२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चाडबाडलगत्तै तरकारी सस्तियो

कान्तिपुर संवाददाता

राजु चौधरी — दसैंको मुखमा अस्वाभाविक बढेको तरकारी तथा फलफूलको भाउ घट्न थालेको छ । उत्पादन वृद्धिसँगै सहज आपूर्तिका कारण मूल्य घटेको हो ।

चाडबाडलगत्तै तरकारी सस्तियो

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक महिनाको अवधिमा करिब ५३ प्रतिशतले घटेको छ । ‘एक महिनाको अवधिमा स्थानीय उत्पादन करिब १०० प्रतिशतले बढेको छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले भने, ‘बढी उत्पादन भएकाले किसानको तरकारी बिकेको छैन ।’


उनका अनुसार चाडबाड मान्न गाउँ गएका उपभोक्ताले तरकारी ल्याएकाले पनि सस्तो भएको छ । समितिको तथ्यांकअनुसार दसैंअघि प्रतिकिलो ९५ रुपैयाँ पर्ने गोलभेडा ५२.६३ प्रतिशत घटेर ४५ रुपैयाँमा झरेको छ । ६५ रुपैयाँ पर्ने स्थानीय काउली १८.१८ प्रतिशत घटेर ४४ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ । यी बाहेक मुला, बोडी, घिउसिमी, तिते करेला, फर्सी, भिन्डी, साग,च्याउलगायत तरकारीको भाउ घटेको छ ।


समितिका अनुसार मूल्य घट्नुको मुख्य कारण मागअनुसार आपूर्ति हुनु नै हो । यसअघि तरकारी बजारमा दैनिक ६ सय देखि साढे ६ सय टन तरकारी भित्रिन्थ्यो । अहिले ७ सय टनभन्दा बढी भित्रियो समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए । ‘स्थानीय उत्पादन व्यापक बढेको देखिन्छ । उत्पादन वृद्धिसँगै भारतबाट पनि आयात भएको छ,’ उनले भने, ‘जसले गर्दा भाउ घटेको हो ।’ उनका अनुसार भारतबाट मात्रै ४० देखि ४५ प्रतिशत तरकारी कालीमाटी बजारमा भित्रिएको छ । समितिको तथ्यांक अनुसार ४५ रुपैयाँ पर्ने सेतो मुला घटेर ३५ रुपैयाँ, ९५ रुपैयाँ पर्ने बोडी २१.०५ रुपैयाँ घटेर ७५ रुपैयाँ, ६५ रुपैयाँ पर्ने घिउसिमी घटेर ५५ रुपैयाँ पुगेको छ ।


९५ रुपैयाँ पर्ने तिते करेला ७५ रुपैयाँ, ४५ रुपैयाँ पर्ने फर्सी पाकेको ३५ रुपैयाँ, ६५ रुपैयाँ पर्ने हरियो फर्सी ५५ रुपैयाँ, ९५ रुपैयाँ पर्ने भिन्डी ७५ रुपैयाँमा झरेको उल्लेख छ । समितिको तथ्यांक अनुसार सिजन सुरुसँगै धादिङको धार्के, पालुङ, काभ्रे, मकवानपुर लगायत वरिपरिका क्षेत्रबाट भित्रिने क्रम बढेको जनाएको छ ।


अध्यक्ष खतिवडाका अनुसार भारतबाट प्याज, करेला, कागती, खुर्सानी, भिन्डी, भेडे खुसार्नी लगायत आयात हुन्छ । बाँकी स्वदेशी उत्पादनले पूर्ति भएको उनले बताए ।


‘चाडबाडका कारण तरकारी पसलहरू खुला भइसकेका छैनन् । तर, तरकारी पर्याप्त भएकाले पनि मूल्य घटेको हो,’ उनले भने । समितिका अनुसार किलोको ६५ रुपैयाँ पर्ने रायो सागको भाउ ४६.१५ प्रतिशत घटेर ३५ रुपैयाँ पुगेको छ ।


१ सय १० रुपैयाँ पर्ने हरियो प्याज घटेर ७५ रुपैयाँमा झरेको छ । १ सय ९० रुपैयाँ पर्ने च्याउ घटेर १ सय ५ रुपैयाँ, ९५ रुपैयाँ पर्ने खुर्सानी हरियो ७५ रुपैयाँ पुगेको समितिको तथ्यांकमा उल्लेख छ । यस्तै, प्याज सुकेको, लौका र घिरौलाको मूल्य भने बढेको छ । तथ्यांक अनुसार प्याज सुकेको प्रतिकिलो १४.५८ प्रतिशत बढेर ५५ रुपैयाँ पुगेको छ । लौका २२.२२ प्रतिशतले बढेर ५५ रुपैयाँ र घिरौला १५.३८ रुपैयाँ बढेर ७५ रुपैयाँ पुगेको उल्लेख छ ।


समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । तरकारी बजारबाट खुद्रा व्यापारीहरूले खरिद गरेपछि पसलै पिच्छे फरक मूल्यमा बिक्री गर्छन् ।


कालिमाटी बजारमा व्यवसायीसँगको सहकार्यमा समितिले मूल्य निर्धारण गर्छ । तर, तरकारी बजारमै पनि मूल्य फरक/फरक हुने गरेको छ । मूल्य फरक हुँदा हस्तक्षेप गर्ने अधिकार समितिकै हो । बजार अनुगमन तथा नियन्त्रण गर्ने अधिकार उद्योग वाणिज्य तथा उपभोक्ता सरक्षण विभागको पनि हो ।

तर यी दुई निकायबाट प्रभावकारी रूपमा अनुगमन हुन सकेको छैन ।


फलफूलमा ४० प्रतिशत घट्यो

तरकारीसँगै फलफूलको मूल्य करिब ४० प्रतिशतले घटेको छ । समितिको तथ्यांक अनुसार १ सय ४० रुपैयाँ पर्ने सुन्तला ३९.२९ प्रतिशत घटेर ८५ रुपैयाँ पुगेको छ । १ सय २५ रुपैयाँ पर्ने मौसम ३२ रुपैयाँ घटेर ८५ रुपैयाँ, १ सय २५ रुपैयाँ पर्ने स्याउ घटेर १ सय १५ रुपैयाँ, १ सय २५ रुपैयाँ पर्ने भुइँकटहर (प्रतिगोटा) १ सय १५ पुगेको उल्लेख छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?