२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आर्थिक संकटमा परेपछि वायुसेवा निगमले गुहार्‍यो सरकार, मासिक ३१ करोड ७७ लाख घाटा

सुरज कुँवर

काठमाडौँ — नौवटा साना तथा पाँचवटा ठूला जेट विमान गरी १४ वटा जहाज भएको सरकार स्वामित्वको ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले स्वेतपत्र जारी गर्दै आर्थिक संकट आइपरेको भन्दै सरकार गुहारेको छ । 

आर्थिक संकटमा परेपछि वायुसेवा निगमले गुहार्‍यो सरकार, मासिक ३१ करोड ७७ लाख घाटा

६० वर्षअघि स्थापना भएको मुलुककै पहिलो वायुयान संस्थाले नगद प्रवाहमै समस्या आइपरेपछि भदौ मसान्तसम्मको स्थितिलाई समेटेर स्वेतपत्र जारी गर्दै सरकारसँग हात फैलाएको छ । हालै निगममा कार्यकारी अध्यक्ष तोकिएका मदन खरेलले तत्काल सरकारसँग २० अर्ब माग गरे । ‘यो संस्था नेपाल सरकारको शतप्रतिशत सेयर भएको संस्था हो,’ निगम मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले भने, ‘हामीसँग पुँजी न्यून छ । पुँजी बढाउन सरकारसँग २० अर्ब माग गरेका छौं । एकैचोटी होइन योजना बनाएर उपलब्ध गराइदिए क्यास फ्लो (नगद प्रवाह) मा सघाउ पुग्ने थियो ।’


निगमको लगानी ३ अर्ब १० करोड रहेको छ । ‘उक्त पुँजी लगानी अधिकृत पुँजीभन्दा बढी भएकाले यथाशीघ्र नियमित गर्नुपर्ने देखिन्छ,’ स्वेतपत्र पढ्दै निगम प्रवक्ता अशोक सिग्देलले भने, ‘उपलब्ध नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अधिक छ । वाइडबडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्काल नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक छ ।’ श्वेतपत्रमा लेखिएअनुसार निगमको दीर्घकालीन कर्जा ३७ अर्ब ५८ करोड पुगेको छ । यसको वार्षिक ब्याज ३ अर्ब ६६ करोड तिर्नुपर्छ भने मासिक ब्याज ३० करोड रुपैयाँ तिर्नुपर्छ । मासिक नगद प्रवाहअन्तर्गत निगमको आम्दानी १ अर्ब २२ करोड हाराहारी रहेको छ भने खर्च १ अर्ब ५४ करोड पुगेको छ । यस हिसाबले निगम मासिक ३१ करोड ७७ लाख रुपैयाँ घाटामा चलिरहेको छ ।


दुइटा वाइड बडी विमान खरिद गर्नुअघि निगमको दीर्घकालीन कर्जा १३ अर्ब ५८ करोड थियो । वाइडबडी ल्याइसकेपछि कर्जा ३७ अर्ब ५८ करोड पुगेको छ । निगमले वाइड बडी जहाजलाई व्यावसायिक योजनाअनुसार लामो दूरीमा उड्न नसक्दा औसत दैनिक उपयोग निकै न्यून रहेको छ ।


भदौको तथ्यांकअनुसार वाइडबडी विमान दैनिक ६ देखि ८ घण्टा हाराहारी मात्रै उडाइएका छन् । यिनको दाँजोमा निगमका दुई थान न्यारोबडी दैनिक १४ घण्टासम्म उडाइएका छन् । यो तथ्यांक हेर्दा निगमले जहाजको अधिकतम उपयोगिता गर्न चुकेको देखिन्छ । अझ आन्तरिकतर्फ निगमले एउटा जहाज ४ घण्टाभन्दा बढी उडाउन सकेको छैन । सबैभन्दा पुराना दुइटा क्यानेडियन टुइनअटर विमानलाई दिनको साढे ३ घण्टा मात्रै उडाउन सकेको निगमका ४० वर्ष पुराना टुइनअटर जहाज भदौमा ग्राउन्डेड भएका कारण यिनको उपयोगिता शून्य घण्टामा खुम्चिएको छ ।


एउटा बोइङ र चार वटा एयरबससहित ५ वटा ठूला विमानबाट आठ वटा अन्तर्राष्ट्रिय सेक्टरमा उडान भर्दै आएको निगमको दैनिक औसत उडान ५ दशमलव ५७ संख्या मात्रै रहेको छ । अन्तर्राष्ट्रियतर्फ सिट फयाक्टर घटीमा ३३ प्रतिशतसम्म झरेको देखिन्छ भने बढ्दा ९२ प्रतिशतसम्म पुगेको स्वेतपत्रमा देखिन्छ ।


४ सय ८३ करारमा कार्यरतसहित १४ सय कर्मचारी जवान भएको निगमले आन्तरिक उडानमा २५ वटा स्थानमा सेवा दिइरहेको दाबी गरे पनि बजार हिस्सा भने ४ दशमलव ६ प्रतिशत मात्रै छ । निजी एयरलाइन्सले ५० प्रतिशत नाघिसकेका छन् । उता अन्तर्राष्ट्रियतर्फ यसको ९ प्रतिशतमै बजार हिस्सा सीमित छ । बाँकी विदेशी एयरलाइन्सले ओगटेका छन् ।


निगमले भदौ मसान्तसम्म कुल कर्जाबाहेकको दायित्व ४१ अर्ब ७३ करोड देखाएको छ । यसको कुल सम्पत्ति ४८ अर्ब ९३ करोड हाराहारीको रहेको छ । जसमा ३७ अर्ब ७२ करोड रुपैयाँ बराबरका जहाज तथा इन्जिन छन् भने ७ अर्ब ५९ करोड रुपैयाँ बराबरको जग्गा तथा भवनलगायतका सम्पत्ति छन् । भदौ मसान्तसम्म निगमले स्वदेश तथा विदेशस्थित विभिन्न बैंकमा रहेको मौज्दात २० करोड ६८ लाख रुपैयाँ हाराहारी मात्रै रहेको भनेको छ ।


३६ वटा विदेशी एयरलाइन्सको ग्राउन्ड हयान्डलिङ (भूमिस्थ सेवा व्यापार) पनि गर्दै आएको निगमले रकम अभावकै कारण कर्मचारीको अवकाशपछि दायित्व पनि निगमले भुक्तानी गर्न सकेको छैन । उपदानअन्तर्गत ५२ करोड र बिदा, उपचार आदिमा ७३ करोड गरी १ अर्ब २५ करोडमध्ये निगमले ९४ करोड भुक्तानी गर्न सकेको छैन । जनशक्ति पनि आवश्यकताभन्दा बढी भएकाले संगठन तथा व्यवस्थापन सर्भे गर्नुपर्ने श्वेतपत्रमा उल्लेख छ ।


आर्थिक वर्ष २०७०/७१ यताका ५ वर्ष निगमले नाफा गरेको देखिए पनि सञ्चित नोक्सानसमेतलाई समेटदा यो घाटामा चलिरहेको देखिन्छ । ५ वर्षअघि यसको सञ्चित नोक्सान १ अर्ब ८४ करोड थियो भने ०७४/७५ मा २ अर्ब १६ करोड सञ्चित नोक्सानी देखिन्छ । निगमको अधिकृत पुँजी ३० करोड मात्रै हो । चुक्ता पुँजीअन्तर्गत नगद ३७ करोड र २ अर्ब ७२ करोड स्थिर सम्पत्ति छ । यसको जम्मा पुँजी ३ अर्ब १० करोड रहेको छ ।


कार्यकारी अध्यक्ष खरेलअघि तीन वर्ष निगमको नेतृत्वमा रहेका महाप्रबन्धक सुगतरत्न कंसाकारले सञ्चालन पुँजीको व्यवस्था नभएकाले श्वेतपत्र जारी गर्नुपर्ने अवस्था आइपरेको बताए । ‘ब्याज तिर्नुपर्ने कुरा त ऋण लिँदा नै थाहा थियो । ऋण लिइसकेपछि ओ हो त्यत्रो ब्याज भन्न पाइन्छ र ?’ कंसाकारले कान्तिपुरसँग भने, ‘४ वर्ष पहिले एयरबस ३२० ल्याउँदा पनि केही महिनासम्म दिनको ३/४ घण्टा मात्रै उडदा अहिलेकै जस्तो अवस्था थियो । विकासको काम गर्दा हरेस खाइहाल्नु हुँदैन । बरु जहाजहरूको अधिकतम उपयोग बढाउनतिर लाग्नुपर्छ ।’

प्रकाशित : कार्तिक २९, २०७५ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?