२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

दलहन प्रशोधन उद्योग सञ्चालनमा

मोहन बुढाऐर

बहुनिया, कैलाली — सुदूरपश्चिमको ‘रैथाने’ मसुरो दाललाई प्रशोधन गरी विदेश निर्यात गर्ने उद्देश्यले कैलालीको बौनियामा दलहन प्रशोधन उद्योग सञ्चालनमा आएको छ । उद्योग सञ्चालनका कारण यो वर्ष स्थानीय किसान मसुरो खेतीतर्फ आकर्षित भएका छन् । 

बहुनियाका किसान विजय कठरियाले यो वर्ष ३ बिघामा रैथाने मसुरो लगाएका छन् । उनले उक्त उद्योगको स्थापनाले आफूले गहुँ र तोरी लगाउने बारीमा मसुरो छरेको बताए । ‘गहुँ र तोरीभन्दा बढी फाइदा मसुरोबाट हुने देख्यौं,’ उनले भने, ‘उद्योगले उचित दाममा मसुरो खरिद गर्ने सम्झौता पनि गरेको छ ।’


अर्का किसान प्रेम महतोले पनि थोरै जमिनमा लगाउँदै आएको मसुरो खेतीको क्षेत्रफल बढाएका छन् । यसअघि उनी घरकै लागि तोरीसँगै ४/५ कट्ठामा मसुरो लगाउँथे । ‘घरमा बचत भएको मसुरोलाई कहाँ लगेर बेच्ने तनाव हुन्थ्यो,’ उनले भने, ‘गल्ला व्यापारीले सस्तो पाए मात्रै खरिद गर्दथे ।’ कहिले धनगढीसम्म पुर्‍याएर बेच्नुपरेको थियो । बजारकै अभावमा किसानले थोरै जमिनमा मसुरो लगाउने गरेको बताए ।


उद्योगको स्थापनाले कैलालीको लम्की, चुहा, बौनिया, टीकापुर लगायतका आसपास क्षेत्रमा मसुरो खेतीको क्षेत्रफल बढेको हो । धानबाली भित्र्याएपछि यही बेला किसानले मसुरो लगाउने गरेका छन् । ‘मिहिनेत कम गर्नुपर्ने भएकोले किसान मसुरो खेती लगाउन इच्छुक हुन्छन्,’ महतोले भने, ‘यसअघि भाउ नपाउने भएकोले मसुरो लगाउन छाडेका हुन् ।’


उद्योगले अघिल्लो वर्ष स्थानीय किसानको १० हजार क्विन्टल मसुरो खरिद गरेको उद्योगी कुँवर बताउँछन् । उनले ७ देखि ८ हजार रुपैयाँ प्रतिक्विन्टलका दरले किसानबाट मसुरो खरिद

गरेको बताए । उनका अनुसार यसअघि किसानले ४ देखि ५ हजार रुपैयाँ प्रतिक्विटल मसुरो बेचेका थिए ।


‘प्रतिघन्टामा २ टन दलहन प्रशोधन गर्ने उद्योगलाई पुग्ने जति उत्पादन छैन’ उद्योगी कुँवरले भने, ‘त्यसैले सुदूरपश्चिम प्रदेशमा मसुरो लगायत दलहन बालीतर्फ किसानलाई आकर्षित पार्न थालेका छौं ।’ उनले दलहन बालीतर्फ किसानलाई आकर्षित पार्न उचित मूल्य दिन लागेको बताए ।


‘कुनै बेला कैलाली/कञ्चनपुरबाट अरब देशतर्फ मसुरो निर्यात हुन्थ्यो’ उद्योगी कुँवरले भने, ‘उद्योगलाई फस्टाउन सक्यो भने ती दिन फर्कन सक्छन् ।’ किसानले मूल्य नपाउँदा मसुरोको उत्पादन घटेको उद्योगी कँुवरले बताए । उनले उद्योगको स्थापनाले पुन: कैलाली र कञ्चनपुरमा मसुरो उत्पादन क्षेत्र विस्तार गर्ने बताए । सुदूरपश्चिम प्रदेशमा दलहन प्रशोधन गर्ने यो नै उद्योग हो ।


उक्त उद्योगले तीन प्रकारको ग्रेडमा दालको प्रशोधन गर्ने गरेको छ । उद्योगले प्रत्यक्ष ५७ जनालाई रोजगारी दिएको कुँवरले बताए । उनले ब्रान्ड पाउन नसक्दा निर्यात सुरु गर्न नसकेको बताए ।


तराईमा मसुरो र पहाडमा भटमासलाई उत्पादन गर्नमा जोड दिन सके उद्योगलाई चाहिने कच्चा पदार्थ पर्याप्त पुग्ने उनले जनाए ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?