३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सफ्टवेयर बिगारेर ठगी गर्ने पम्पलाई इन्धन रोक्न पत्र

राजु चौधरी

काठमाडौँ — उपभोक्ता ठगी गर्ने पम्पलाई सरकारले इन्धन वितरण नगर्ने निर्णय गरेको छ । पम्प सञ्चालकले मदरबोर्डमा सफ्टवेयर जडान गरी ठगी गरेको फेला परेपछि आयल निगमले इन्धन सप्लाई रोक्का गर्ने निर्णय गरेको हो ।

सफ्टवेयर बिगारेर ठगी गर्ने पम्पलाई इन्धन रोक्न पत्र

‘गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा नयाँ प्रविधिबाट उपभोक्ता ठगी भएको पाइएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘अर्को निर्देशन नभएसम्म पेट्रोलियम पदार्थ सप्लाई रोक्का गर्ने सबै कार्यालयलाई पत्राचार गरेका छौं ।’


निगमले प्रादेशिक कार्यालयहरू थानकोट, पोखरा, विराटनगर, अमलेखगन्ज, भैरहवा, सुर्खेत, धनगढीलाई पत्राचार गरेको हो । यस्तै इन्धन डिपोहरूमा नेपालगन्ज, महेन्द्रनगर, दाङ, पोखरा र शाखा कार्यालयहरू वीरगन्ज, दिपायल, चारआलीलाई पनि पत्राचार गरेको भट्टराईले बताए । साताअघि गुणस्तर विभाग र दसैंअघि क्षेत्रीय कार्यालयहरूले गरेको अनुगमनमा पम्प सञ्चालकले नयाँ प्रविधिको प्रयोगबाट उपभोक्ता ठगी गरेको पाइएको थियो ।


सफ्टवेयर प्रणालीको माध्यमबाट सय लिटरमा ३ देखि ४ प्रतिशतसम्म ठगी हुँदै आएको विभागको ठहर छ । ठगी आरोपमा अनुगमन टोलीले सानो भर्‍याङस्थित न्यु बंगलामुखी आयल स्टोर्सलाई सिलबन्दीसमेत गरिसकेको छ । सय लिटरमा ३ दशमलव २ प्रतिशत घटी तेल वितरण गरेको पाइएपछि सिलबन्दी गरेको विभागले जनायो ।


यस्तै बाराका ५ पम्पले पनि ठगी गरेको पाइएको थियो । ती पम्पलााई इन्धन वितरण रोक लगाएको कार्यकारी निर्देशक भट्टराईले बताए । ‘इन्धन रोक्का गर्न गुणस्तर विभागबाट चिठी नआए पनि निगमले कारबाहीस्वरूप इन्धन रोक्का गर्न पत्राचार गरेको छ,’ उनले भने ।


निगमले कार्यालय मातहतका बिक्रेताहरूले अद्यावधिक रूपमा पेट्रोलियम पदार्थको खुद्रा तथा बल्क बिक्री परिमाणसम्बन्धी विवरण पेट्रोल पम्प परिसरमा दुरुस्त राख्न लगाउन पनि निर्देशन दिएको छ । बिक्रेताका पेट्रोल पम्पहरूमा जडान भएका डिस्पेन्सिङ मेसिनहरूको दैनिक एवं मासिक रूपमा दुरुस्त राख्न, बिक्रेताको डेलिभरी मिटरको परिमाण ठीक भए/नभएको विषयमा सम्बन्धित नापतौल कार्यालयका प्रतिनिधिको उपस्थितिमा प्रभावकारी अनुगमन गर्न पनि पत्राचार गरेको छ ।


विभागका अनुसार उक्त सफ्टवेयर भारतबाट आयात गरी ठगी गरिरहेका छन् । अनुगमनका क्रममा फेला परेको गिलर्बाको ब्रान्डको डिस्पेन्सिङ मेसिन तत्काल आयातमा रोक लगाउने निर्णय गरेको जनाएको छ । ‘नयाँ प्रविधिको सफ्टवेयर जडान गरी उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री वितरण गरेको विषयमा सरकारी निकायबाट यकिन अध्ययन पछिको निर्देशन प्राप्त नहुन्जेलसम्म डिस्पेन्सिङ मेसिन फेर्नुपर्ने बिक्रेताहरूले तत्काल उक्त ब्रान्डको मेसिन जडान नगर्ने व्यवस्था मिलाउनसमेत पत्र पठाएका छौं,’ उनले भने ।


गुणस्तर तथा नापतौल विभागका महाानिर्देशक विश्वबाबु पुडासैनीले सिलबन्दी भएका पम्पलाई कारबाही प्रक्रिया बढाएको बताए । यस्तै शंकास्पद स्थान बुटवल, पोखरा र उपत्यकामा तीन टोली खटाएको बताए । त्यसक्रममा बुटवलको शंकर पेट्रोल पम्पमा पनि सफ्टवेयरबाट ठगी गरेको पाइएको बताए । ‘यसअघि अनुगमन गरिएका पम्पको बयान लिने काम सुरु भएको छ,’ उनले भने, ‘जिल्लामा पनि ठगी गरेको सूचना छ ।’


नयाँँ बनेको उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ता ठगी गर्नेलाई अनुगमन स्थलमै ५ हजारदेखि ३ लाख रुपैयाँ जरिवानाको व्यवस्था छ । वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल ढाँचा वा बनावटलगायत ढाँटी लुकाइछिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्नेलाई जरिवाना गर्ने व्यवस्था छ ।


उपभोग गरिसक्नुपर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गरेमा २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ । तत्काल जरिवाना हुन सकेको छैन । हाल मुलुकभरि करिब १ हजार २ सय पेट्रोल/डिजेल पम्प सञ्चालनमा छन् । तीमध्ये वाग्मतीमा १ सय ७२ र उपत्यकामा १ सय १७ पेट्रोल/डिजेल पम्प सञ्चालनमा छन् ।

प्रकाशित : मंसिर १, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?