कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिक्टा हेर्न अस्ट्रेलियाका प्राविधिक आउँदै 

‘अस्ट्रेलियामा पनि घुलनशील माटाका कारण नहर भत्किने समस्या छ । उता यस्ता समस्या समाधान भएका छन्’
ठाकुरसिंह थारू

नेपालगन्ज — राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्किनुको कारण खोज्न अस्ट्रेलियाको प्राविधिक टोली आउने भएको छ । केही दिनभित्रै टोली नेपालगन्ज आउने भएको हो ।

सिक्टा हेर्न अस्ट्रेलियाका प्राविधिक आउँदै 

मूल नहर पटकपटक भत्किने गरेको छ । नहरको गुणस्तर छानबिनको माग उठिरहेका बेला विदेशी प्राविधिक टोली आउने भएको हो । यसअघि सरकारका सचिव र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छुट्टाछुट्टै टोलीले नहर भत्किनुको कारणबारे अध्ययन गरिसकेको छ ।

सचिवस्तरीय समितिले घुलनशील माटोका कारण नहर भत्किने गरेको प्रतिवेदन सरकारलाई बुझाएको छ । प्राकृतिक स्रोत साधन समितिको टोलीले हालसम्म प्रतिवेदन बुझाएको छैन । अस्ट्ेरलियामा पनि घुलनशील माटोका कारण नहर भत्किने समस्या छ । ‘नेपाल र अस्ट्रेलियको माटो र गुण उस्तै छ । उता यस्ता समस्या आउँदा सहजै समाधान भएका छन्,’ सिक्टा सिँचाइ आयोजनाका प्रमुख कृष्णप्रसाद नेपालले भने, ‘अस्ट्रेलियाको प्राविधिक टोलीले अध्ययन गरेपछि सिक्टामा देखिएका समस्याबारे छलफल गर्छौं ।’ पटकपटक नहर भत्किने समस्या आएपछि आयोजनाले विदेशी प्राविधिक टोलीलाई अध्ययनका लागि बोलाएको उनले बताए ।

उक्त आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको छ । सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । परीक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठ्ने गरेको हो । आयोजनाका अनुसार दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनाैं खोलानाला बगेका कारण वर्षामा नहरमा क्षति हुने गरेको छ ।

त्यस्तै दायाँ मूल नहरको डिजाइन चरणमा नहरको रेखांकन गर्दा चेनेज २० देखि ३५ किलोमिटरसम्म नहर अत्यधिक कटिङ तथा फिलिङमा रहेको जनाइएको छ । त्यसको विकल्पको अध्ययन गरी हालको रेखांकन छनोट गरिएको आयोजनाको तर्क छ । चुरेको पानीले घुलनशील माटो बगाएर नहर भत्किने गरेको आयोजनाले जनाउँदै आएको छ ।

‘अस्ट्रेलियामा पनि घुलनशील माटाको समस्या छ । त्यसैले त्यहाँको प्राविधिक पक्षबारे अध्ययन टोलीले जानकारी गराउनेछ,’ आयोजना प्रमुख नेपालले भने । बहुचर्चित राष्ट्रिय लगानी आयोजनाको काम १४ वर्षदेखि भइरहेको छ । अहिलेसम्म यसको ५७ प्रतिशत मात्रै काम सकिएको छ ।

अबको दुई वर्षभित्रै बाँकेका किसानका खेतबारीमा पानी पुर्‍याउने लक्ष्य छ । निर्माण कार्यमा ढिलाइ भएपछि आयोजनाको लागत बढदै गएको छ । आयोजना निर्माण सम्पन्न गर्न सरकारले पछिल्लोपटक आर्थिक वर्ष ०७६/०७७ को समय तोकेको छ । यसले समयमै काम सम्पन्न हुनेमा शंका उब्जाएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले आयोजनाको दुई दिन लगाएर स्थलगत निरीक्षण गरिसकेको छ । ‘आर्थिक वर्ष ०६१/६२ मा सुरु गरिएको आयोजनाको काम हालसम्म पनि किन सम्पन्न भएन भन्नेबारे जानकारी लियौं । त्यससँगै अबको दुई वर्षमा काम सकिने सम्भावनाबारे पनि छलफल भयो,’ सभापति सुवेदीले कान्तिपुरसँग भनिन्, ‘त्यससँगै नहरको गुणस्तरबारे पनि जानकारी लिएका छौं ।’

प्रकाशित : कार्तिक २९, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?