१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फत्तेपुरलाई तेस्रो नाका बनाउन प्रक्रिया सुरु

अर्जुन राजवंशी

झापा — गौरीगन्ज गाउँपालिका ५ स्थित फत्तेपुरलाई जिल्लामा भारतसँगको तेस्रो नाकाका रूपमा विकास गर्न लागिएको छ । केन्द्रीयस्तरमै फत्तेपुरलाई दुवै देशको आधिकारिक नाका बनाउने प्रक्रिया थालिएको हो ।

व्यापारिक नाका बनाउने प्रक्रियासँगै गौरीगन्जस्थित आठमौजा छोटी भन्सार कार्यालयलाई पनि स्तरोन्नति गर्ने तयारी गरिएको छ । भन्सार विभागको निर्देशनमा छोटी भन्सारको स्तरोन्नति गर्न लागिएको हो ।


यसका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले फत्तेपुरको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गरेको छ । जिल्लामा मेची र भद्रपुर गरी दुई मुख्य नाका छन् । मेची भन्सार मातहत १२ वटा छोटी भन्सार रहेकामा गत साउनदेखि स्तरोन्नति भएर भद्रपुर मुख्य भन्सार बनेको हो । पूर्वी सीमाना मेची नदीमा पुल निर्माण सम्पन्न भएपछि भद्रपुरलाई पनि मुख्य भन्सार बनाइएको हो । भद्रपुरबाट भारतको बिहार र पश्चिम बंगाल राज्यसँग व्यापारिक कारोबार हुने गरेको छ ।


जिल्लाको पश्चिम दक्षिणमा रहेको फत्तेपुरमा नाका भए बिहारसँग सिधा कारोबार हुनेछ । फत्तेपुरदेखि बिहारको व्यापारिक बजार किसनगन्ज १ सय १० किलोमिटरको दूरीमा पर्छ । भारतले सीमावर्ती फत्तेपुरसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गरिसकेको छ ।


फत्तेपुरलाई दुई देशबीचको नाकाका रूपमा विकास गराउन भारतीय पक्ष पनि सकारात्मक रहेको मेची भन्सारका प्रमुख टेकबहादुर अर्यालले बताए । फत्तेपुरलाई मुख्य नाका बनाउने विषयमा मंसिर ३ र ४ गते काठमाडौंमा हुने भन्सार प्रमुखहरूको बैठकमा थप छलफल हुने अर्यालले बताए । ‘फत्तेपुरलाई मुख्य भन्सार नाका बनाउने निर्णय भन्सार विभागले गरिसकेको छ,’ अर्यालले भने, ‘३ र ४ गतेको बैठकमा थप छलफल गरेर आवश्यक भौतिक तथा संरचण निर्माणबारे निर्णय हुनेछ ।’ उनले फत्तेपुर मुख्य नाका भएपछि झापामा व्यापारिक कारोबार उच्च हुने दाबी गरे ।


भारततर्फ कालोपत्रे सडक निर्माण भए पनि नेपालतर्फ भने ग्राभेल सडक मात्रै छ । सीमा क्षेत्रदेखि छोटी भन्सार कार्यालय अहिले ५ किलोमिटर उत्तर खजुरगाछी बजारमा रहेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल पनि खजुरगाछीमा छ । सशस्त्र प्रहरीका लागि भने सीमा क्षेत्र नजिकै भवन निर्माण भइरहेको छ ।


छोटी भन्सारलाई स्तरोन्नति गरे, सीमा क्षेत्र नजिकै भन्सार कार्यालय स्थापना गर्नुपर्ने झापा वाणिज्य संघ शाखा गौरीगन्जका अध्यक्ष मखना महतोले बताए । उनले फत्तेपुरलाई मुख्य नाकाका रूपमा विकास गराउन सके समग्र झापा जिल्लाको व्यापारिक क्षेत्रले ठूलो फड्को मार्ने बताए ।


‘एउटै जिल्लामा तीन वटा मुख्या नाका हुनु हामी व्यापारीका लागि योभन्दा ठूलो उपलब्धि अरू के होला र ? यसले झापालाई एक औद्योगिक जिल्लाका रूपमा विकास गराउन ठूलो सहयोग पुग्नेछ,’ उनले भने । फत्तेपुरलाई मुख्य नाकामा स्तरोन्नति गरेलगत्तै गौरीगन्जदेखि फत्तेपुरसम्मको ५ किलोमिटर सडक फराकिलोसहित कालोपत्रे गर्नुपर्ने हुन्छ । तत्काल सीमा क्षेत्र नजिकै जग्गा खोजेर भन्सार कार्यालयको भवन खजुरगाछीबाट फत्तेपुरमा सार्नुपर्ने हुन्छ । विद्युत्, पर्याप्त पार्किङ स्थल निर्माण गर्नुपर्ने अर्यालले बताए ।


छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार बनाउने निर्णय स्वागतयोग्य भएको गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले यसका लागि स्थानीय सरकारको हैसियतले आफूले गर्नुपर्ने सबै जिम्मेवारीहरू पूरा गर्न तयार रहेको बताए । ‘यो नाका मुख्य नाका भयो भने त गौरीगन्ज गाउँपालिकाको कायापलट हुन्छ,’ उनले भने, ‘त्यसैले यसका लागि गाउँपालिकाले के के गर्नुपर्छ । हामी गर्न तयार छौं ।’


उक्त नाकाबाट अहिले ठूलो परिमाणमा भारतीय माछा भित्रिने गरेको छ । त्यस्तै गौरीगन्ज, खजुरगाछी, कोरोबारी, कोहबरा, गौरादह, जुरोपानी, महाभारा, दमक, कमल गाउँपाकिलालगायतका क्षेत्रका व्यापारीले तयारी कपडा, दाल, तेल, चिनीलगायतका खाद्यान्न सामग्री ल्याउने गरेका छन् ।

प्रकाशित : मंसिर २, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?