१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एयरबसको २२० पहिलोपटक नेपालमा

सुरज कुँवर

काठमाडौँ — चीन, थाइल्याण्ड, नेपाल र टर्कीसहित चार वटा मुलुकका पाँचवटा सहरको यात्रामा निस्केको एयरबसको पछिल्लो व्यवसायिक वायुयान एयरबस २२० काठमाडौंको दुई दिने प्रर्दशनी सकेर फर्केको छ ।

एयरबसको २२० पहिलोपटक नेपालमा

क्यानेडियन एयरोस्पेस तथा ट्रान्सपोटेसन कम्पनी बम्बार्डियरसँगको साझेदारीमा हालैमात्रै उत्पादन थालिएको यो विमान काठमाडौंमा पहिलोपटक ल्याइएको हो ।


एयरबस कम्पनीका प्रतिनिधिका अनुसार यो वर्गका ४७ विमान हाल व्यवसायिक उडानमा छन् । यी विमानमा अधिकांश युरोपेली मुलुक छन् । एक सयदेखि डेढसयसम्म सिट क्षमता भएको यो संस्करणका ४ सय विमान अर्डरमा रहेको उनीहरुको दाबी छ । काठमाडौंमा ल्याइएको विमान ए २२०–३००मा मा १ सय ४५ सिट थिए । एउटा मात्रै ग्यालरी भएको विमानमा बायाँतर्फ दुई तथा दायाँतर्फ तीन वटा सिट राखिएका छन् । एयरबसले करिब ६ हजार किलोमिटर उडान रेन्ज भएको यो विमान निकटतम प्रतिद्वन्द्वीको दाँजोमा १३ प्रतिशत सस्तो, २० प्रतिशत कम इन्धन खपत क्षमता भएको दाबी गरेको छ । एक सयदेखि १ सय ५० सिट क्षमताका वायुयानमध्ये सबैभन्दा धेरै यो विमान कम्पनीहरुले रुचाउने गरेको विज्ञप्तिमा उल्लेख छ ।


एयरबसका प्रतिनिधिहरुले आइतबार काठमाडौंमा यस विमानको क्षमता, डिजाइन, इन्जिन लगायतका विषयबारे नेपाली एयरलाइन्स उद्योगका प्रतिनिधिलाई विमानस्थलमा निम्त्याई जानकारी दिएका थिए । पछिल्लोपटक नेपाल सरकारले पोखरा, भैरहवा, नेपालगञ्जबाट भारत र चीनका छिमेकी सहरहरुमा क्षेत्रीय उडान गर्ने घोषणा गरेपछि विमान उत्पादन गर्ने कम्पनीहरु आफ्ना उत्पादन बिक्री गराउन नेपाल आउन थालेका छन् । एक महिनाअघि कमर्सियल जेट विमान उत्पादनमा अग्रस्थानमा रहेको ब्राजिलको एम्ब्रेयर कमर्सियल एभिएसनले डेढ सयसम्म सिट क्षमता भएको उस्को पछिल्लो उत्पादन ई१९०–इटू (इआरजे) विमान काठमाडौंमा उतारेको थियो । इआरजेको पनि नेपाल यात्रा पहिलो थियो ।


चीनको जुहाईमा सोमबारदेखि भएको चार दिने एयर शोमा राखिएको यो विमान आइतबार काठमाडौंमा अवतरण भएको थियो । एयरबसको मार्केटिङ तथा कस्टुमर अफेयर्स निर्देशक क्रिस्टेन डुगेनीका अनुसार, काठमाडौंअघि चीनकै छेन्दू र थाइल्याण्डको सामुईमा पनि यो विमान प्रर्दशन गरिएको थियो । नेपालको व्यवसायिक प्रदर्शनी सकेर सोमबारै यो विमान टर्कीको आर्थिक केन्द्र इस्तानबुलतर्फ लागेको छ ।


त्यहाँबाट बुधबार आफ्नो गृहमुलुक लातविया फर्किने छ । काठमाडौंमा प्रर्दशनीका लागि ल्याइएको ए२२० विमान युरोपको बोल्टीक एयरले तीन महिनायता उडाउँदै आएको कमर्सियल विमान थियो । यसअघि इआरजेले प्रोटोटाइप विमान ल्याएको थियो । प्रोटोटाइप विमान कमर्सियल उडानमा प्रयोग हुँदैनन् ।

प्रकाशित : कार्तिक २६, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?