१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै

रासस

काठमाडौँ — विभिन्न आठ कम्पनीले तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् ।

आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै

आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले ८९ करोड तीन लाख ९४ हजार ९ सय ८१ रुपैयाँ मूल्य बराबरको ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद शेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।


मिथिला लघुवित्त वित्तीय संस्थाले तीन करोड ९८ लाख आठ हजार ९ सय ६९ रुपैयाँ मूल्य बराबरको तीन लाख २९ हजार ८ सय ८९ कित्ता हकप्रद शेयर बिक्री गर्न काठमाडौँ क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ । माइक्रोफाइनान्स समूहको सो कम्पनीले दुई बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्न लागेको हो ।


त्यस्तै बरुण जलविद्युत् कम्पनीले एक बराबर एक कित्ता हकप्रद शेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो कम्पनीले २५ करोड ५१ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।


नाडेप लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर एक कित्ता हकप्रद शेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो संस्थाले रु १६ करोड मूल्य बराबरको १६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न नविल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।


वित्त समूहको सिर्जना फाइनान्सले दश बराबर छ कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । सो कम्पनीले २४ करोड चार लाख आठ हजार रुपैयाँ मूल्य बराबरको २४ लाख चार हजार ८० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बीमा कम्पनीतर्फ एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि एक बराबर एक कित्ता शेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।


सो कम्पनीले १४ करोड तीन लाख ३२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।


जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि एक बराबर दुई कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गर्दै आएको छ । सो कम्पनीले दुई अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको दुई करोड १० लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर अपि पावरले हालसम्म कुनै पनि कागजात बोर्डमा भने बुझाएको छैन ।


माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । एक करोड १० लाख रुपैयाँ मूल्य बराबरको एक लाख १० हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ ।


यस्तै बोर्डले विभिन्न तीन कम्पनीका १६ करोड ९० लाख २५ हजार रुपैयाँ मूल्य बराबरको १६ लाख ९० हजार २५० कित्ता हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिएको छ । चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?