टेलिकमको फोरजी विस्तार : मन्त्रालयले टेलिकमसँग माग्यो योजना

गत वर्ष पुसमा फोरजी विस्तारको टेन्डर मूल्यांकनकै चरणमा अख्तियारले अनुसन्धान गर्न कागजपत्र माग गरेपछि काम रोकिएको थियो 
विजय तिमल्सिना

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फोरजी एलटीई विस्तारका लागि नेपाल टेलिकमसँग कार्ययोजना मागेको छ ।

टेलिकमको फोरजी विस्तार : मन्त्रालयले टेलिकमसँग माग्यो योजना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावअनुसार फोरजी एलटीई विस्तारको कार्ययोजना बनाउन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

‘मन्त्रालयबाट योजनासम्बन्धी प्रतिवेदन प्राप्त भएपछि फोरजी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

नेपाल टेलिकमले गत पुसमा फोरजी विस्तारका लागि आहवान गरेको बोलपत्र खोलेपछि अख्तियारले चासो राख्दै कागजपत्र माग गरी अध्ययन गरेको थियो । अख्तियारले ढिला गरी कात्तिक ७ गते मन्त्रालयलाई पत्र लेखी फोरजी विस्तारको काम अघि बढाउन स्वीकृति दिएको हो ।

अख्तियारले मन्त्रालयलाई लेखेको पत्रमा ६ बुँदे सुझाव पनि दिइएको छ । अख्तियारले नेपाल टेलिकमले उपत्यका र पोखरामा फोरजी सेवा विस्तार गर्दाको खर्च र निजी सेवा प्रदायकले धेरै जिल्लामा फोरजी सेवा विस्तारको खर्च विश्लेषणयोग्य देखिएको जनाएको छ ।

‘सेवा खरिदका लागि लागत अनुमान तयार गर्दा लिइने आधारहरू फराकिलो बनाउने,’ अख्तियारले दिएको निर्देशनमा भनिएको छ, ‘फोजी एलटीई सेवालाई मितव्ययी बनाउने ।’

अख्तियारले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवाको सुनिश्चितता गर्ने, अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूसँग सक्दो सहकार्य गर्ने, नेपाल टेलिकमले यसअघि फोरजी विस्तार गरेको स्थानमा गरेको लगानी खेर जान नदिने, समयअनुसार प्रविधि अपग्रेड गर्न पनि निर्देशन दिएको छ । ‘अख्तियारले दिएको निर्देशनको भावनाअनुसार फोरजी विस्तारको योजना बनाउन टेलिकम पदाधिकारीलाई निर्देशन दिइएको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘अर्को साता प्रतिवेदन प्राप्त भएपछि फोरजीको काम अघि बढ्छ ।’

नेपाल टेलिकमका कार्यवाहक महाप्रबन्धक सूर्यभक्त पोखरेलले मन्त्रालयबाट प्राप्त निर्देशनका आधारमा प्रतिवेदन तयार पारी अर्को साता मन्त्रालयमा बुझाइने जानकारी दिए ।

नेपाल टेलिकमले अघिल्लो वर्ष देशैभर फोरजी एलटीई नेटवर्क विस्तार गर्ने उद्देश्यसहित टेन्डर आहवान गरेको थियो । पुस २७ गते टेन्डर खोलिएको थियो । लगत्तै फोरजी टेन्डरमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले टेलिकमबाट फोरजी एलटीई विस्तारको टेन्डरसम्बन्धी कागजपत्र माग गरी अनुसन्धान गरेको थियो ।

नेपाल टेलिकमले आहवान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा अनियमितता भएको भन्दै गत वर्ष पुस ११ गते उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारले अनुसन्धान थालेको करिब १० महिनापछि फोरजी एलटीई सेवालाई दिगो, गुणस्तरीय, मितव्ययी र प्रभावकारी बनाउन जे–जे निर्णय गर्नुपर्छ सो गर्न निर्देशन दिँदै पत्र लेखेको हो ।

टेलिकमले फोरजी विस्तारको टेन्डर दुई चरणमा बाँडेको थियो । कोर नेटवर्क र नेटवर्क गरी फोरजी विस्तारको काम बाँडिएको छ । कोर नेटवर्क विस्तारका लागि चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मिभिनिर कम्पनीले प्रस्ताव दर्ता गराएका थिए ।

नेटवर्क विस्तारका लागि जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले टेन्डर दर्ता गराएका थिए । टेन्डर प्रक्रिया पूरा भएको ८ महिनामा कोर नेटवर्कको काम सक्ने र १६ महिनामा नेटवर्क विस्तारको काम देशैभर सक्ने टेलिकमको लक्ष्य थियो ।

फोरजी एलटीई नेटवर्क विस्तारको टेन्डर मूल्यांकनकै चरणमा अख्तियारले अनुसन्धानका लागि कागजपत्र माग गरेपछि सेवा विस्तारमा अन्योल भएको हो । नयाँ सरकार गठन भएलगत्तै नेपाल टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो ।

साउन २३ गतेको मन्त्रिपरिषदको निर्णयले राजभण्डारीलाई स्पष्टीकण सोध्ने निर्णय गरेको थियो । साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो । टेलिकमले परीक्षणका रूपमा २०७३ पुसदेखि काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुरु गरेको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?