१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘क्यू फोर्टी फाइभ’ मा ऊर्जा उत्पादकको आपत्ति

विजय तिमल्सिना

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाएको विद्युत् अनुमतिपत्रसम्बन्धी निर्देशिकामा स्वतन्त्र ऊर्जा उत्पादकहरूले आपत्ति जनाएका छन् । निर्देशिकामा विद्युत् आयोजनाको जडित क्षमता निर्धारण क्यू फोर्टी फाइभको आधारमा हुने प्रावधानप्रति ऊर्जा उत्पादकहरूले विरोध जनाएका हुन् । 

‘क्यू फोर्टी फाइभ’ मा ऊर्जा उत्पादकको आपत्ति

मन्त्रालयले कात्तिक ७ गते निर्देशिका स्वीकृत गरेको निर्देशिकामा ‘जलविद्युत् आयोजनाको जडित क्षमता हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्याबिलिटी अफ एक्सिडेन्स क्यू फोर्टी फाइभको आधारमा’ हुने प्रावधान राखिएको छ ।


स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले मंगलबार पत्रकार सम्मेलन गरी निर्देशिकामा राखिएको यो प्रावधानप्रति आपत्ति जनाएको हो । यसअघि २०७३ मा जारी भएको विद्युत् आयोजनाको अनुमतिपत्र निर्देशिकामा यो प्रावधानलाई क्यू ४० राखिएको थियो । सोही वर्ष संशोधन गरिएको निर्देशिकामा भने यसलाई पुन: क्यू ४५ बनाइएको थियो ।


‘हामीले पहिल्यैदेखि क्यू ४५ प्रावधानको विरोध गर्दै आएका थियौं,’ इपान अध्यक्ष शैलेन्द्र गुरागाईले भने, ‘नयाँ निर्देशिकामा पनि यही प्रावधान राखिएपछि विरोध गरेका हौं ।’


विद्युत् आयोजना क्यू ४५ मा डिजाइन गर्दा नदीको पानीको अधिकतम उपयोग नहुने र सरकारले प्राप्त गर्ने रोयल्टीमा असर पर्ने अध्यक्ष गुरागाईको दाबी छ । ‘क्यू ४५ मा आयोजना डिजाइन गर्दा लागत पनि बढ्छ र आयोजनाको जडित क्षमता पनि घट्छ,’ उनले भने, ‘आयोजनाको जडित क्षमता घट्दा नदीको पानी उपयोग हुन्न र सरकारलाई प्राप्त हुने राजस्व पनि गुम्छ ।’


क्यू ४५ मा विद्युत् आयोजना डिजाइन गर्दा लागत बढ्ने भएकाले उत्पादकका लागि अधिकांश विद्युत् आयोजना फलदायी नहुने ऊर्जा उत्पादकहरूको दाबी छ ।


निर्देशिकामा राखिएको प्रावधानअनुसार आयोजना बनाउँदा वर्षाको समयमा नदीमा बग्ने पानी खेर जाने इपान उपाध्यक्ष कुमार पाण्डेले दाबी गरे । ‘यो प्रावधानका कारण वर्षामा नदीको सबै पानी सदुपयोग हुँदैन,’ उनको तर्क छ, ‘यसले विद्युत्मा भारतीय परनिर्भरता झन् बढाउँछन् ।’


सरकारले वर्षामा बढी उत्पादन भएको विद्युत् भारत पठाउने र हिउँदमा आफूलाई आवश्यक पर्दा ल्याउने गरी ‘इनर्जी बैंकिङ’ अवधारणा बढाए पनि वर्षामा धेरै विद्युत् उत्पादन हुन नदिन यो प्रावधान राखिएको उनको धारणा छ ।


‘दूरगामी असर पर्ने प्रावधान छलफलबिनै निर्देशिकामा राखिएको छ,’ उनले भने, ‘वर्षामा पानीको पूरा सदुपयोग गर्न सकिएन भने कसरी विद्युत् बिक्री गर्छौं ?’


४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना क्यू ३२ मा डिजाइन गरिएकाले यसले सरकारलाई २ खर्ब बढी आम्दानी दिने उनको दाबी छ । ‘यो आयोजना क्यू ४५ मा डिजाइन गरेको यसको लागत र सरकारलाई प्राप्त हुने राजस्व गुम्ने थियो,’ उनले भने, ‘प्रसारण लाइन बनाउन, विद्युत् आयोजना समयमै सकाउन सहजीकरण गर्नुको साटो मन्त्रालयले अनुमतिपत्रसम्बन्धी नीति बनाउन समय खर्चियो ।’


इपान अध्यक्ष गुरागाईंले श्रीलंकामा विद्युत् आयोजना क्यू २० र भारतमा क्यू २५ मा डिजाइन हुने दाबी गर्दै नेपालमा पनि आयोजनाको डिजाइनमा ऊर्जा प्रवद्र्धकलाई छुट दिनुपर्ने तर्क गरे ।

सरकारले जारी गरेको नयाँ निर्देशिकामा विद्युत् आयोजनाको जडित क्षमता क्यू ४५ को आधारमा निर्धारण हुने व्यवस्थासहित स्रोतको उपयोग, बजारको उपलब्धता, लगानीको प्रतिफललाई आधार मानी उत्तम लाभ लागतको आधारमा पनि आयोजनाको जडित क्षमता निर्धारण गर्न सकिने व्यवस्था छ ।


ऊर्जा उत्पादकहरू भने अघिल्ला निर्देशिकामा पनि यस्ता प्रावधान राखिने गरेको बताउँदै क्यू ४५ का आधारमा मात्रै आफ्नो डिजाइन स्वीकृत हुने दाबी गर्छन् । ‘उत्तम लाभ लागतको आधारमा आयोजनाको जडित क्षमता निर्धारण गर्ने प्रावधान भए पनि सरकारले क्यू ४५ आधारमा डिजाइन नभएको आयोजना स्वीकृति दिँदैन,’ इपान अध्यक्ष गुरागाईं भन्छन्, ‘क्यू ४५ लाई देखाएर विद्युत् प्राधिकरणले विद्युत् किन्दैन ।’



के हो क्यू फोर्टी फाइभ ?

कुनै नदीमा प्रवाह भएको पानीको मापन गर्दा प्राप्त भएको तथ्यांकका आधारमा कुनै निश्चित अवधिको ४५ प्रतिशत समयमा न्यूनतम रूपमा निरन्तर उपलब्ध हुने पानीको परिमाण पत्ता लगाउने प्रक्रियालाई हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्यालिलिटी अफ एक्सिडेन्स भनिन्छ । यो विधिमार्फत जलविद्युत् आयोजनाको जडित क्षमता निर्धारण गर्ने गरिन्छ ।


मानौ कुनै नदीमा वर्षको ४५ प्रतिशत सयममा कम्तीमा १ सय क्युविक मिटर प्रतिसेकेन्डका दरले पानीको बहाब छ । क्यू फोर्टी फाइभअनुसार सो आयोजनाको जडित क्षमता निर्धारण गर्दा ४५ प्रतिशत समयमा कम्तीमा उपलब्ध हुने पानीको आधारमा तय गरिन्छ ।


जडित क्षमता निर्धारणमा अन्य धेरै प्राविधिक पक्षले पनि प्रभाव पार्छ । आयोजना क्यू फोर्टी फाइभमा तयार पार्दा आयोजनाले वर्ष कम्तीमा १ सय ६२ दिन (एक वर्षको ४५ प्रतिशत समय) आफ्नो जडित क्षमताअनुसार विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ । कुनै आयोजना क्यू फोर्टीमा तयार पार्दा करिब १ सय ४६ दिन (एक वर्षको ४० दिन) आफ्नो जडित क्षमताअनुसार विद्युत् उत्पादन गरे पुग्छ ।


ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले निजी क्षेत्रले वर्षाको समयमा मात्रै विद्युत् उत्पादन गर्दा हिउँदको समयमा विद्युत्को अभाव हुने भएकाले हिउँदमा पनि विद्युत् उत्पादन होस् भन्नका लागि क्यू फोर्टी फाइभको प्रावधान राखिएको बताउँछन् ।


‘कुनै विद्युत् आयोजनाले एक वर्षमा उत्पादन गर्ने कुल ऊर्जाको ३० प्रतिशत हिउँदमा उत्पादन गरून् भन्नका लागि यस्तो प्रावधान राखिएको हो,’ उनले भने, ‘हिउँदमा विद्युत् उत्पादन गर्दा प्रवद्र्धकलाई पनि फाइदा हुन्छ । उनीहरूले हिउँदमा प्रतियुनिट रकम बढी पाउँछन् ।’


नेपाल विद्युत् प्राधिकरणले विद्युत् आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा तिरेर खरिद गर्छ भने हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा तिर्छ ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?