१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नेपाली विमानलाई चीनमा प्रवेशको आश्वासन

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ पर्यटनमन्त्री लुओ सुगाङले नेपाली ध्वजाबाहक तथा निजी वायुयानलाई आफ्नो मुलुकमा उडान भर्न सहयोग गर्ने वचन दिएका छन् ।

नेपाली विमानलाई चीनमा प्रवेशको आश्वासन

समकक्षी रवीन्द्र अधिकारीको निम्तोमा मंगलबार प्रतिनिधि मण्डलसहित सिंहदरबार पुगेका चिनियाँ पर्यटनमन्त्री सुगाङले नेपालमा चिनियाँ वायुयानबाट मात्रै भइरहेको एकतर्फी हवाई कनेक्टिभिटीलाई दुईतर्फी बनाउन मद्दत गर्ने वाचा गरेको मन्त्री अधिकारीका प्रेस संयोजक धुव्र पोखरेलले बताए ।


‘म पर्यटनमन्त्री मात्रै हुँ तर चीन फर्केपछि उड्डयन हेर्ने मन्त्रीसँग बैठक गरी नेपाली विमानहरूलाई चीनमा उडान भर्ने विषयलाई अघि बढाउनेछु,’ चारदिने भ्रमणमा आएका चिनियाँ मन्त्रीको प्रतिबद्धता उद्धृत गर्दै संयोजक पोखरेलले कान्तिपुरसँग भने ।


हाल चीनका ६ वटा सहर कुनमिङ, ल्हासा, छेन्दु, ग्वाङजाव, सियान, सिचुवानबाट ६ वटा एयरलाइन्स चाइना इस्टर्न, एयर चाइना, तिब्बत एयरलाइन्स, चाइना साउदर्न, ड्रयागन, सिचुवानले सातामा काठमाडौंसम्मका लागि ६१ वटासम्म उडान भर्दै आएका छन् । नेपाली एयरलाइन्सको हाल चीनमा व्यावसायिक उडान हुँदैन । चीनसँगको एयर कनेक्टिभिटीलाई लिएर पर्यटनमन्त्री अधिकारीले चिनियाँ समकक्षी सुगाङसँग नेपाली वायुयानलाई उनको मुलुकमा उडान भर्नका लागि आग्रह गरेका हुन् ।


नेपाल वायुसेवा निगमले दुइटा वाइडबडी विमान खरिद गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले समकक्षीसामु यी जहाजलाई चीनका विभिन्न सहरहरूमा उडानका लागि सहजीकरण गरिदिन अनुरोध गरे । ‘नेपालमा चिनियाँ पर्यटकहरूको संख्यामा वृद्धि हुनुका साथै चीन र नेपालको आवागमनलाई थप सहज र प्रभावकारी बनाउनेछ,’ मन्त्री अधिकारीले भेटमा आफ्ना समकक्षीसमक्ष भने, ‘यी जहाजहरूको चीनका ग्वाङजाव र सांघाईमा अपरेटिङ परमिटका लागि यहाँबाट सहजीकरणको अपेक्षा गरेको छु ।’


यसैबीच नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा प्रयोग गरेका चिनियाँ जहाजमा आइपर्ने प्राविधिक तथा यान्त्रिक समस्याको तत्काल मर्मतलगायत सहजीकरणका लागि पनि आग्रह गरेका थिए । हाल नेपाल वायुसेवा निगमसँग दुइटा ठूला र चारवटा साना गरी ट वटा चिनियाँ विमान छन् । मन्त्री अधिकारीले दुई मुलुकबीच भएको सम्झौताअनुरूप यी विमानका लागि मर्मत केन्द्र (एमआरओ) तथा विमान पार्किङ गर्ने आधुनिक हयांगर निर्माण तत्काल गराइदिन पनि अनुरोध गरे ।


चीनबाट वार्षिक १ लाखभन्दा बढी पर्यटक नेपाल आउँछन् । यसै विषयमा चिनियाँ पर्यटनमन्त्रीले आफ्ना नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकारलाई अनुरोध गरेका थिए । मन्त्री अधिकारीले चिनियाँ नागरिकको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै नेपाल भ्रमण वर्ष २०२० अभियानबारे जानकारी गराएका थिए । उनले दुवै देशबीच हुने एयर कनेक्टिभिटीले यस अभियानमा चिनियाँ पर्यटकको संख्या बढाउन मद्दत पुग्ने भनेका थिए ।


नेपालका लागि चिनियाँ राजदूत यू होङसहित पर्यटन मन्त्रालय पुगेका मन्त्रीसमक्ष अधिकारीले हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक नौतले दरबारको पुनर्निर्माण कार्यमा चीनले देखाएको तदारुकताको प्रशंसा गरेका थिए । मन्त्री अधिकारीले नुवाकोट दरबार पुनर्निर्माणको कार्यले पनि चाँडै नै तीव्रता पाउने भेटमा सुनाएका थिए । यसैबीच भूकम्पबाट क्षतिग्रस्त भएका ५ वटा सम्पदा पुनर्निर्माण भई खुला भएकामा चिनियाँ मन्त्रीले खुसी व्यक्त गरे ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?