ उनले भने, ‘पुर्खाले मनाउने पर्वले यस्तै सन्देश दिन्थे ।

अहिले पर्वमा आत्मीयताभन्दा भडकिलोपन धेरै छ ।’ संस्कृतिले परिवार, समाज र राष्ट्र बलियो बनाउने भए पनि आधुनिक समाज ठीक त्यसको विपरीत चलिरहेको उनले बताए । तिहारमा फूलको माला लगाउने चलन छ । तर, नेपालगन्जका बजार अहिले फूलका मालाको सट्टा कागजका मालाले भरिभराउ छन् । हेर्दा सयपत्री फूलजस्तै देखिए पनि ती कपडाका नक्कली सयपत्री हुन् ।

साहित्यकार सनत रेग्मीले तिहार पर्वको इतिहास आर्थिक पक्ष जोगाउने धारबाट सुरु भएको बताए । उनका अनुसार बलिराजाको पालामा समाज गरिब थियो । न्यून आर्थिक अवस्था थियो । समाजलाई आर्थिक उन्नतिमाकसरी लैजाने भन्ने विषयमा बलिराजाले देउसी भैलो खेलेर रकम संकलन गरी समाज समृद्ध बनाउने योजनाबनाएका थिए । ‘त्यसैले हामी देउसी भैलो खेल्दा बलिराजाले पठाएका भन्छांै,’ रेग्मीले भने, ‘समाज उकास्न तिहार मनाउने हाम्रो इतिहास अहिले खर्च बढाउने पर्वमा रूपान्तरण हँुदै छ ।’

प्रकाशित : कार्तिक २२, २०७५ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT