कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वीरगन्जमा भारु अभाव चर्कियो

शंकर आचार्य

पर्सा — वीरगन्जमा भारतीय रुपैयाँको अभाव चर्केको छ । तिहारलगत्तै छठपर्वमा भारुको अभाव झनै बढेको छ । बिदा र चाडपर्वको समयमा भारतीय मजदुरलाई तलब र पेस्कीसहित एकमुष्ठ रकम दिनुपर्ने हुँदा यहाँका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूलाई थप समस्या भएको छ ।

वीरगन्जमा भारु अभाव चर्कियो

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले बर्सेनि यो समयमा वीरगन्जमा भारुको चरम अभाव हुने गरेको बताए । चाडपर्वमा यस भेगका उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजारमा जाने गर्दा संकलन भएको भारु उनीहरूले लग्ने गरेका छन् । यसै समयमा वीरगन्ज तथा पर्सा बारा औद्योगिक करिडोरका उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत मजदुर तथा कर्मचारीहरू घर बिदामा जान्छन् । उनीहरूले भारतीय मुद्रामै तलब लग्न खोज्ने भएकाले उद्योग व्यवस्थापनलाई यति बेला आफ्ना कर्मचारी मजदुरलाई भारु उपलब्ध गराउन हम्मेहम्मे छ ।


होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष हरि पन्त चाड पर्व तथा लामो बिदाका कारण भारतीय ग्राहक नआउँदा यस अवधिमा यहाँका होटलहरूमा पाहुनाको कमी हुने बताउँछन् । वीरगन्जमा भारतीय मुद्रा भित्रिने प्रमुख माध्यम हाल होटल व्यवसाय नै मानिन्छ । भारतीय पाहुना आउन बन्द प्राय: भएपछि त्यसको असर भारुको उपलब्धतामा पनि पर्ने गरेको उनले बताए ।


यसबाहेक वीरगन्जको आदर्शनगर क्षेत्रका पसलहरूमा पनि भारतीय ग्राहक आउँदा भारतीय मुद्रा भित्रिने गर्छ । लक्ष्मीपूजा र छठ पर्वका कारण आदर्शनगरमा किनमेल गर्न आउने भारतीयहरूको संख्यामा कमी आएको छ । पछिल्लो केही वर्षयता यहाँस्थित नेपाल–भारत सीमामा लाग्ने गरेको जाम र भीडभाडका कारण यसअघि नै भारतीय ग्राहक वीरगन्जमा किनमेल गर्न आउने प्रवृत्ति कम हुँदै गएको छ ।


यसबाहेक वीरगन्जका आँखा अस्पतालहरूमा आउने भारतीय बिरामीका कारण पनि यहाँ भारतीय मुद्रा भित्रिन्छ । बिदाको समयमा उनीहरू पनि आउँदैनन् । विगतमा क्रसर उद्योगहरूमार्फत पनि भारतीय मुद्रा नेपाल भित्रन्थ्यो । हाल क्रसर उद्योगहरूबाट भारततर्फ ढुंगा निकासीमा रोक लगाइएको छ ।


वीरगन्जमा भारु अभाव हुँदा यहाँका कालाबजारीहरूले नेपाली मुद्राको भारतीय मुद्रासँगको सटही मूल्य मनपरी अवमूल्यन गरिरहेका छन् । उनीहरूले सय भारतीय रुपैयाँ सटही गर्न नेपाली १ सय ६५ देखि १ सय ६६ रुपैयाँसम्म लिने गरेका छन् । यो आधिकारिक विनिमय दरभन्दा ५ देखि ६ रुपैयाँसम्म बढी हो । रक्सौलमा किनमेल गर्न जाने नेपाली ग्राहक पनि त्यहाँका व्यापारीले यसरी नेपाली मुद्राको अवमूल्यन गरी सटही गर्दा घाटा व्यहोर्न बाध्य छन् ।


तेजारटोलका गौरीशंकर जैसवाल रक्सौलमा किनमेल गर्न जाँदा आफूहरूलाई त्यहाँका व्यापारीले मनपर्दो विनिमय दर लिएको गुनासो गरे । ‘चाडपर्वको मुखमा उनीहरूको मनपरी झनै बढेको छ,’ उनले भने, ‘कि भारु देउ नत्र बजारमा जुन दर चलेको छ त्यो मान भन्छन्, यसरी सयकडा ५ देखि ६ रुपैयाँ बढी तिर्न नेपाली ग्राहक बाध्य भइरहेका छन् ।’


यहाँस्थित नेपाल राष्ट्र बैंक शाखाले किनमेल प्रयोजनका लागि भारु सटही गर्न जाने नेपालीलाई सातामा २ हजारदेखि २ हजार ५ सय रुपैयाँ मात्र उपलब्ध गराउँछ । त्यतिले थोरै मात्र किनमेल सम्भव हुने र हाल बिदाको कारण बैंक पनि बन्द रहेकाले आम उपभोक्तासँग चर्को मूल्यमा भारतीय रुपैयाँ खरिद गर्नुको विकल्प पनि छैन । करिब ७ वर्षअघि भारतीय व्यापारीले यसरी मनपरी ढंगले नेपाली मुद्राको अवमूल्यन गरेपछि यो प्रवृत्ति निरन्तर चलिआएको छ ।


सरकारी स्तरबाटै दुवै मुलुकका सरकारले सीमावर्ती बजारमा रहेको यो समस्या समाधानको सम्बन्धमा हालसम्म औपचारिक रूपमा आपसी बैठकमा छलफल नै नगरेकाले समस्या झन् बढदै गएको छ ।

प्रकाशित : कार्तिक २५, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?