१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जापानी चामल बिकेन

महँगो र नमिठो भन्दै स्थानीयले चामल किनेनन् 
एक वर्षमा ४ क्विन्टल मात्र बिक्री
भीमबहादुर सिंह

जाजरकोट — नेपाल खाद्य संस्थानको घोगी डिपोमा रहेको जापानी चामल बिक्री हुन सकेको छैन । स्थानीय उपभोक्ताले जापानीे चामल महँगो र नमिठो भन्दै नकिनेपछि बिक्रीमा समस्या भएको हो ।

स्थानीयले नरुचाउँदा संस्थानको शाखा कार्यालय घोगीस्थित गोदाममा एक वर्षदेखि ९ सय ३६ क्विन्टल जापानी चामल थन्किएको छ । गत आर्थिक वर्षको कोटाअन्र्तगत ढुवानी भएको ९ सय ४० क्विन्टलमध्येको उक्त चामल बिक्री नहुँदा थन्किएको हो । घोगी डिपोबाट एक वर्षमा चार क्विन्टल मात्र जापानी चामल बिक्री भएको संस्थानका नायबसुब्बा रामप्रसाद पौडेलले बताए । संस्थानले मूल्य घटाउँदा पनि उक्त जापानी चामल बिक्री नभएको उनले जनाए ।


जापानी चामलको भात खाँदा नमिठो र स्थानीय बजारमा पाइने चामलभन्दा महँगो भएकाले उपभोक्ताले किन्न नमानेको छेडागाड नगरपालिका घोगीका गोपालबहादुर बुढाले बताए । ‘५५/६० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने जापानी डल्लो चामल भात खानका लागि बिल्कुल स्वादिलो छैन,’ बुढाले भने, ‘पशुचौपायालाई खुवाउन महँगो चामल किन्ने कुरै भएन ।’


जापान सरकारको सहयोगमा खाद्य संस्थानमार्फत डल्लो चामल आपूर्ति भएको हो । संस्थानले गत भदौसम्म डल्लो चामलको मूल्य ६५ रुपैयाँ प्रतिकिलो तोकेको थियो ।


स्थानीय उपभोक्ताले महँगो भनेपछि जिल्ला खाद्य व्यवस्थापन समितिको सिफारिसमा संस्थानको केन्द्रीय कार्यालयले प्रतिकिलो ६२ रुपैयाँमा झारेको थियो । डिपो क्षेत्रका स्थानीयले चामल महँगो भन्दै किन्न नमानेपछि समितिले पुन: मूल्य घटाउन सिफारिस गरेअनुसार संस्थानले प्रतिकिलो ६ रुपैयाँ घटाउँदा पनि नबिकेको नायबसुब्बा पौडेलले बताए ।


‘६५ रुपैयाँ मूल्यको उक्त चामल ५६ रुपैयाँ प्रतिकिलोमा झार्दा पनि बिक्री हुँदैन,’ उनले भने, ‘स्थानीयले जापानी चामलको मूल्य प्रतिकिलोको ४५ रुपैयाँ हुनुपर्ने माग गरेका छन् ।’ अन्य चामल खोसाखोस हुने ठाउँमा जापानी चामल बिक्री नभएको उनको भनाइ छ ।


स्थानीयले जापानी चामलको भात खान नरुचाउँदा समस्या भएको उनले जनाए । गत वर्षकै चामल बिक्री नहुँदा चालु आर्थिक वर्षको कोटाको ढुवानी प्रक्रिया पनि अघि नबढेको उनले जानकारी दिए । घोगी डिपोमा बिक्री नभएको चामल थन्काउन संस्थानले मासिक ७ हजार ५ सय रुपैयाँ तिर्ने गरी स्थानीयका चार घर भाडामा लिएको छ ।


दुर्गम गाउँमा चामललगायत खाद्यान्न अभाव भए पनि संस्थानको घोगी गोदाममा जापानी चामल बिक्री नभई थन्किएको बुढाले बताए । गत साउन/भदौमा खाद्यान्न अभाव हुदासमेत गाउँलेले जापानी चामल किन्न नमानेको उनले बताए । ‘महँगो त्यसैमा नमिठो किन किन्ने ?’ उनले भने, ‘भात खान स्वादिलो हुने विभिन्न ब्रान्डका चामल स्थानीय बजारमा जापानी चामलभन्दा सुलभ मूल्यमा पाइन्छ ।’


छेडागाड नगरपालिकाको पजारु, घोगी, डाडाँगाउँ, सेराखहरे, जुनीचाँदे गाउँपालिकाको दह, गर्खाकोट, मजकोट, लुहादह, टीकाचौरलगायत गाउँमा बर्सेनि खाद्य अभाव हुने गर्छ । ती गाउँमा स्थानीय उत्पादनले तीन महिना पनि खाना नपुग्ने भएपछि भोकमरी हुने गरेको हो ।


घोगी डिपो आसपासका स्थानीयले संस्थानसँग जापानी चामल नपठाउन र सोना मन्सुली, जिरा मसिनो, अरुवा मोटोलगायत पठाउन माग गरेका छन् । मूल्य घटेकोले घोगी डिपोस्थित जापानी चामल क्रमश: बिक्री हुने नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले बताए ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?