आर्थिक संकटमा परेपछि वायुसेवा निगमले गुहार्यो सरकार, मासिक ३१ करोड ७७ लाख घाटा
काठमाडौँ — नौवटा साना तथा पाँचवटा ठूला जेट विमान गरी १४ वटा जहाज भएको सरकार स्वामित्वको ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले स्वेतपत्र जारी गर्दै आर्थिक संकट आइपरेको भन्दै सरकार गुहारेको छ ।
६० वर्षअघि स्थापना भएको मुलुककै पहिलो वायुयान संस्थाले नगद प्रवाहमै समस्या आइपरेपछि भदौ मसान्तसम्मको स्थितिलाई समेटेर स्वेतपत्र जारी गर्दै सरकारसँग हात फैलाएको छ । हालै निगममा कार्यकारी अध्यक्ष तोकिएका मदन खरेलले तत्काल सरकारसँग २० अर्ब माग गरे । ‘यो संस्था नेपाल सरकारको शतप्रतिशत सेयर भएको संस्था हो,’ निगम मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले भने, ‘हामीसँग पुँजी न्यून छ । पुँजी बढाउन सरकारसँग २० अर्ब माग गरेका छौं । एकैचोटी होइन योजना बनाएर उपलब्ध गराइदिए क्यास फ्लो (नगद प्रवाह) मा सघाउ पुग्ने थियो ।’
निगमको लगानी ३ अर्ब १० करोड रहेको छ । ‘उक्त पुँजी लगानी अधिकृत पुँजीभन्दा बढी भएकाले यथाशीघ्र नियमित गर्नुपर्ने देखिन्छ,’ स्वेतपत्र पढ्दै निगम प्रवक्ता अशोक सिग्देलले भने, ‘उपलब्ध नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अधिक छ । वाइडबडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्काल नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक छ ।’ श्वेतपत्रमा लेखिएअनुसार निगमको दीर्घकालीन कर्जा ३७ अर्ब ५८ करोड पुगेको छ । यसको वार्षिक ब्याज ३ अर्ब ६६ करोड तिर्नुपर्छ भने मासिक ब्याज ३० करोड रुपैयाँ तिर्नुपर्छ । मासिक नगद प्रवाहअन्तर्गत निगमको आम्दानी १ अर्ब २२ करोड हाराहारी रहेको छ भने खर्च १ अर्ब ५४ करोड पुगेको छ । यस हिसाबले निगम मासिक ३१ करोड ७७ लाख रुपैयाँ घाटामा चलिरहेको छ ।
दुइटा वाइड बडी विमान खरिद गर्नुअघि निगमको दीर्घकालीन कर्जा १३ अर्ब ५८ करोड थियो । वाइडबडी ल्याइसकेपछि कर्जा ३७ अर्ब ५८ करोड पुगेको छ । निगमले वाइड बडी जहाजलाई व्यावसायिक योजनाअनुसार लामो दूरीमा उड्न नसक्दा औसत दैनिक उपयोग निकै न्यून रहेको छ ।
भदौको तथ्यांकअनुसार वाइडबडी विमान दैनिक ६ देखि ८ घण्टा हाराहारी मात्रै उडाइएका छन् । यिनको दाँजोमा निगमका दुई थान न्यारोबडी दैनिक १४ घण्टासम्म उडाइएका छन् । यो तथ्यांक हेर्दा निगमले जहाजको अधिकतम उपयोगिता गर्न चुकेको देखिन्छ । अझ आन्तरिकतर्फ निगमले एउटा जहाज ४ घण्टाभन्दा बढी उडाउन सकेको छैन । सबैभन्दा पुराना दुइटा क्यानेडियन टुइनअटर विमानलाई दिनको साढे ३ घण्टा मात्रै उडाउन सकेको निगमका ४० वर्ष पुराना टुइनअटर जहाज भदौमा ग्राउन्डेड भएका कारण यिनको उपयोगिता शून्य घण्टामा खुम्चिएको छ ।
एउटा बोइङ र चार वटा एयरबससहित ५ वटा ठूला विमानबाट आठ वटा अन्तर्राष्ट्रिय सेक्टरमा उडान भर्दै आएको निगमको दैनिक औसत उडान ५ दशमलव ५७ संख्या मात्रै रहेको छ । अन्तर्राष्ट्रियतर्फ सिट फयाक्टर घटीमा ३३ प्रतिशतसम्म झरेको देखिन्छ भने बढ्दा ९२ प्रतिशतसम्म पुगेको स्वेतपत्रमा देखिन्छ ।
४ सय ८३ करारमा कार्यरतसहित १४ सय कर्मचारी जवान भएको निगमले आन्तरिक उडानमा २५ वटा स्थानमा सेवा दिइरहेको दाबी गरे पनि बजार हिस्सा भने ४ दशमलव ६ प्रतिशत मात्रै छ । निजी एयरलाइन्सले ५० प्रतिशत नाघिसकेका छन् । उता अन्तर्राष्ट्रियतर्फ यसको ९ प्रतिशतमै बजार हिस्सा सीमित छ । बाँकी विदेशी एयरलाइन्सले ओगटेका छन् ।
निगमले भदौ मसान्तसम्म कुल कर्जाबाहेकको दायित्व ४१ अर्ब ७३ करोड देखाएको छ । यसको कुल सम्पत्ति ४८ अर्ब ९३ करोड हाराहारीको रहेको छ । जसमा ३७ अर्ब ७२ करोड रुपैयाँ बराबरका जहाज तथा इन्जिन छन् भने ७ अर्ब ५९ करोड रुपैयाँ बराबरको जग्गा तथा भवनलगायतका सम्पत्ति छन् । भदौ मसान्तसम्म निगमले स्वदेश तथा विदेशस्थित विभिन्न बैंकमा रहेको मौज्दात २० करोड ६८ लाख रुपैयाँ हाराहारी मात्रै रहेको भनेको छ ।
३६ वटा विदेशी एयरलाइन्सको ग्राउन्ड हयान्डलिङ (भूमिस्थ सेवा व्यापार) पनि गर्दै आएको निगमले रकम अभावकै कारण कर्मचारीको अवकाशपछि दायित्व पनि निगमले भुक्तानी गर्न सकेको छैन । उपदानअन्तर्गत ५२ करोड र बिदा, उपचार आदिमा ७३ करोड गरी १ अर्ब २५ करोडमध्ये निगमले ९४ करोड भुक्तानी गर्न सकेको छैन । जनशक्ति पनि आवश्यकताभन्दा बढी भएकाले संगठन तथा व्यवस्थापन सर्भे गर्नुपर्ने श्वेतपत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७०/७१ यताका ५ वर्ष निगमले नाफा गरेको देखिए पनि सञ्चित नोक्सानसमेतलाई समेटदा यो घाटामा चलिरहेको देखिन्छ । ५ वर्षअघि यसको सञ्चित नोक्सान १ अर्ब ८४ करोड थियो भने ०७४/७५ मा २ अर्ब १६ करोड सञ्चित नोक्सानी देखिन्छ । निगमको अधिकृत पुँजी ३० करोड मात्रै हो । चुक्ता पुँजीअन्तर्गत नगद ३७ करोड र २ अर्ब ७२ करोड स्थिर सम्पत्ति छ । यसको जम्मा पुँजी ३ अर्ब १० करोड रहेको छ ।
कार्यकारी अध्यक्ष खरेलअघि तीन वर्ष निगमको नेतृत्वमा रहेका महाप्रबन्धक सुगतरत्न कंसाकारले सञ्चालन पुँजीको व्यवस्था नभएकाले श्वेतपत्र जारी गर्नुपर्ने अवस्था आइपरेको बताए । ‘ब्याज तिर्नुपर्ने कुरा त ऋण लिँदा नै थाहा थियो । ऋण लिइसकेपछि ओ हो त्यत्रो ब्याज भन्न पाइन्छ र ?’ कंसाकारले कान्तिपुरसँग भने, ‘४ वर्ष पहिले एयरबस ३२० ल्याउँदा पनि केही महिनासम्म दिनको ३/४ घण्टा मात्रै उडदा अहिलेकै जस्तो अवस्था थियो । विकासको काम गर्दा हरेस खाइहाल्नु हुँदैन । बरु जहाजहरूको अधिकतम उपयोग बढाउनतिर लाग्नुपर्छ ।’
प्रकाशित : कार्तिक २९, २०७५ २२:१०