कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बिक्रीमा अलिबाबाको नयाँ रेकर्ड

एजेन्सी

बेजिङ — चिनियाँ इकमर्स कम्पनी अलिबाबाले बिक्रीमा नयाँ रेकर्ड राखेको छ । एक दशकदेखि नाेभेम्बर ११ लाई कम्पनीले सिंगल्स डेका रूपमा मनाउँदै आएको छ । कम्पनीले आफ्नो ठूलो बिक्री दिवसका रूपमा मनाउने यो दिन अलिबाबाले आफ्ना बिक्री रेकर्डलाई तोडदै आएको छ । 

बिक्रीमा अलिबाबाको नयाँ रेकर्ड

आइतबार नाेभेम्बर ११ को दिन चिनियाँ कम्पनीले ८५ सेकेन्डमा १ अर्ब डलर बराबरका सामान बिक्री गरेको छ । पहिलो घण्टामै १० अर्ब डलरको व्यापार भएको कम्पनीले जनाएको छ ।

नाेभेम्बर ११ मा हरेक वर्ष अलिबाबाले छुटमा सामान बिक्री गर्दै आएको छ । अघिल्लो वर्ष २४ घण्टामा कम्पनीले २५ अर्ब अर्ब बढीको सामान बिक्री गरेको थियो । नाेभेम्बर ११ को १२ बजेदेखि २४ घण्टासम्म उपभोक्ताले छुटको उपभोग गर्न पाउँछन् । यो वर्षको नाेभेम्बर ११ सकिन केही घण्टा बाँकी हुँदै कम्पनीले अघिल्लो वर्षको बिक्री रेकर्ड तोडेको छ । अघिल्लो वर्ष २५ घण्टामा कुल २५ अर्ब ३० करोड डलरको सामान बिक्री भएको थियो ।

अलिबाबाले २००९ देखि नाेभेम्बर ११ लाई सिंगल्स डेका रूपमा मनाउँदै आएको छ । यो दिन अलिबाबाले आफ्ना उपभोक्तालाई सामान किन्दा व्यापक छुटको घोषणा गर्ने हुँदा सामान बिक्रीमा नयाँ रेकर्ड बन्दै आएको छ ।

यो वर्ष २४ घण्टामा ३२ अर्ब डलर बराबरको सामान बिक्री हुने अनुमान छ । अंग्रेजी महिनाको ११ औं महिना नाेभेम्बरको ११ तारिखका दिन सबै अंक एक–एक हुने भएकाले अलिबाबाले यसलाई सिंगल डेका रूपमा मनाउन सुरु गरेको हो । यसलाई भ्यालेन्टाइन डेको विपरीत दिनका रूपमा पनि लिइन्छ ।

अलिबाबाले सुरु गरेको सिंगल डे विश्वकै सबैभन्दा धेरै बिक्री हुने दिन पनि हो । अमेरिकामा पनि ब्ल्याक फ्राइडे र साइबर मन्डे नाम दिएर यस्तै बिक्री दिवस मनाइन्छ, जसमा उपभोक्तालाई व्यापक छुट दिने गरिन्छ ।

तर अलिबाबाले एक दिनमा गर्ने कारोबार अमेरिकामा मनाइने दुवै दिनको कारोबारभन्दा बढी हुने ब्लुमबर्गले जनाएको छ ।

यो वर्ष नाेभेम्बर ११ मा अलिबाबामा बिक्रीका लागि १ लाख ८० हजार बढी ब्रान्डका सामानहरू उपलब्ध छन् ।

गत वर्षदेखि अलिबाबाले सिंगल्स डेलाई चीन बाहिरको बजारमा पनि विस्तार गरेको छ । अलिबाबाले अली एक्सप्रेसको नाम दिएर अमेरिका र बेलायतमा पनि व्यापारलाई फैलाएको छ ।

पछिल्ला वर्ष लगातार सिंगल्स डेमा अलिबाबाले आफ्ना अघिल्ला वर्षको बिक्रीको तथ्यांक पार गर्दै गएको छ । तर, जानकारहरू भने यो बिक्रीको संख्या कुनै विन्दुमा पुगेर रोकिन सक्ने आकलन गर्छन् ।

सिंगल डेमा बिक्रीको रेकर्ड तोडे पनि अलिबाबाले पछिल्ला दिनमा नयाँ चुनौती सामना गर्नुपरेको छ ।

उसले प्रतिस्पर्धी कम्पनीबाट बजारमा कडा टक्कर भोग्दै आएको छ भने चीन–अमेरिका व्यापार विवादका कारण १६ प्रतिशत बजार भाउ गुमाएको छ ।

अलिबाबाका प्रमुख कार्यकारी ज्याक माले पनि आगामी केही महिनामा पद छाड्ने घोषणा गरिसकेका छन् । कम्पनीले सेप्टेम्बरमा गरेको घोषणाअनुसार आगामी केही महिनामा माले कार्यकारी पद छाडेर अध्यक्ष पदमा बस्नेछन् ।

दक्षिण एसियामा पनि प्रभाव

चिनियाँ कम्पनी अलिबाबाको सिंगल्स डेको प्रभाव चीन र पश्चिमा मुलुकमा मात्रै नभएर दक्षिण एसियाली मुलुकमा पनि फैलिँदो छ । अलिबाबाले केही अघि मात्रै दक्षिण एसियाली देशमा लोकप्रिय सपिङ साइट दराज अनलाइनलाई आफ्नो स्वामित्वमा ल्याएको थियो ।

दराज अनलाइन विशेषगरी नेपालसति पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा लोकप्रिय छ । अलिबाबाले मे महिनामा जर्मन कम्पनी रकेट इन्टरनेटबाट दराज किनेर आफ्नो व्यवस्थापनमा सञ्चालन गर्न थालेको छ ।

अलिबाबाको स्वामित्वमा आएपछि दराजले आफू सञ्चालनमा रहेका सबै देशमा नाेभेम्बर ११ लाई सिंगल्स डेका रूपमा मनाउन थालेको छ ।

दराज अनलाइन नेपालले पनि आइतबारको २४ घण्टामा उपभोक्तालाई सामान किन्दा ८० प्रतिशतसम्म छुट दिएको जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?