रारामा बढ्यो रौनक

मुगु / जुम्ला — दसैं–तिहारको अवसर पारेर देशका विभिन्न ठाउँबाट पर्यटक ओइरिएपछि रारामा रौनक बढेको छ । ताल वरपरका स्थान, मचानमा पर्यटक भरिभराउ देखिन थालेका छन् । यसले रारा रुटको आर्थिक गतिविधि पनि बढेको छ ।

रारामा बढ्यो रौनक

देशका विभिन्न सहरका साथै भारतको बिहार राज्यबाट समूह बनाएर पर्यटकहरू राराको अवलोकन गर्न आएका छन् । अधिकांश पर्यटक सुर्खेतबाट ‘अफरोड’ गाडीमार्फत कर्णाली राजमार्ग हँुदै रारा पुग्ने गरेका छन् । मोटरसकाइकल र सुर्खेत–नेपालगन्जबाट हवाईजहाज चढेर आउनेको संख्या पनि उल्लेख्य छ ।


रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार दैनिक डेढ सयको संख्यामा पर्यटक आउने गरेका छन् । उनीहरू सोही दिन राराको दृश्यावलोकन गरी फर्किने गरेका उनले बताए । पछिल्लो तीन महिनामा करिब चार हजार पर्यटक रारा पुगेको उनको भनाइ छ ।


यही अवसर पारेर रारामा विभिन्न कार्यक्रम हुने गरेका छन् । केही दिनअघि राराताल छेउमा अनमोल स्मृति प्रतिष्ठानले साहित्य महोत्सव आयोजना गर्‍यो । महोत्वसमा सुर्खेत, काठमाडौंसहित विभिन्न ठाउँका स्रष्टा भेला भए । ‘कयौं साहित्य सिर्जनामा सिङ्गारिएकी धर्तीकी अप्सरा राराको सामीप्यमा आएर स्रष्टाले आफ्नो सिर्जना पस्किए,’ प्रतिष्ठानका अध्यक्ष नीराजन शाहीले भने, ‘कविता महोत्सवले राराको माहोल झन् गुल्जार बन्यो ।’


पर्यटकको आगमन बढेसँगै रारामा घोडा र डुंगा व्यवसाय पनि फस्टाएको छ । ताल वरपर पर्यटकका लागि डेढ सय घोडा तैनाथ छन् । घोडा व्यवसायी कर्णसिंह रोकायाले मौसम छोप्नको लागि मुर्मा, झ्यारी, पिना, टोप्ला, सिगाडीलगायत बस्तीका घोडा रारामा पुगेको बताए । उनका अनुसार एउटा घोडाले दैनिक पाँच हजारसम्म कमाउने गरेको छ ।


भदौयता करिब ६ हजार पर्यटक आएका निकुञ्जको भनाइ छ । रारा आएका पर्यटकहरू घोडा चढेर मुर्माटप पुग्छन् । डुंगा चढेर रमाउनेको संख्या पनि उल्लेख्य छ । पहिलोपटक रारा आएका कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले दसैं/तिहार बिदाको समयमा घुमघामका लागि रारा उत्तम भएको बताए ।


होटल भरिभराउ

रारा घुम्न आउने पर्यटकलाई राति बास बस्न र खानाको समस्या हुने गरेको छ । रारामा डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिसोर्ट र माझघट्ट होम–स्टे छन् ।


तर, ती होटलले पाहुनाको भार धान्न सकिरहेका छैनन् । होटलले दैनिक सरदर ६० देखि ७० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । होटलमा कोठा नपाउँदा पर्यटकहरू चौरमा टेन्ट राखेर बस्न बाध्य छन् । कतिपय पर्यटक बासको लागि ताल्चा, झ्यारी र गमगढीसम्म पुग्ने गरेका छन् ।


‘रारा निकै सुन्दर छ, तर यहाँ खाना, बस्नको उचित प्रबन्ध नहुँदा अलि असजिलो लाग्यो,’ सुर्खेतबाट आएका दिनेश गौतमले भने, ‘उत्साह लिएर रारा आउनेहरू निराश भएर फर्किने गरेका छन् ।’


पर्यटकलाई कररारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट कर असुल्ने गरिएको छ । रारा राष्ट्रिय निकुञ्ज, निकुञ्ज मध्यवर्ती क्षेत्र र छायानाथ–रारा नगरपालिकाले आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति सय रुपैयाँ कर उठाउँछन् । असोजदेखि प्रवेश शुल्कबापत कर उठाउन सुरु गरिएको हो ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?