फोक्सुन्डोका होटल भरिभराउ
डोल्पा — नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डो हेर्न आउने आन्तरिक पर्यटकका कारण स्थानीय होटल भरिभराउ भएका छन् । पछिल्लो समय ताल हेर्न आउने पर्यटकको संख्या बढेसँगै फोक्सुन्डो क्षेत्रका होटल खचाखच भएका हुन् ।
दसैं, तिहारलगायत चाडबाडमा बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटक फोक्सुन्डो ताल अवलोकनका लागि आएका हुन् । होटल व्यवसायी रिञ्जिन बुढाले गत वर्षभन्दा यस वर्ष आन्तरिक पर्यटकको संख्या ५ गुणाले बढेको बताए । उनका अनुसार आन्तरिक पर्यटकको संख्या बढेसँगै स्थानीय होटल व्यावसायीलाई भ्याइनभ्याई छ ।
यस वर्ष आन्तरिक पर्यटकबाट निकुञ्ज क्षेत्रमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिन थालिएको छ । असोज २९ गतेदेखि ३ सय ५१ आन्तरिक पर्यटकले फोक्सुन्डो तालको अवलोकन गरेको फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । होटल व्यवसायी लालबहादुर केसीले आन्तरिक पर्यटकका कारण व्यावसाय फस्टाउँदै गएको बताए ।
उनका अनुसार हवाई उडान नियमित भाएपछि फोक्सुन्डो ताल र फोक्सुन्डो झरना अवलोकनका लागि आउने पर्यटकको संख्या बढेको छ ।
जाजरकोट–डोल्पा सडकको दुनैसम्मको मोटरबाटोको ट्रयाक ओपन भएकाले पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयको आशा छ । दुनैदेखि फोक्सुन्डो तालसम्मको पैदल मार्गमा पनि थुप्रै मनोरम दृश्यहरू देख्न पाइने आन्तरिक पर्यटक सुजन केसीले बताए ।
पुग्मका आङबहादुर लामाका अनुसार पदमार्गमा पर्ने र्याची, पुग्म, पुनिखा, साइजल, रिखे र रिग्मलगायत स्थानमा विभिन्न पुरातात्त्विक महत्त्वका गुम्बा, धार्मिक स्थल तथा प्राकृतिक सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
दुनैबाट फोक्सुन्डो पुग्न पैदल मार्गबाट दुई दिन लाग्ने भएकाले पर्यटकको संख्या हवात्तै बढ्न नसकेको स्थानीयको भनाइ छ । पदमार्गमा होटललगायत पूर्वाधार कम भएकाले पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको दुनैका होटल व्यवसायी भक्तबहादुर गुरुङले बताए ।
दुनै–फोक्सुन्डो पदमार्गलाई सुधार गर्न संघीय सरकारबाट बजेट विनियोजन गरिएको छ । फोक्सुन्डो ताल वरिपरि पदमार्ग बनाउन प्रदेश सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए ।
प्रकाशित : कार्तिक २९, २०७५ ०८:५७