कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिक्टा सिँचाइको डुडुवा नहरको ठेक्का तोडियो

ठाकुरसिंह थारु

नेपालगन्ज — राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा नगर्ने पप्पु कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिएको छ ।

ठेक्का तोडिएलगत्तै सरकारले नयाँ टेन्डर खोलेको छ । पप्पुले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महिनामा सक्ने गरी ठेक्का लिएको थियो । अवधि पूरा हुँदासम्म जम्मा ७ प्रतिशत काम गरेको थियो ।


‘हामीसँग सम्झौता भएको समयमा जम्मा ७ प्रतिशत मात्रै काम भएपछि मन्त्रिपरिषद्ले ठेक्का तोडेको हो,’ सिक्टा सिँचाइ आयोजना नेपालगन्जका आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, ‘नयाँ ठेक्का भएपछि कामले तीव्रता लिने विश्वास छ ।’


डुडुवा नहर निर्माणको काम ०७३ जेठदेखि सुरु गरी ०७५ पुुस ४ सम्म पूरा गर्ने लक्ष्य थियो । पप्पुले निर्माणको काम अगाडि नबढाएपछि सिक्टा आयोजनाले ०७४ पुस ३० मा सिँचाइ विभागलाई पत्राचार गरी काम गर्ने निर्माण कम्पनीबारे धारणा मागेको थियो । उक्त निर्माण कम्पनीले ३२.२ किलोमिटर डुडुवा नहर निर्माण र सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्न ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।


नहर निर्माणपछि त्यस क्षेत्र आसपासका १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने विश्वास गरिएको छ । पप्पुले समयमै काम नगरिदिएका कारण उक्त आयोजनाको काम थप दुई वर्ष पछाडि धकलिएको छ । त्यस्तै निर्माण लागत बढ्ने अनुमान गरिएको छ । ‘सिक्टा सिँचाइ आयोजनाको काम समयमै सक्न पहिलो चरणमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न थालेका छौं,’ आयोजना प्रमुख नेपालले भने, ‘त्यससँगै आयोजनामा देखिएका समस्या समाधान गर्न पहल थालिएको छ ।’ पप्पुले ओगटेको अर्को ठूलो आयोजना जिल्लाको नौबास्तामा खुला कारागार निर्माणको काम पनि अलपत्र छ । उसले भ्याटबाहेक ३९ करोड रुपैयाँमा ठेक्का लिएको हो ।


कारागार निर्माणका लागि ठेक्का लिएको डेढ वर्षसम्म भने ५ प्रतिशत पनि काम भएको छैन । सहरी विकास तथा भवन डिभिजन कार्यालयले उक्त ठेक्का दिएको हो । ठेकेदारले बैंक ग्यारेन्टी राखेर काम सुरु गर्न २० प्रतिशत अर्थात् ७ करोड रुपैयाँ पहिलो किस्ता बुझिसकेको छ । सहरी तथा डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले डेढ वर्षमा निकै कम काम भएको बताए ।


उनले कामलाई गति दिन पटक–पटक पत्राचार गर्दै आएको दाबी गरे । ‘कामलाई गति दिन ठेकेदारलाई पटक–पटक पत्राचार गरेका छौं तर काम अगाडि बढेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘यस्तो अटेरी गर्नेलाई कारबाही पनि गर्न सकेका छैनौं ।’ ठेक्काको अवधि अझै पनि १ वर्ष बाँकी रहेका कारण कारबाही गर्न समस्या भइरहेको डिभिजनले जनाएको छ । स्थानीय प्रशासनले पनि कामलाई गति दिन चेतावनी दिँदै आएको छ ।


त्यस्तै पप्पुले निर्माण गरेको राँझा–जमुनाहाको ११ किलोमिटर चार लेन सडक हस्तान्तरण नहुँदै भत्केको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु गरिएको उक्त सडक २ वर्ष (०७२ जेठ) मै पूरा गर्ने लक्ष्य थियो । हालसम्म पनि हस्तान्तरण हुन सकेको छैन ।


प्रकाशित : कार्तिक २८, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?