२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अलैंचीको कारोबार ठप्प

आनन्द गौतम

ताप्लेजुङ — अघिल्लो वर्षको झैं कारोबार भएको भए यतिबेला नेपालबाट दैनिक छ/सात सय बोरा अलैंची भारत निर्यात भइसक्थ्यो । हाल कम परिमाणमा मात्रै अलैंची निर्यात भइरहेको छ ।

अलैंचीको कारोबार ठप्प

अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले दुई दिनमा एक ट्रक मात्रै अलैंची निर्यात भइरहेको बताए । एक ट्रकमा २ सय ५० बोरासम्म अलैंची हुन्छ ।

किसानले अलैंची नबेचेका कारण निर्यात हुन नसकेको भट्टराई बताउँछन् । ‘अहिलेकै मूल्यमा जति पनि माग छ तर किसानले बेच्न चाहेका छैनन्,’ उनले भने, ‘व्यापारीका गोदामहरू करिब खालीजस्तै अवस्थामा छन् । अलैंची कृषक सञ्जाल ताप्लेजुङका अध्यक्ष शिवकुमार गुरुङ अहिलेको मूल्यले किसानको मजदुरी खर्च पनि नउठ्ने भएकाले नबेच्ने मनसाय बनाएका हुन् । चीनका व्यवसायीहरूले नेपालको अलैंचीको अध्ययन गरेको र अलैंची लैजाने विषयमा तीन महिनामा खबर गर्ने भनेको किसानहरू त्यसको पर्खाइमा पनि रहेको गुरुङ बताउँछन् ।

महासंघका अनुसार अहिले अलैंचीको मूल्य २९ हजार प्रतिमन (४० किलो) रहेको छ । उत्पादन सुरु भएको असारमा ३४ हजार रहेको मूल्य पनि घटेपछि उत्पादन गरेका किसानले सबै अलैंची गोदाम गर्न थालेका हुन् । कम मूल्य हुँदा चोरी हुने डर नभएकाले आफ्नैमा थन्क्याएको गुरुङ बताउँछन् ।

विगतका वर्षमा चोरीको डर हुँदा उत्पादन हुनासाथ सदरमुकाम फुङलिङमा ल्याएर व्यापारीलाई जिम्मा लगाउँथे । यो वर्ष पनि ल्याएकाहरूले गोदाम गरेको तर भाउ नकाटेको अलैंची व्यवसायी भद्र रेग्मीले बताए । ‘गत वर्षहरूमा झैं तौलेर छोडेका छन्, आवश्यक पर्नेले एक/दुई मनको पैसा पनि लगेका छन्, अरूले भाउ काटेका छैनन्,’ उनले भने, ‘किसानको आशा भाउ बड्ला कि भन्ने छ र हाम्रो पनि त्यही हो ।’

किसानले बेचेको अलैंची भने यहाँका व्यापारीले पनि झापाकालाई बिक्री गरिसकेका छन् । ‘राख्यो भने भोलिको भविष्य थाहा छैन, बढीमा किन्यो, मूल्य घटयो भने आफ्नै सर्वश्व गुम्छ,’ रेग्मीले थपे, ‘किनेकै दिन झापाका व्यापारीलाई बिक्री गरिरहेका छौं ।’

भाउ काटेपछि जुनदिन आवश्यक पर्छ त्यही दिन अलैंची पठाउने गरिन्छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?