कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उपत्यकाका लागि १५ लाख माला

पहिला जिल्लाको उत्पादन र भारतबाट आउने फूल बराबरी हुन्थ्यो, अहिले ८० प्रतिशत स्थानीय र २० प्रतिशत मात्र भारतबाट आउने गरेको छ । 
विमल खतिवडा

काठमाडौँ — चितवनका फूल व्यवसायी प्रकाश पन्त दुई दिनयता भाइटीकाका लागि माला तयार पार्न व्यस्त छन् । बजारमा एकै प्रकृतिका मालाको खरिद/बिक्री भएको देखेपछि उनले भाइटीकाका लागि नयाँ माला तयार पारेका हुन् । 

उपत्यकाका लागि १५ लाख माला

१८ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएका उनले पहिलो पटक सयपत्रीमा गुलाफ मिसाएर माला तयार पारेका छन् ।

‘गुणस्तरीय मालाको बजारमा माग धेरै छ,’ उनले भने, ‘त्यसैले माग धान्न यो पटक नयाँ प्रयोग गरेका हौं ।’ उनले १ हजार ५ सय माला तयार पारेको बताए । माला तयार पार्न ४० जना खटिएका छन् ।

‘बिहीबार माला बिक्री गर्नेछौं,’ उनले भने, ‘सबै माला नारायणगढ बजारमै खपत हुनेछ ।’ बजारमा मालाको मूल्य मनपरी छ । उनले मेहनत र लगानी बढी भएकाले ४ सय रुपैयाँ गोटामा बिक्री गर्ने तयारी गरेको बताए । जिल्लामा पहिला भारतबाट माला धेरै आयात हुन्थ्यो । अहिले घटेको उनको दाबी छ ।

‘पहिला जिल्लाको उत्पादन र भारतबाट आउने फूल बराबरी हुन्थ्यो,’ उनले भने, ‘अहिले ८० प्रतिशत स्थानीय र २० प्रतिशत मात्र भारतबाट आउने गरेको छ ।’ पन्तले विभिन्न प्रजातिका गुलाफ, गोदावरी, ग्लाडी वलस फूललगायत लगाउने गरेका छन् । ‘फर्ममा सयपत्री लगाउने गरेको छैन,’ उनले भने, ‘तर चाडबाडमा माग धेरै हुने भएकाले अन्य किसानले उत्पादन गरेको फूल ल्याएर माला बनाई बिक्री गर्दै आएका छौं ।’ पछिल्लो समय सयपत्रीको माग बढदो छ । अहिले काठमाडौं उपत्यकाको मुख्य बजार, चोकमा फूल बिक्री गर्न व्यापारीहरूबीच तँछाडमछाड छ ।

जता हेर्‍यो, उतै सयपत्री फूल र माला राखिएको छ । फ्लोरी कल्चर एसोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलका अनुसार तिहारमा सबैभन्दा बढी सयपत्री फूलको माला खपत हुने गरेको छ । त्यसपछि मखमली र गोदावरीको माला खपत हुँदै आएको छ । मखमलीको माग विदेशमा धेरै हुने गरेको छ ।

‘तिहारमा करिब डेढ लाख मखमलीको माला विदेश जाने गरेको छ,’ उनले भने, ‘मखमली नसुक्ने भएकाले बढी माग विदेशमा भएको हो ।’ उनका अनुसार यो फूल अस्ट्रेलिया, बेलायत र अमेरिका जाने गरेको छ । नेपालबाट आफन्तले विदेशमा रहेकालाई माला पठाउने गरेका छन् ।

उपत्यकामा सबैभन्दा बढी १५ लाख सयपत्रीको माला खपत हुने गरेको छ । त्यस्तै ७ लाख सयपत्री र १० हजार गोदावरीको माला खपत हुने गरेको पोखरेलले बताए । ‘गोदावरीको माला महँगो पर्छ, त्यही भएर यसको खपत कम छ,’ उनले भने, ‘यसको बढीमा १ हजार १ सयसम्म मूल्य पर्ने गरेको छ ।’ चाडबाडमा मुलुकमै उत्पादन भएको सयपत्रीले बजार धान्ने गरेको छ । तिहारका लागि मुलुकका विभन्न ठाउँमा व्यावसायिक रूपमा सयपत्री लगाउने गरिएको छ ।

‘बर्सेनि १० देखि १५ प्रतिशत मालाको खपत बढ्ने गरेको छ,’ उनले भने, ‘लक्ष्मी पूजा र भाइटीकाको दिन सबैभन्दा बढी माग हुने गर्छ ।’ तिहारमा यो वर्ष १२ लाख माला मुलुकभित्रै र ३ लाख माला भारतबाट आएको उनले बताए ।

तिहारमा भारतबाट कम माला आयात हुने पोखरेलको दाबी छ । ‘अघिपछि भारतबाट बढी सयपत्री फूल आयात हुन्छ, त्यो बेला नेपालमा फूल लगाउने किसान कम हुन्छन्,’ उनले भने, ‘तर तिहारलाई लक्षित गरेर फूल लगाउने किसान बढी हुने भएकाले यो बेला भारतबाट कम फूल आउँछ ।’ काठमाडौं आसपास १ सय जना किसानले व्यावसायिक रूपमा फूल लगाउने गरेका छन् ।

चितवन, मकवानपुर, धादिङ, झापा, सुनसरी, नुवाकोट, सिन्धुली, काभ्रेलगायत जिल्लाबाट तिहारमा उपत्यकामा फूल आउने गरेको छ । यो बेला मनपरी मूल्यमा माला बिक्री गर्ने गरिएको छ । ‘अघिपछि तरकारी बिक्री गर्नेहरूले पनि तिहारको बेला माला बिक्री गर्छन्, जताततै फूल र माला बिक्री गर्नेको भीड लाग्छ,’ उनले भने, ‘मूल्य मनपरी भएको गुनासो जताततैबाट आउने गर्छ, यसमा नियमन गर्ने निकायले ध्यान दिन जरुरी छ ।’

प्रकाशित : कार्तिक २२, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?