कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनियाँ गाई ल्याए आन्दोलन

रमेशकुमार पौडेल

चितवन — सरकारले चीनबाट गाई ल्याउने तयारी गरेको भन्दै चितवनका किसान विरोधमा उत्रेका छन् । व्यावसायिक दुग्ध उत्पादक कृषक समाजले बुधबार भरतपुरमा राखेको पत्रकार सम्मेलनमा चीनबाट गाई ल्याए पशु चौपायासहित प्रत्येक स्थानीय तहमा सडक आन्दोलन गर्ने किसानका प्रतिनिधिहरूले चेतावनी दिए । प्रदेश २, ३ र गण्डकीले गाई ल्याउने तयारी गरेको किसानहरूको भनाइ छ ।

‘हामीले पत्रिकामा समाचार पढेर जानकारी पाएका हौं । सरकारी निकायमा सोध खोज गर्दा सरकारी अधिकारीहरू यो विषयमा आफूहरू खासै जानकार नभएको बताउँछन् । भित्रभित्रै विदेशी गाई ल्याउने योजना किन र कसका लागि बनाइँदै छ हामी अचम्म परेका छौं,’ व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका सचिव इन्द्रमणि गैरेले भने । यो सम्बन्धी समाचार कात्तिक १४ को कान्तिपुरमा आएको उनले बताए ।


गाई ल्याउन सरकारले ३२ अर्ब खर्च गर्न लागेको उनले बताए । ‘चीनबाट गाई ल्याउनै पर्दैन । नेपालीलाई चाहिने गाई हामी नेपालमा नै उत्पादन गर्न सक्षम छौं । केका लागि गाई ल्याउन खाजिँदै छ,’ समाजका रत्ननगर नगर अध्यक्ष किशोर बगालेले भने । आफैंले १२४ वटासम्म गाई र बाच्छी बेचेको उनले बताए । यसरी गाई बाच्छी बेच्न सक्ने किसान चितवनमै धेरै नै भएको उनको भनाइ छ ।


‘बढीमा एक लाख रुपैयाँ पर्ने र ३०/४० लिटरसम्म दूध दिन सक्ने गाई यहीँ छन् । चीनबाट त्यति नै उत्पादन क्षमता भएका गाई योभन्दा महँगोमा ल्याउने तयारी रहेछ,’ बगालेले भने । चीनबाट गाई ल्याउँदा भूगोल र हावापानी नमिलेर समस्या हुने पनि उनले बताए । गाईको सट्टा कृत्रिम गर्भधानका लागि उन्नत नश्लका जातको वीर्य आयात गर्नु उपयुक्त हुने उनले बताए ।


‘किसानको यस्तो हालत हुँदा सरकार सुन्दैन’ किशोर बगालेले भने । यस्तो बेलामा थप गाईहरू ल्याए झनै समस्या बढ्ने उनले बताए ।


‘चीनबाट गाई ल्याउनका लागि खर्च गर्न लागेको पैसा यहीँका किसानको हितका लागि खर्च गरे पशुपालनले गुणात्मक फड्को मार्छ । हाम्रो पीडाव्यथा सरकारले ख्यालै गर्दैन । यहाँ गाई ल्याउन हुने वा नहुने भन्ने विषयमा सरकारले हामीसँग एक बचन सोध्दैन, सल्लाह गर्दैन । सरकार कसका लागि काम गर्दै छ,’ बगालेले भने । सरकार आफ्नो निर्णयबाट पछाडि नहटे आन्दोलन गर्ने उनीहरूले घोषणा गरे ।


दूध उत्पादक किसानहरूको संगठन व्यावसायिक दुग्ध उत्पादक कृषक समाजको देशव्यापी सञ्जाल निर्माण भएको छ । ‘वडावडामा हाम्रा समितिहरू छन् । आन्दोलन घोषणा भए सबै ठाउँबाट साथीहरू जुट्नुहुन्छ । चीनबाट गाई ल्याउने काम नेपालका किसानका हितमा नभएको हुँदा हामी सरकार विरुद्ध आन्दोलनमा उत्रने तयारीमा छौं,’ समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले भने ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?